काठमाडौँ- बडादसैँको सातौँ दिन शनिबार नवदुर्गाभवानीको सातौँ स्वरूप देवी कालरात्रिको विशेष पूजाआजाका साथै घर घरमा विधिपूर्वक फूलपाती भित्र्याइँदै छ । सोही अवसरमा सङ्घीय राजधानी काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाद्वारा फूलपाती बढाइँ विशेष समारोह आयोजना गरिने छ ।
बडादसैँको सातौँ दिन भित्र्याइने ‘फूलपाती’ नौ प्रकारका पवित्र बिरुवा वा पालुवाहरूको सम्मिश्रण हो; जसलाई नवपत्रिका पनि भनिन्छ । यसमा समावेश हुने नौ वटा वनस्पति र तिनले प्रतिनिधित्व गर्ने देवीहरू– केरा (ब्रह्मायणी), दारिम/अनार (रक्तदन्तिका), धानको बाला (लक्ष्मी), हलेदो/हल्दी (दुर्गा), मानवृक्ष (चामुण्डा), उखु (कालिका), बेलपत्र (शिवा), अशोक (शोकरहिता) र जयन्ती (कात्तिकी) रहने धार्मिक मान्यता छ ।



ऐतिहासिककालदेखि नै गोरखा दरबारको दसैँघरबाट ल्याइएको फूलपाती काठमाडौँको हनुमानढोका दरबारमा भित्र्याउने विशिष्ट परम्परा रहिआएको छ । गोरखाबाट पुजारीसहित मगर जातिका छ जनाले फूलपाती धादिङको जीवनपुरसम्म पैदल ल्याउँछन् । जीवनपुरबाट काठमाडौँका छ जना ब्राह्मणले उक्त फूलपातीलाई काठमाडौँको जमलसम्म ल्याउने गर्छन् । जमल आइपुगेपछि निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, नेपाली सेनाको गुर्जुका पल्टन, ब्यान्डबाजा, पन्चैबाजा र सांस्कृतिक झाँकीसहित हर्षोल्लासका साथ हनुमानढोका दसैँघरमा फूलपाती भित्र्याइन्छ ।
कालरात्रि देवीको विशेष पूजा
फूलपातीको दिन कालरात्रि देवीको विशेष पूजाअर्चना पनि गरिँदै छ । संहारकारी स्वरूप भए पनि आफ्ना भक्तलाई सधैँ शुभ फल प्रदान गर्ने भएकाले उहाँलाई शुभङ्कारी पनि भनिन्छ । देवी कालरात्रिको पूजा गर्दा ‘एकवेणी जपाकर्णपूरा नग्ना खरास्थिता । लम्बोष्ठी कर्णिकाकर्णी तैलाभ्यव् क्रशरीरिणी ।। वामपादोल्लसल्लोहलताकण्टकभूषणा । वर्धनमूर्धध्वजा कृष्णा कालरात्रिर्भयङ्करी ।।’ मन्त्रले स्तुति गरिन्छ ।
पौराणिक कथा अनुसार रक्तबीज नामक शक्तिशाली असुरको संहार गर्न भगवती दुर्गाले कालरात्रि अवतार धारण गर्नुभएको थियो । रक्तबीजले कठोर तपस्यापछि ब्रह्माजीबाट एउटा अनौठो वरदान पाएको थियो । सो वरदान अनुसार उसको शरीरबाट रगतको एक थोपा मात्र पनि धर्तीमा खसेमा, त्यसबाट तत्कालै उस्तै शक्तिशाली अर्को राक्षस (रक्तबीज) जन्मन्थ्यो । यो वरदानका कारण युद्धमैदानमा रक्तबीजलाई परास्त गर्न असम्भवप्रायः भएको थियो । जति पटक उसलाई चोट लाग्थ्यो, त्यति नै धेरै सङ्ख्यामा नयाँ राक्षस उत्पन्न भई देवताहरूमाथि हाबी हुन्थे । असुरको अत्याचारले सीमा नाघेपछि देवी दुर्गाले आफ्नो तेज र क्रोधबाट कालरात्रिको रूप प्रकट गर्नुभयो । कालरात्रि देवीको रूप अत्यन्त भयानक थियो– कालो वर्ण, तीन वटा आँखा र गधाको सवारी । युद्धका क्रममा देवीले रक्तबीजको वध गर्नुभयो र उसको शरीरबाट बगेको रगत धर्तीमा खस्न नदिई आफ्नो मुखमा थापेर पिउनुभयो । रगत जमिनमा खस्न नपाएपछि रक्तबीजको वंश नाश भयो र देवताहरूलाई असुरको आतङ्कबाट मुक्ति मिल्यो । यसरी दुष्टहरूको विनाश गरी संसारमा धर्म र शान्ति स्थापना गरेकाले कालरात्रि देवीको पूजा गर्दा भय, रोग र नकारात्मक ऊर्जाबाट मुक्ति मिल्ने जनविश्वास छ ।




