धनुषा । धनुषाको धनुषाधामस्थित संरक्षित वन क्षेत्रको अतिक्रमण गरी निर्माण गरिएका घरटहरा तथा व्यापारिक संरचना हटाइएको छ। डिभिजन वन कार्यालय धनुषाले बिहीबार वन क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना खाली गराउँदै सरकारी स्वामित्वको जग्गा संरक्षण अभियानलाई अघि बढाएको हो।
डिभिजन वन कार्यालय धनुषाका प्रमुख विनोद सिंहका अनुसार धनुषाधाम र मालटोल क्षेत्रमा वनको जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा खाली गराइएको हो।



उहाँले धनुषाधामस्थित संरक्षित वन क्षेत्रको जमिनमा स्थानीयवासीले वर्षौंदेखि घरटहरा निर्माण गरी होटल तथा विभिन्न प्रकारका पसल सञ्चालन गर्दै आएको बताउनुभयो। अतिक्रमण हटाउन पटक–पटक सूचना जारी गरिए पनि अटेर गरेपछि वन रक्षक टोली परिचालन गरी घरटहरा खाली गराइएको उहाँको भनाइ छ।
डिभिजनल वन प्रमुख सिंहले खाली गराइएको वन क्षेत्रमा पुनः अतिक्रमण हुन नदिन तारबार गरिने र वृक्षरोपणसमेत गरिने जानकारी दिनुभयो। उहाँका अनुसार वन क्षेत्रको संरक्षण, जैविक विविधताको संवर्द्धन तथा सरकारी सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिइनेछ।
वन कार्यालयले संरक्षित वन क्षेत्र अतिक्रमण नगर्न तथा सरकारी जग्गाको संरक्षणमा सहयोग गर्न स्थानीयवासीसँग आग्रह गरेको छ।




