महोत्तरी । रसुवालगायत बाढी प्रभावित क्षेत्रमा राहत सामग्री उपलब्ध गराउने उद्देश्यले महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रमोदकुमार महतोको नेतृत्वमा बिहीबार साँझ पाँच ट्रक राहत सामग्री पठाइएको छ ।
गौशालाबाट दुई, बर्दिबासबाट दुई र भंगहा नगर क्षेत्रबाट एक गरी पाँच ट्रक राहत सामग्री संकलन गरी बाढी प्रभावित क्षेत्रतर्फ पठाइएको हो ।



संकलित राहत सामग्रीमा चामल, दाल, भुजा, चिउरा, चिनी, दालमोठ, त्रिपाललगायत दैनिक उपभोग्य सामग्री रहेका छन् । ती सामग्री नुवाकोटस्थित एकीकृत राहत कोषमार्फत बाढी प्रभावित परिवारलाई वितरण गरिने जनाइएको छ ।

बाढी तथा पहिरोका कारण विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारलाई तत्काल आवश्यक खाद्यान्न तथा अन्य सामग्री उपलब्ध गराउन स्थानीय स्तरबाट राहत संकलन गरिएको सांसद महतोको नेतृत्वको टोलीले जनाएको छ ।
यसैबीच, गौशालामा सञ्चालित समीर गेस्ट हाउसका सञ्चालक साबिर हुसेनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच हजार रुपियाँ सहयोग गर्नुभएको छ । प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको उहाँले बताउनुभयो ।

बाढीपीडितका लागि महोत्तरीबाट खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीसहित राहत पठाइएको र थप सहयोगका लागि स्थानीय तह, व्यवसायी तथा सर्वसाधारणलाई समेत आह्वान गरिएको छ ।




