विराटनगर । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा शारीरिक सुगठनतर्फ कोशी प्रदेशबाट ६ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । मंगलबार विराटनगरमा सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट विभिन्न तौल समूहका खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका हुन् ।

छनोट प्रतियोगितामा ५५ केजी तौल समूहबाट सुनसरीका बिजु लिम्बू, ६० केजीमा मोरङका सौरभ राज मगर र ६५ केजीमा सुनसरीका उत्तम खत्री छनोट भएका छन् ।



त्यस्तै, ७० केजी तौल समूहमा मोरङका हर्कबहादुर मगर, ८० केजीमा दीपक तिमिल्सिना र ८५ केजीमा ललित धिमाल प्रथम हुँदै राष्ट्रिय प्रतियोगितामा स्थान बनाउन सफल भएका छन् ।

विराटनगरस्थित कञ्चनजङ्घा पार्टी प्यालेसमा आयोजित छनोट प्रतियोगिता कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य तथा प्रतियोगिता संयोजक पवित्रराम थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोर्डका सदस्य सचिव विप्लव घोषले राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । छनोट भएका खेलाडीको क्षमता र तयारीका आधारमा यसपटक शारीरिक सुगठनमा प्रदेशले राम्रो नतिजा हासिल गर्ने अपेक्षा रहेको उनले बताए ।
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारीरिक सुगठनका प्रतिस्पर्धा आगामी मंसिर ११ र १२ गते सञ्चालन हुँदैछन् । राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी कोशी प्रदेशले विभिन्न तौल समूहबाट उत्कृष्ट खेलाडी छनोट गरेको हो ।
छनोट भएका ६ खेलाडीले राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।




