महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका–१ सानो कुशमाडीस्थित उखुबारीमा एक महिलाको शव फेला परेको छ। स्थानीय ६५ वर्षीया विणामाया पुलामीको शव शुक्रबार बिहान फेला परेको हो।
प्रहरीका अनुसार पुलामी बिहीबार घाँस काट्न घरबाट निस्किएकी थिइन्। घरबाट निस्किएकी उनी शुक्रबार बिहान उखुबारीमा मृत अवस्थामा फेला परेकी हुन्।इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मधुसुदन विश्वकर्माका अनुसार शवको प्रकृति हेर्दा महिलाको हत्या भएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ। उनको घाँटीमा गम्छा कसिएको जस्तो देखिएको उनले बताए।
‘गम्छाले घाँटी कसेको जस्तो देखिन्छ। हत्याको आशंकामा सूक्ष्म अनुसन्धान थालेका छौँ,’ प्रहरी निरीक्षक विश्वकर्माले भने।



घटनाको अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक (डीएसपी) समेत घटनास्थल पुगेका छन्। प्रहरीले तालिमप्राप्त कुकुर परिचालन गरी घटनास्थलमा प्रमाण संकलन तथा अनुसन्धान अघि बढाएको जनाएको छ।
घटनामा संलग्न व्यक्तिको पहिचान तथा मृत्युको वास्तविक कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। शवको थप परीक्षण तथा अनुसन्धानपछि घटनाबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।




