जनकपुरधाम । मधेश प्रदेश सरकारका मन्त्रालयको संख्या घटाएर ९ वटामा सीमित गर्न गठित उच्चस्तरीय अध्ययन तथा सिफारिस समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ ।
समितिले मन्त्रालयबीचको कार्यगत दोहोरोपन अन्त्य गर्दै प्रशासनिक खर्च कटौती, सेवा प्रवाहलाई प्रभावकारी बनाउने र प्रदेश सरकारको संरचनालाई थप सक्षम बनाउने उद्देश्यसहित यस्तो सिफारिस गरेको हो ।



समितिले बिहीबार मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई करिब ५० पृष्ठको प्रतिवेदन बुझाएको हो ।
अर्थमन्त्री युवराज भट्टराईको संयोजकत्वमा गठित समितिले मन्त्रालयको संख्या हालको १२ बाट घटाएर ९ कायम गर्नुपर्ने निष्कर्ष प्रस्तुत गरेको छ ।
प्रतिवेदनमा मन्त्रालयहरूको पुनर्संरचनाबाट प्रशासनिक दक्षता बढ्ने, नीतिगत समन्वय सुदृढ हुने, सार्वजनिक खर्चमा मितव्ययिता कायम हुने तथा नागरिकले एकीकृत र गुणस्तरीय सेवा सहज रूपमा प्राप्त गर्न सक्ने विश्वास गरिएको छ ।
साथै डिजिटल शासन प्रणाली विस्तार गर्न र सेवा प्रवाहलाई थप छिटो, सरल तथा उत्तरदायी बनाउन पनि मन्त्रालयको संख्या घटाउनु आवश्यक रहेको औंल्याइएको छ ।
समितिले प्रदेश सरकारलाई ‘सानो तर सक्षम’ प्रशासनिक संरचनामा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउँदै सीमित स्रोत साधनलाई विकास निर्माणमा केन्द्रित गर्न कार्यक्षेत्र स्पष्ट बनाउनु अपरिहार्य रहेको उल्लेख गरेको छ ।
प्रतिवेदनमा वित्तीय अनुशासन कायम गर्ने, प्रशासनिक खर्च नियन्त्रण गर्ने तथा संगठनलाई आवश्यकताअनुसार ‘राइटसाइजिङ’ गर्नुपर्ने सुझावसमेत समेटिएको छ ।
संविधान, प्रचलित कानुन, प्रदेश सरकारका नीति तथा कार्यक्रम, बजेट वक्तव्य, संघीय सरकारको पुनर्संरचनासम्बन्धी अभ्यास, प्रशासनिक सुधारका अध्ययन, उपलब्ध स्रोत साधन र जनअपेक्षालाई आधार बनाएर प्रतिवेदन तयार गरिएको समितिको भनाइ छ ।
हाल मधेश प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक १२ वटा मन्त्रालय रहेका छन् ।
मन्त्रालयको संख्या र कार्यविभाजन पुनरावलोकन गर्न २०८२ साल जेठ १९ गते उच्चस्तरीय समिति गठन गरिएको थियो ।
समितिलाई मन्त्रालयहरूको कार्यप्रकृति, जिम्मेवारी र कार्यबोझको विश्लेषण गर्दै गाभ्न वा हटाउन सकिने मन्त्रालय पहिचान गरी संशोधित कार्यविभाजन नियमावलीको मस्यौदासहित ३० दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो ।
प्रदेश सरकारले समितिको सिफारिस कार्यान्वयन गरे आगामी साउनदेखि मन्त्रालयको संख्या १२ बाट घटेर ९ मा सीमित हुने विश्वास गरिएको छ ।




