महोत्तरी। मधेसको मिथिला क्षेत्र अहिले दीपावली र छठ पर्वको उमङ्गमा छ। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावली पर्वसँगै लगत्तै सुरु हुने छठको तयारीले महोत्तरीसहित मिथिला क्षेत्र पर्वमय बनेको छ।
यी पर्व परम्परागत सीप र पुर्ख्यौली पेसामा आबद्ध यहाँका विभिन्न जाति तथा समुदायका लागि आम्दानीको अवसरसमेत बनेका छन्। विशेषगरी आर्थिक रूपमा पछाडि परेका कुमाल, बिन र डोम समुदायका मानिस अहिले आफ्नो पुर्ख्यौली सीपले बजार पाउने आशामा उत्साहित छन्। कुमाल समुदायले माटाका भाँडा बनाउने तथा बिन र डोम समुदायले बाँसका कप्टेरा र चोयाबाट छिटी, नाङ्लो, चाल्नो र ससाना कनसुपीलगायत सामग्री बनाउने पेसा पुस्तौँदेखि अपनाउँदै आएका छन्।



दीपावली र छठ दुवै पर्वमा माटाका नयाँ भाँडा तथा बाँसका चोया र कप्टेराबाट निर्मित सामग्रीको प्रयोगलाई धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको छ। यही परम्पराका कारण यी समुदायका लागि पर्वको समय पुर्ख्यौली सीप प्रदर्शन गर्ने र केही नगद आम्दानी गर्ने अवसर बन्दै आएको छ।
केही दशकअघिसम्म माटाका गाग्री, छ्याँची, तौला र ढकनालगायत भाँडा दैनिक जीवनमै प्रयोग हुन्थे। त्यसैले वर्षभरि नै यस्ता सामग्रीको माग र बजार राम्रो थियो। त्यसैगरी बाँसका चोया र कप्टेराबाट बनाइने छिटी, नाङ्लो, चाल्नो र पङ्खालगायत सामग्री पनि घरायसी प्रयोजनका लागि व्यापक प्रयोग गरिन्थे। तर पछिल्ला वर्षमा प्लास्टिक तथा स्टिलका सामग्रीको प्रयोग बढ्दै गएपछि परम्परागत सामग्रीको बजार खुम्चिएको छ। फलस्वरूप यी समुदायको पुर्ख्यौली पेसा पर्वविशेषमा सीमित हुन पुगेको छ।
भङ्गाहा नगरपालिका–४ रामनगर बस्तीका केशवर मुखिया बिनका अनुसार अन्य समयमा बाँसका सामग्रीको माग निकै कम हुने भए पनि दीपावली र छठमा भने बिक्री बढ्ने गरेको छ।
“अरू बेला हाम्रा सामान त्यति खोजिँदैनन्। दीपावली र छठमा भने अझै खोजी हुन्छ। त्यसैले यी पर्व केही नगद आर्जनका लागि हाम्रो पर्खाइमा हुन्छन्”, उहाँले भन्नुभयो, “यस बेला हुने आम्दानीले पर्व मनाउन र पछि आवश्यक पर्ने खर्च जुटाउन केही सहयोग पुग्ने आशा हुन्छ।”
बिनजस्तै बाँसका चोया र कप्टेराबाट सामग्री बनाउने भङ्गाहा नगरपालिका–५ सिद्धपुर रेलस्टेसन टोलका प्रगास मरिक डोम पनि दीपावली र छठमा आफ्नो सीपले बजार पाउने आशामा सामग्री तयार पार्ने गरेको बताउनुहुन्छ।
त्यसैगरी कुमाल समुदायका मानिस पनि यी पर्वमा माटाका दियौरी, अर्घौटो, घैँटो, छ्याँची, तौला र ढकनालगायत सामग्री बिक्री गरेर केही आम्दानी हुने आशामा हुन्छन्। अन्य समयमा जीविकोपार्जनका लागि विभिन्न काम गर्ने उनीहरू दीपावली र छठ नजिकिएपछि भने अरू काम छाडेर माटाका भाँडा बनाउन व्यस्त हुन्छन्।
औरही नगरपालिका–४ श्रीपुर कविलासाका सुरेश पण्डित कुमालका अनुसार दीपावली र छठमा माटाका भाँडाको माग बढ्ने भएकाले यस समयमा पर्याप्त सामग्री तयार पार्ने गरिन्छ।
“यी पर्वमा माटाका भाँडाको माग राम्रै हुन्छ। त्यसैले यस बेला अरू काम छाडेर भाँडा बनाउन लाग्छौँ”, उहाँले भन्नुभयो, “यी पर्वमा बिक्री भएका भाँडाबाट हुने आम्दानीले केही महिनाको नगद खर्च चलाउन सहयोग पुग्छ।”
पर्वको चहलपहलसँगै महोत्तरीका १० नगरपालिका र पाँच गाउँपालिकासहित जिल्लाका १५ वटै स्थानीय तहका अधिकांश बस्तीमा लाग्ने साप्ताहिक हटियामा माटाका भाँडा तथा बाँसका चोया र कप्टेराबाट बनाइएका सामग्रीको छुट्टै बजार देखिन्छ। दीपावली र छठ यस क्षेत्रका प्रमुख पर्व भएकाले सर्वसाधारण आवश्यक सामग्री खरिद गर्न बजार पुग्ने गरेका छन्। धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार यी पर्वमा नयाँ सामग्री प्रयोग गर्ने चलन रहेकाले परम्परागत सामग्रीको माग अझै कायम छ।
दीपावलीका लागि माटाका भाँडा तथा बाँसका सामग्रीको बिक्री लक्ष्मीपूजाका दिन मध्यान्हसम्म हुने गरेको यी पेसामा आबद्ध श्रमिक बताउँछन्। दीपावली सम्पन्न भएको दुई दिनपछि छठ पर्व सुरु हुने भएकाले त्यसका लागि पनि सामग्रीको माग बढ्ने गरेको भङ्गाहा नगरपालिका–५ भूचक्रपुरका आशलाल पण्डित कुमाल बताउनुहुन्छ।
ग्रामीण क्षेत्रमा परम्परागत चलन अझै कायम रहे पनि सहरी क्षेत्रमा भने माटाका भाँडा र बाँसका सामग्रीको प्रयोग घट्दै गएको छ। तिनको विकल्पमा प्लास्टिक तथा स्टिलका सामग्री प्रयोग हुन थालेपछि पुर्ख्यौली सीप नै लोप हुने अवस्थामा पुग्न सक्ने चिन्ता कुमाल समुदायका अगुवामा देखिएको छ।
लोहारपट्टी नगरपालिका–४ पिपराढीका रामविलास पण्डित कुमालका अनुसार सहरी क्षेत्रमा परम्परागत सामग्रीको प्रयोग घट्दै जाँदा आगामी केही वर्षमा आफ्नो सीपको बजार नै हराउन सक्ने जोखिम बढेको छ।
यसैगरी गौशाला नगरपालिका–१२ पडरियाकी अञ्जली मरिक डोमका अनुसार पुर्ख्यौली पेसाबाट चाडपर्वका बेला केही आम्दानी भए पनि वर्षभरि परिवारको गुजारा चलाउन पर्याप्त हुँदैन। यही कारण आफ्ना छोराछोरीले पनि यो पेसा छाडेर अन्य काम रोज्न थालेका छन्।
मिथिला संस्कृति र कलासँग अभिन्न रूपमा जोडिएका माटाका भाँडा तथा बाँसका चोया र कप्टेराबाट बनाइने सामग्रीको प्रयोग घट्दै जानु परम्परागत सीप र पहिचानका लागि चुनौती बनेको छ। नयाँ पुस्ताले यस्ता सीपप्रति चासो नदेखाउँदा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको कला लोप हुने जोखिम बढेको छ। यसले पुर्ख्यौली सीपको संरक्षणसँगै त्यसमा आबद्ध समुदायको जीविकोपार्जन र सांस्कृतिक पहिचान जोगाउन आवश्यक पहल गर्नुपर्ने देखिएको छ।




