जनकपुरधाम । नेपाल र भारतका दुई महत्वपूर्ण धार्मिक सहर जनकपुरधाम र अयोध्यालाई रेलमार्गबाट जोड्ने तयारी अघि बढेको छ । जनकपुरधामदेखि भारतको अयोध्यासम्म विशेष रेल सेवा सञ्चालन गर्ने विषयमा नेपाल र भारतका सम्बन्धित अधिकारीबीच पहिलो चरणको छलफल भएको छ ।
भारतको जयनगरस्थित रेल्वे स्टेसनको विश्रामगृहमा भएको बैठकमा नेपाल रेल्वे कम्पनी, भारतीय रेल्वे, भन्सार, अध्यागमन तथा सुरक्षा निकायका अधिकारी सहभागी थिए ।



नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार बैठकमा जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारीबारे छलफल भएको हो ।
बैठकमा रेल लिङ्क, सिग्नलिङ प्रणाली, अध्यागमन प्रक्रिया, भन्सार जाँच, यात्रु सुविधा तथा सुरक्षा व्यवस्थापनलगायत विषयमा छलफल भएको थियो । विशेष रेल सेवा सञ्चालनका क्रममा नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु तथा रेल सुरक्षाको जिम्मेवारी लिने विषयमा सैद्धान्तिक सहमति भएको प्रबन्ध सञ्चालक पराजुलीले जानकारी दिनुभयो ।
छलफलपछि दुवै देशका अधिकारीले जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षणसमेत गरेका थिए । विशेष रेल सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार, सञ्चालन प्रक्रिया तथा सुरक्षा व्यवस्थापनबारे थप छलफल गरिने जनाइएको छ ।
जनकपुरधामलाई माता सीताको जन्मभूमि र अयोध्यालाई भगवान् रामको जन्मभूमिका रूपमा धार्मिक मान्यता दिइन्छ । यी दुई धार्मिक सहरलाई प्रत्यक्ष रेल सेवामार्फत जोड्न सके नेपाल र भारतबीचको सदियौँ पुरानो धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
जनकपुरधाम–अयोध्या रेल सेवाले रामायण सर्किटअन्तर्गत तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमन सहज बनाउने विश्वास गरिएको छ । विशेषगरी भारतका विभिन्न स्थानबाट जनकपुरधाम आउने र नेपालबाट अयोध्या जाने धार्मिक पर्यटकका लागि यो सेवा महत्वपूर्ण हुने देखिएको छ ।
रेल सेवा सञ्चालनमा आएमा धार्मिक पर्यटनसँगै सीमावर्ती क्षेत्रका होटल, यातायात, व्यापार तथा अन्य पर्यटनसम्बन्धी व्यवसायमा आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ । यसबाट दुवै देशका स्थानीय बजारले समेत लाभ लिन सक्नेछन् ।
हाल नेपालमा बिजलपुराबाट जनकपुरधाम हुँदै भारतको जयनगरसम्म नियमित रेल सेवा सञ्चालनमा छ । यही रेल सञ्जाललाई थप विस्तार गर्दै जनकपुरधामलाई अयोध्यासँग जोड्ने तयारी गरिएको हो ।
जनकपुरधाम–जयनगर रेल सेवा सञ्चालनले दुई देशबीचको सीमापार आवागमन सहज बनाइसकेको अवस्थामा अयोध्यासम्म विशेष रेल सेवा विस्तार भएमा धार्मिक पर्यटनका लागि नयाँ मार्ग खुल्नेछ ।
जनकपुरधाम र अयोध्याबीचको प्रस्तावित रेल सम्पर्कलाई केवल यातायात विस्तारका रूपमा मात्र नभई नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप नजिक ल्याउने माध्यमका रूपमा हेरिएको छ ।




