बर्दिबास नगर पत्रकार सञ्जालले स्थापना गरेको पत्रकारिता प्रवर्द्धन अक्षय कोषका लागि प्रोग्रेसिभ एकेडेमी र नन्दनी मल्टिपल कलेज, बर्दिबासले २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
सञ्जालका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिने क्रममा आज क्याम्पस प्रमुख निर्मल घिमिरे र विद्यालयकी प्रधानाध्यापक रूपा भण्डारीले उक्त रकम अक्षय कोषका लागि सहयोग गर्ने घोषणा गरेका हुन्।



पत्रकारहरूको क्षमता अभिवृद्धि, खोजमूलक तथा जनपक्षीय पत्रकारितालाई प्रोत्साहन, पत्रकारिता क्षेत्रमा क्रियाशील जनशक्तिको संरक्षण तथा विपद्, दुर्घटना र अन्य कठिन परिस्थितिमा पत्रकारहरूलाई सहयोग पुर्याउने उद्देश्यले अक्षय कोष स्थापना गरिएको हो। यसअघि होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले पनि कोषका लागि २५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो।
सामाजिक रूपान्तरण तथा सुशासनको क्षेत्रमा पत्रकारहरूले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै क्याम्पस प्रमुख घिमिरेले अक्षय कोष स्थापना गरेर पत्रकारिताको प्रवर्द्धन गर्ने सञ्जालको उद्देश्य सराहनीय रहेको बताए।
अक्षय कोष स्थापनाका लागि होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज कार्की र सचिव नारायण घिमिरेबाट प्रोत्साहन मिलेको बताउँदै सञ्जालका अध्यक्ष विशाल बस्नेतले कोष निर्माणमा विभिन्न दाताहरूले चासो देखाइरहेको जानकारी दिए।
‘पत्रकारिता बलियो भयो भने मात्र लोकतन्त्र बलियो हुन्छ। लोकतन्त्र बलियो हुनु भनेको नागरिकको अधिकारको रक्षा हुनु हो,’ अध्यक्ष बस्नेतले भने, ‘यसका लागि सामाजिक अभियन्ता तथा विभिन्न संस्थाका नेतृत्वसँग छलफल गरिरहेका छौँ। वास्तवमा उहाँहरूले स्थापना गरेको यो कोषले पत्रकारहरूको पेशागत हित संरक्षणसँगै जिम्मेवारी निर्वाहमा थप दत्तचित्त भएर लाग्न प्रेरित गर्नेछ।’




