अजय शाह,गौशाला (महोत्तरी)– महोत्तरीको बर्दिबास नगरपालिका–१३ बिजलपुरामा १ हजार १९५ मिटर लामो कालोपत्रे सडक निर्माण सम्पन्न भएको छ। सडक सञ्चालनमा आएपछि स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ।
बर्दिबास नगरपालिकाको एक करोड ३२ लाखको लागतमा निर्माण गरिएको उक्त सडकको नगर प्रमुख प्रह्लादकुमार क्षेत्रीले स्थलगत अनुगमन गर्नुभयो। अनुगमनका क्रममा उहाँले सडकको गुणस्तर, उपयोगिता तथा स्थानीयवासीका आवश्यकताबारे जानकारी लिनुका साथै स्थानीयसँग छलफल गर्नुभयो।



नगरपालिकाले बुद्धम सरनाम कन्स्ट्रक्सन प्रालि, भंगाहा–४, महोत्तरीसँग मूल्य अभिवृद्धि कर (भ्याट) सहित एक करोड ३२ लाखमा ठेक्का सम्झौता गरी सडक निर्माण सम्पन्न गराएको जनाएको छ। नगरपालिकाका अनुसार निर्माण कार्य स्वीकृत मापदण्डअनुसार सम्पन्न भएको छ।
अनुगमनमा वडा नं. १३ का वडाध्यक्ष लक्ष्मण सिंह, नेपाली कांग्रेस वडा नं. १२ का सभापति रमेशकुमार सिंह, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
अनुगमनपछि नगर प्रमुख क्षेत्रीले नगरपालिकाले सञ्चालन गर्ने विकास निर्माणका योजनामा गुणस्तर, पारदर्शिता र दिगोपनलाई विशेष प्राथमिकता दिइएको बताउनुभयो। उहाँले निर्माण कम्पनीले निर्धारित मापदण्डअनुसार काम सम्पन्न गरेको जानकारी प्राप्त भएको उल्लेख गर्दै आगामी दिनमा पनि विकास निर्माणका योजना प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताउनुभयो।
उहाँले स्थानीयवासीको सुझाव र आवश्यकतालाई योजनामा समेट्दै जनजीवनमा प्रत्यक्ष लाभ पुग्ने पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिनुभयो।
स्थानीयवासीले कालोपत्रे सडक निर्माणसँगै वर्षायाममा हुने हिलो र आवतजावतको समस्याबाट राहत मिल्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार सडक निर्माणपछि यातायात सेवा सहज हुनुका साथै कृषि उत्पादनको ढुवानी, व्यापार–व्यवसाय तथा शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न सहयोग पुग्नेछ।
नगरपालिकाले आगामी दिनमा पनि सडक, नाला, खानेपानी, सिँचाइ तथा अन्य पूर्वाधार विकासका योजनालाई निरन्तरता दिने जनाएको छ।
नगरपालिकाले सञ्चालन गर्दै आएको ‘बिजलपुरा रूपान्तरण अभियान’ अन्तर्गत सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ तथा अन्य आधारभूत पूर्वाधार विकासका योजना कार्यान्वयन हुँदै आएका छन्। अभियानअन्तर्गत निर्माण सम्पन्न भएको यो सडकलाई बिजलपुराको पूर्वाधार विकासमा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
अभियानका संयोजक राजकरण महतोले अभियान सुरु भएयता बिजलपुरामा विकास निर्माणका गतिविधिले उल्लेखनीय गति लिएको बताउनुभयो। उहाँले स्थानीयवासीको सहभागिता र नगरपालिकाको सक्रियताले विकासका योजना प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको उल्लेख गर्दै आगामी दिनमा थप पूर्वाधार आयोजना सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो।
स्थानीयवासीले विकास निर्माणका कार्यलाई निरन्तरता दिँदै शिक्षा, स्वास्थ्य, खानेपानी तथा कृषि क्षेत्रसँग सम्बन्धित थप योजनासमेत प्रभावकारी रूपमा कार्यान्वयन हुने अपेक्षा गरेका छन्।- गोरखा पत्र




