सिरहा। “पहिले घरबाट बाहिर निस्कन पनि डर लाग्थ्यो, अहिले वडा कार्यालयदेखि सार्वजनिक सुनुवाइसम्म निर्धक्क भएर आफ्ना कुरा राख्न सक्छौँ।” सिरहा–६ की कोमल पासवानको यो भनाइ केवल व्यक्तिगत परिवर्तनको कथा होइन, समुदायका धेरै महिलाले भोगिरहेको सामाजिक रूपान्तरणको प्रतिबिम्ब हो।
युरोपियन युनियनको आर्थिक सहयोग, नेपाल सरकारसँगको सहकार्य तथा संयुक्त राष्ट्रसंघीय महिला कार्यक्रम (यूएन वुमेन) को प्राविधिक सहयोगमा सञ्चालित ‘लैङ्गिक समानताका लागि सामाजिक जवाफदेहिता परियोजना’ ले सिरहा नगरपालिका वडा नं. १ र ६ का महिलामा आत्मविश्वास, नेतृत्व क्षमता र अधिकारप्रतिको चेतना अभिवृद्धि गर्दै स्थानीय शासनमा उनीहरूको सहभागितालाई नयाँ उचाइ दिएको छ। प्रो पब्लिकको नेतृत्वमा निड्स नेपाल र सुशासन प्रवर्द्धनका लागि युवा संस्थाले कार्यान्वयन गरिरहेको यस परियोजनाअन्तर्गत गठन गरिएका नागरिक सञ्जाल आज महिलाको सशक्तीकरणका प्रभावकारी माध्यम बनेका छन्।



सिरहा–६ नागरिक सञ्जालकी अध्यक्ष अनिता दासका अनुसार सञ्जालको विशेषता भनेको समाजका सबै सिमान्तकृत समुदायका महिलालाई एउटै मञ्चमा जोड्नु हो। सञ्जालमा आबद्ध भएपछि उहाँले आफ्ना अधिकार, जिम्मेवारी र स्थानीय सरकारसँग कसरी संवाद गर्ने भन्ने विषयमा स्पष्ट जानकारी प्राप्त गर्नुभयो। घरपरिवारमा सीमित रहने उहाँ अहिले वडा कार्यालय, सरकारी तथा गैरसरकारी कार्यक्रम र सार्वजनिक छलफलमा सक्रिय सहभागिता जनाउनुहुन्छ। समुदायका समस्यामा स्थानीयवासीले उहाँसँग परामर्श लिन थालेका छन् भने वडा कार्यालयले समेत नियमित रूपमा बैठकमा आमन्त्रण गर्ने गरेको छ।

कोमल पासवानका लागि नागरिक सञ्जाल जीवन परिवर्तन गर्ने अवसर बनेको छ। पहिले अपरिचितसँग बोल्नसमेत हिच्किचाउने उहाँ अहिले वडा अध्यक्ष र जनप्रतिनिधिसँग समुदायका समस्या निर्धक्क रूपमा उठाउनुहुन्छ। नगरपालिकाबाट पहिलो पटक सूचना माग गर्ने अनुभवले उहाँलाई नागरिकको सूचना पाउने अधिकारबारे थप सचेत बनाएको छ। परिवारको विश्वास बढेसँगै जिल्ला बाहिरका कार्यक्रममा सहभागी हुने अवसरसमेत प्राप्त भएको छ। गाउँका विभिन्न कार्यक्रममा निम्तो आउन थालेपछि आफूले समाजमा सम्मान र पहिचान दुवै पाएको उहाँको अनुभव छ।
सञ्जालकी अर्की सदस्य पुनिता महरा पनि परियोजनाले आफूमा उल्लेखनीय परिवर्तन आएको बताउनुहुन्छ। सार्वजनिक सुनुवाइमा समुदायका सवाल उठाउने, सूचना माग गर्ने र वडा कार्यालयका बैठकमा सहभागी हुने अभ्यासले उहाँको आत्मविश्वास र नेतृत्व क्षमता दुवै बढाएको छ।
सिरहा–१ नागरिक सञ्जालकी अध्यक्ष मञ्जु दासका अनुसार सञ्जालले महिलालाई आफ्ना अधिकार बुझ्ने मात्र होइन, विभिन्न संघसंस्थासँग सहकार्य गर्ने र अनुभव आदानप्रदान गर्ने अवसर पनि प्रदान गरेको छ। जनकपुरसम्म पुगेर सिकाइ साटासाट गर्ने अवसरले महिलामा अझ ठूलो आत्मविश्वास थपिएको उहाँ बताउनुहुन्छ। आगामी दिनमा क्षमता अभिवृद्धि तथा पुनर्ताजगी तालिमलाई निरन्तरता दिनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो।
परियोजनाको प्रभाव समुदायका महिलामा मात्र सीमित छैन। सिरहा–६ का वडा अध्यक्ष इन्द्रजित गोठियाका अनुसार नागरिक सञ्जाल स्थानीय सरकारको महत्वपूर्ण सहयात्री बनेको छ। हिंसासम्बन्धी घटना व्यवस्थापनदेखि सार्वजनिक सुनुवाइ सञ्चालन र सेवा प्रवाहको निगरानीसम्म सञ्जालले सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। सूचना उपलब्ध गराउने, लैङ्गिकमैत्री बजेट निर्माण गर्ने र स्थानीय सरकारलाई थप जवाफदेही बनाउने कार्यमा सञ्जालको योगदान महत्वपूर्ण रहेको उहाँको भनाइ छ।
सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तुफाले पनि नागरिक सञ्जालको सक्रियताले स्थानीय शासनलाई थप प्रभावकारी बनाएको बताउनुभयो। सार्वजनिक सुनुवाइमा गरिएका प्रतिबद्धताअनुसार लैङ्गिकमैत्री बजेट कार्यान्वयन तथा परियोजनाबाट सुरु भएका सकारात्मक अभ्यासलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
सिरहाका महिलाको यो यात्रा मौनताबाट आत्मविश्वासतर्फको मात्र होइन, नागरिकबाट जिम्मेवार नेतृत्वतर्फको यात्रा पनि हो। नागरिक सञ्जालले महिलालाई आफ्ना अधिकारका विषयमा सचेत बनाउनुका साथै स्थानीय सरकारसँग सहकार्य गर्ने, प्रश्न गर्ने र विकास प्रक्रियामा सक्रिय सहभागी बन्ने अवसर दिएको छ। यही परिवर्तनले स्थानीय शासनलाई थप समावेशी, पारदर्शी र जवाफदेही बनाउँदै सामाजिक रूपान्तरणको नयाँ आधार तयार गरिरहेको छ।




