महोत्तरी,(औरही)- सूर्य उपासना र लोकआस्थाको महापर्व छठको दोस्रो दिन आज (शनिबार) साँझ तराई–मधेससहित देशका विभिन्न स्थानमा खरना विधि श्रद्धा र भक्तिपूर्वक सम्पन्न गरिएको छ। चार दिनसम्म मनाइने छठ पर्वको दोस्रो दिन व्रतालुहरूले दिनभर निर्जला उपवास बसेर साँझ विधिपूर्वक पूजा आराधना गरी खरना सम्पन्न गरेका हुन्।
छठ पर्वको पञ्चमी तिथिमा गरिने खरना विधिलाई आत्मशुद्धि, पवित्रता र संयमको प्रतीकका रूपमा लिने गरिन्छ। यस दिन व्रतालुहरू बिहानदेखि निर्जला व्रत बसेर साँझ नुहाइधुवाइ गरी शुद्ध भई कुलदेवताको पूजा गर्ने परम्परा छ। नयाँ माटोको चुलोमा चोखो प्रसाद तयार गरी छठी मातालाई अर्पण गरेपछि व्रतालुले प्रसाद ग्रहण गर्ने चलन रहेको छ।




खरनाका अवसरमा नयाँ माटोको भाँडोमा सक्खर, दूध र चामलबाट खीर तयार गरी केराको पातमा राखेर छठी मातालाई नैवेद्यका रूपमा अर्पण गरिन्छ। यसका साथै मूला, अदुवा, पान, सुपारी, केरा र दूधलगायतका सामग्री पनि चढाउने गरिन्छ। पूजा सम्पन्न भएपछि व्रतालुले परिवारका सदस्यहरूसँगै प्रसाद ग्रहण गर्ने परम्परा छ।
महोत्तरीको औरही नगरपालिका–१ की व्रतालु पुनम देवी यादव र कर्म देवी यादवले परिवारको सुख, शान्ति र समृद्धिको कामनासहित प्रत्येक वर्ष छठ व्रत गर्दै आएको बताउनुभयो। उहाँहरूले छठी माताको आराधना र खरना विधिमा सहभागी हुँदा आत्मिक शान्ति प्राप्त हुने बताउनुभयो।

उहाँहरूका अनुसार खरना विधि सम्पन्न भएपछि छठ पर्वको मुख्य अनुष्ठान सुरु हुन्छ। तेस्रो दिन अर्थात् भोलि आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिनेछ भने चौथो तथा अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ व्रत सम्पन्न हुनेछ। चार दिनसम्म चल्ने यो पर्व श्रद्धा, आत्मसंयम, पवित्रता र समर्पणको प्रतीक रहेको उहाँहरूको भनाइ छ।

छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइन्छ। पर्वको पहिलो दिन नहाय–खाय विधिबाट शरीर र मन शुद्ध गरिन्छ। दोस्रो दिन खरना गरी उपवासको सङ्कल्प गरिन्छ। तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व समापन हुन्छ।

खरना विधिका अवसरमा महोत्तरी, धनुषा, सिरहा, सर्लाही, रौतहट, बारा र पर्सालगायत तराई–मधेसका जिल्लामा घर–आँगन तथा पूजास्थलमा भक्तिपूर्ण वातावरण देखिएको थियो। व्रतालुहरूले घर–आँगन सफा गरी पूजास्थल सजाउनुका साथै दीप प्रज्वलन र छठी माताको भजनकीर्तन गर्दै विधिपूर्वक पूजा आराधना गरेका थिए।

सूर्यदेव र छठी माताको आराधना गरी परिवारको सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरिने छठ पर्व प्रकृतिप्रतिको कृतज्ञता प्रकट गर्ने पर्वका रूपमा समेत परिचित छ। धार्मिक आस्था, कठोर व्रत, स्वच्छता र अनुशासनमा आधारित यो पर्व पछिल्लो समय मधेस प्रदेशमा मात्र सीमित नरही देशका विभिन्न भूभागमा समेत लोकप्रिय बन्दै गएको छ।







