महोत्तरी । महोत्तरीको बलवामा तीन महिनाअघि एक युवकले हत्या गरेको आरोपमा फरार रहेका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटनामा यसअघि नै प्रहरीले चार जनालाई पक्राउ गरिसकेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टका अनुसार भङ्गहा नगरपालिका–६ निवासी २२ वर्षीय विवेककुमार सरदारको हत्या गरेको आरोपमा बलवा नगरपालिका–७ बनौटा निवासी ३४ वर्षीय जितेन्द्रकुमार ठाकुरलाई पक्राउ गरिएको हो ।



ठाकुरलाई जलेश्वर नगरपालिका–३ स्थित नेपाल–भारत सीमा नाका मलिवाडामा बिहीबार साँझ हिँडडुल गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटनामा संलग्न रहेको आरोपमा यसअघि नै बलवा नगरपालिका–७ बनौटा निवासी जितेन्द्रका बुबा ५८ वर्षीय अशोककुमार ठाकुर, आमा ५० वर्षीया रामकली देवी, श्रीमती २२ वर्षीया सोनुकुमारी ठाकुर तथा महोत्तरी गाउँपालिका–५ निवासी २८ वर्षीय सियाराम शर्मालाई पक्राउ गरिएको छ ।
मृतक विवेककुमार सरदार भदौ १५ गते जलेश्वर नगरपालिका–११ पिगौनास्थित दिदीको घरबाट बा ३१ प ६१३८ नम्बरको मोटरसाइकल चढेर भङ्गहास्थित घर जाने क्रममा बाटोबाटै हराउनुभएको थियो । उहाँका परिवारले भदौ १६ गते जिल्ला प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए ।
खोजतलास तथा अनुसन्धानका क्रममा भदौ २६ गते उहाँको शव टुक्राटुक्रा पारेर सेफ्टी ट्याङ्कीमा राखिएको अवस्थामा फेला परेको थियो । उक्त घटनापछि मुख्य अभियुक्त ठाकुर फरार रहँदै आएका थिए ।
प्रहरी नायब उपरीक्षक भट्टका अनुसार पक्राउ परेका अशोककुमार ठाकुरकी बुहारी तथा जितेन्द्रकुमार ठाकुरकी श्रीमती सोनुकुमारी र मृतक विवेकबीच प्रेम सम्बन्ध रहेको खुलेको छ । सोही सम्बन्धका कारण योजनाबद्ध रूपमा विवेकलाई घर बोलाएर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले बताउनुभयो ।
प्रहरीका अनुसार हत्या गरेपछि फलामको दाउले शवलाई नौ टुक्रा पारिएको र लुकाउने उद्देश्यले सेफ्टी ट्याङ्कीमा राखेर माथिबाट सिमेन्ट र बालुवाले प्लास्टर गरिएको पाइएको छ ।




