महोत्तरी – स्थानीय तह निर्वाचनलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गौशालाका तर्फबाट विभिन्न पदमा उम्मेदवारी र टिकट टुङ्गिएको भन्दै सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भइरहेका सूचनाप्रति रास्वपा गौशालाले आपत्ति जनाएको छ ।
रास्वपा गौशाला नगर सभापति ज्ञानेन्द्रप्रसाद गुप्ताले शनिबार विज्ञप्ति जारी गर्दै पार्टीका तर्फबाट मेयर, उपमेयर, वडाध्यक्षलगायत विभिन्न पदका उम्मेदवारको टिकट तथा उम्मेदवारी अन्तिम भइसकेको भन्ने प्रचार आधिकारिक नभएको स्पष्ट पार्नुभएको हो ।



उहाँका अनुसार पार्टीमा उम्मेदवार छनोट तथा टिकट निर्धारण निश्चित विधि, प्रक्रिया र मापदण्डअनुसार सम्बन्धित पार्टी निकायको आधिकारिक निर्णयबाट हुने व्यवस्था छ । त्यसैले सम्बन्धित निकायबाट निर्णय भई सार्वजनिक नभएसम्म कुनै व्यक्ति, समूह वा अन्य माध्यमबाट सार्वजनिक गरिएका उम्मेदवारी वा टिकटसम्बन्धी दाबीलाई पार्टीको आधिकारिक निर्णयका रूपमा नलिन उहाँले आग्रह गर्नुभएको छ ।
“पार्टीको आधिकारिक निर्णय नभएसम्म सामाजिक सञ्जालमा गरिएका पोस्ट, व्यक्तिगत दाबी वा अपुष्ट प्रचारलाई उम्मेदवारी र टिकट वितरणको निर्णयका रूपमा नलिन आग्रह गर्दछौँ,” नगर सभापति गुप्ताले भन्नुभयो, “उम्मेदवार छनोट र टिकट वितरण पार्टीले निर्धारण गरेको विधि र प्रक्रियाअनुसार सम्बन्धित निकायबाट हुनेछ । आधिकारिक निर्णयअघि उम्मेदवारको नाम सार्वजनिक गरेर भ्रम सिर्जना गर्ने कार्यप्रति पार्टीको ध्यानाकर्षण भएको छ ।
”पार्टीको नाम, झण्डा, लोगो वा आधिकारिक पहिचानको दुरुपयोग गरी गलत सूचना सम्प्रेषण नगर्न तथा पार्टीको निर्णयविपरीत प्रचारप्रसार नगर्न पनि विज्ञप्तिमार्फत सम्बन्धित पक्षलाई आग्रह गरिएको छ ।
पार्टीका आधिकारिक निर्णय र सूचना सम्बन्धित आधिकारिक माध्यमबाट मात्र सार्वजनिक गरिने जनाउँदै विज्ञप्तिमा अपुष्ट सूचना शेयर, पुनःप्रकाशन वा प्रचारप्रसार नगर्न पार्टी सदस्य, शुभेच्छुक, सञ्चारकर्मी तथा आम नागरिकलाई आग्रह गरिएको छ ।
“कुनै पनि सूचना सार्वजनिक गर्नुअघि त्यसको आधिकारिकता पुष्टि गर्न आवश्यक छ,” गुप्ताले भन्नुभयो, “पार्टीको नाम र आधिकारिक पहिचान प्रयोग गरेर अनधिकृत सूचना सम्प्रेषण गर्ने कार्यले अन्योल सिर्जना गर्न सक्छ । त्यसैले आधिकारिक निर्णयलाई मात्र आधार बनाउन सबैमा आग्रह गर्दछौँ ।”
पार्टीको आधिकारिक निर्णयलाई तोडमोड गर्ने, गलत अर्थ लगाउने वा जानीजानी भ्रामक सूचना तथा अफवाह फैलाउने कार्य प्रमाणित भएमा पार्टीको विधान, आन्तरिक नियम तथा प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
रास्वपा गौशालाले उम्मेदवारी, टिकट वितरण तथा उम्मेदवार छनोटसम्बन्धी निर्णय सम्बन्धित पार्टी निकायबाट विधिवत् रूपमा भएपछि मात्र मान्य हुने स्पष्ट पार्दै आधिकारिक निर्णयलाई आधार बनाउन र भ्रमपूर्ण सूचना तथा अफवाहको प्रचार नगर्न सबैमा आग्रह गरेको छ ।






