मोरङ । प्रदेश प्रज्ञा–प्रतिष्ठान गठनको विषयलाई लिएर कोसी प्रदेशका स्रष्टा तथा कलाकारहरूले शुक्रबार कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाएका छन्।
‘कोसी साहित्य–कला परिषद् नेपाल’को अगुवाइमा झापा, मोरङ र सुनसरीका स्रष्टाहरूले मुख्यमन्त्री कार्कीलाई भेटेर प्रदेश प्रज्ञा–प्रतिष्ठान ऐन संशोधन गरी मात्र प्रतिष्ठान गठन गर्न आग्रह गरेका हुन्।



२०७९ सालमा जारी भएको ‘प्रदेश प्रज्ञा–प्रतिष्ठान ऐन’मा मुख्यमन्त्री कुलपति, सामाजिक विकास मन्त्री सहकुलपति र मन्त्रालयका सचिव सदस्य सचिव रहने व्यवस्था गरिएको छ। यही व्यवस्थाप्रति असहमति जनाउँदै स्रष्टा तथा कलाकारहरूले लामो समयदेखि ऐन संशोधनको माग गर्दै आएका छन्।

परिषद्का अध्यक्ष केशु विरही र सचिव नवराज पोखरेल ‘नवशिला’द्वारा हस्ताक्षरित विज्ञप्तिमा ऐन संशोधन नगरी प्रतिष्ठान गठन गरिए स्वीकार्य नहुने उल्लेख गरिएको छ। उनीहरूले प्रतिष्ठानको गठनको पक्षमा रहे पनि राजनीतिक तथा प्रशासनिक नेतृत्वमा सञ्चालन हुने संरचनाप्रति असहमति रहेको जनाएका छन्।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले ऐन संशोधन गरेर मात्र प्रतिष्ठान गठन गरिने प्रतिबद्धता व्यक्त गरे। उनले प्राज्ञिक संस्थाको नेतृत्व भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा योगदान गरेका व्यक्तिलाई दिने र ऐन संशोधनका लागि स्रष्टाहरूको सहयोग आवश्यक पर्ने बताए।
मुख्यमन्त्री कार्कीले भने, “ऐनका विषयमा मलाई धेरै कुरा थाहा थिएन। अब तपाईंहरू ढुक्क हुनुहोस्, संशोधन गरेर मात्र प्रतिष्ठान गठन हुनेछ। प्राज्ञिक संस्थामा राजनीतिक व्यक्तिभन्दा भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रका व्यक्तिलाई मनोनयन गरिनेछ।”
यसअघि पनि विभिन्न संस्था तथा व्यक्तिले लिखित र मौखिक रूपमा ऐन संशोधनको माग गर्दै आएका थिए। पछिल्लो समय सोही ऐनका आधारमा प्रदेश प्रज्ञा–प्रतिष्ठान गठनको तयारी भइरहेको जानकारीपछि स्रष्टा तथा कलाकारहरूले विरोध जनाएका हुन्।
कोसी साहित्य–कला परिषद् नेपालले पछिल्ला केही दिनदेखि प्रदेश प्रज्ञा–प्रतिष्ठान गठनको विषयमा निरन्तर भर्चुअल बहससमेत सञ्चालन गर्दै आएको छ। उक्त बहसमा कोसी प्रदेशका विभिन्न साहित्यिक तथा सांस्कृतिक संस्थाका प्रतिनिधि, अग्रज स्रष्टा र कलाकारहरूको सहभागिता रहेको परिषद्ले जनाएको छ।

परिषद्का अध्यक्ष केशु विरहीले भाषा, साहित्य, कला तथा संस्कृतिको विकासका लागि स्थापना हुने संस्थाको नेतृत्व पनि सोही क्षेत्रका व्यक्तिले गर्नुपर्ने धारणा राखे।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा केशु विरही, नवराज पोखरेल ‘नवशिला’, चिरञ्जीवी काफ्ले, प्रा.डा. टङ्कप्रसाद न्यौपाने, प्रा.डा. भीम खतिवडा, डम्मरुवल्लभ अधिकारी, कुशेश्वर राई, देवीभक्त श्रेष्ठ, प्राज्ञ सुभद्र भट्टराई, रमेन्द्र कोइराला, लीलानाथ सिलवाल, हिम्मत नेम्वाङ, रमेश निरौला, गायत्री लम्साल, द्वारिकाप्रसाद पोखरेल, मञ्जु घिमिरे दाहाल, पूजा बहार, अंशुकुमार गुप्तालगायत दुई दर्जनभन्दा बढी स्रष्टा तथा कलाकारहरूको उपस्थिति रहेको थियो।
त्यसै दिन साहित्य चौतारी, झापाले पनि प्रदेश प्रज्ञा–प्रतिष्ठान ऐन संशोधनको माग गर्दै मुख्यमन्त्री कार्कीलाई छुट्टै ज्ञापनपत्र बुझाएको थियो। संस्थाका प्रमुख संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले मुख्यमन्त्रीलाई ज्ञापनपत्र हस्तान्तरण गरेका थिए




