काठमाडौं । आगामी स्थानीय तह निर्वाचनको तयारीमा निर्वाचन आयोग जुटेको छ । तयारीका विषयमा आयोगले आज राजनीतिक दलहरुसँग छलफल गरिरहेको छ ।
निर्वाचनको मिति घोषणा हुनुअघि गर्नुपर्ने पूर्व तयारीलाई अघि बढाएको आयोगले मतदाता नामावली अद्यावधिक, मतदानस्थल तथा मतदान केन्द्रको पुनरावलोकन र निर्वाचन सामग्रीको व्यवस्थापन सम्बन्धी काम गरिरहेको जनाएको छ ।



निर्वाचन आयोगको सूचना अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार आगामी स्थानीय तह तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदाता नामावली अद्यावधिक गर्ने, मतदानस्थल र मतदान केन्द्रको पुनरावलोकन गर्ने तथा आवश्यक निर्वाचन सामग्रीको आँकलन गर्ने काम भइरहेको छ ।
आयोगले मतदानस्थल र मतदान केन्द्र मतदाताका लागि पायक पर्ने स्थानमा छन् वा छैनन् भन्ने विषयमा सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलसँग छलफल गरी सुझाव लिएको छ ।
स्थानीय तहमा संयुक्त बैठकबाट प्राप्त सिफारिसलाई जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधिसहितको बैठकमार्फत पुनरावलोकन गर्ने काम भइरहेको भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार निर्वाचनमा आवश्यक पर्ने सामग्रीको विवरण संकलन गर्ने, आयोगसँग मौज्दात रहेको सामग्रीको अवस्था हेर्ने र अपुग हुने सामग्रीको परिमाण आँकलन गर्ने काम पनि भइरहेको छ ।
निर्वाचनको मिति घोषणा हुनुअघि गर्नुपर्ने नियमित पूर्वतयारीलाई आयोगले निरन्तरता दिएको भट्टराईले बताउनुभयो । “निर्वाचनको मिति घोषणा हुनुभन्दा अगाडि गर्नुपर्ने कामहरू अगाडि बढाइरहेका छौँ । निर्वाचनका लागि आवश्यक सामग्री कति चाहिन्छ, हामीसँग कति मौज्दात छ र कति अपुग हुन्छ भन्ने आँकलन गरिरहेका छौँ’’ भट्टराईले भन्नुभयो ।
निर्वाचनमा खटिने कर्मचारीको व्यवस्थापन भने मिति घोषणा भएपछि मात्र गरिने आयोगको भनाइ छ । विगतका निर्वाचनको अनुभवका आधारमा आवश्यक कर्मचारीको संख्या, उपलब्धता र अपुग हुने जनशक्तिको विवरण निर्वाचन कार्यक्रम घोषणा भएपछि यकिन गरिने भट्टराईले बताउनुभयो । अहिले कर्मचारी व्यवस्थापनको विषयमा आयोगले विशेष काम अघि नबढाएको उहाँको भनाइ छ ।
यसैबिच निर्वाचनको मिति, व्यवस्थापन र आवश्यक पूर्व तयारीबारे आयोगले शुक्रबार राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँग छलफल गर्दै छ । निर्वाचन आयुक्त सगुन शमशेर ज.ब.रा.का अनुसार दलहरूसँगको छलफलमा आगामी निर्वाचनको तयारी र व्यवस्थापनका विषयमा परामर्श गरिनेछ ।
राजनीतिक दलहरूसँगको छलफलपछि नेपाल सरकारसँग पनि परामर्श गरेर निर्वाचनको मिति तथा बाँकी तयारीका विषयमा थप निर्णय र प्रक्रिया अघि बढाइने आयुक्त ज.ब.रा.ले जानकारी दिनुभयो ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ अनुसार निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले स्थानीय तह निर्वाचनको मिति तोक्ने व्यवस्था छ । २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल २०८४ जेठ ५ गते समाप्त हुँदैछ । आयोगले निर्वाचन सम्पन्न गर्न कम्तीमा १२० दिनको तयारी अवधि आवश्यक पर्ने बताउँदै आएको छ ।




