
महोत्तरी। महोत्तरीको पिपरा गाउपालिका अन्तर्गतका विभिन्न १६ विद्यालयमा कक्षा एक देखि तिनसम्म अध्ययनरत बालबालिकाहरुलाई स्वाध्याय सामग्री प्रदान गरिएको छ ।
जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय महोत्तरीका प्रमुख भरतबावु सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न एक कार्यक्रममा पिपरा गाउपालिका स्थित सवै विद्यालयका प्रधानाध्यापकहरुको गणित विषयको आधारभुत दक्षता अभिवृद्धी गर्न स्वाध्याय पुस्तक भाग एक वितरण गरिएको हो ।
जापान अन्तराष्ट्रिय सहयोग नियोग(जाईका)का जिल्ला कार्यक्रम अधिकृत विनय ढकालको सहजिकरणमा उक्त सामग्री प्रदान गरिएको हो । कार्यक्रममा पिपरा गाउपालिकाका शिक्षा संयोजक दुखरण चौधरी समेतको उपस्थिति रहेको थियो । अभिभावकले समेत उक्त पुस्तकलाई पछ्याउदै बालबालिकाको शिक्षण स्तर अभिवृद्धी गर्न सक्ने गरि जाईकाको आर्थिक सहयोगमा छापिएको पुस्तक वितरण गरिएको हो ।
विद्यालयको तल्लो कक्षा देखि नै वालवालिकाको शैक्षिक स्तरमा सुधार ल्याउन विद्यालयकै माध्यमबाट पुस्तक अध्ययन गर्न गणित विषयका शिक्षकहरुले सघाउने तथा अभिभावकले समेत नियमित बालबालिकालाई सघाएपछि उनको गणित विषयको क्षमता अभिवृद्धी हुदै जाने विश्वास रहेको पुस्तक प्रदान गर्दै जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई महोत्तरीका प्रमुख सेवेदीले वताए । परियोजना अन्तर्गत शिक्षकहरुलाई समेत विभिन्न तालिमहरु मार्फत थप दक्ष बनाउदै लगिएको र आगामी दिनमा समेत थप तालिमहरु आयोजना भैरहेकोले यस परियोजनाले शैक्षिक अवस्थामा सुधार ल्याउन प्रभावकारी भुमिका खेल्ने उनले वताए ।
वालवालिकाको क्षमता अभिवृद्धी गर्न सरोकार राख्ने अभिभावक सहित हरेकलाई समेटेर अगाडी वढ्ने परियोजनाको कार्यक्रमले निक्कै आशावादी बनाएको उनले बताए । यता हाललाई पुस्तकको भाग एक वितरण गरिएको र क्रमिक रुपमा तिन महिना पछि भाग दुई समेत वितरण गरिने परियोजनाका जिल्ला कार्यक्रम अधिकृत ढकालले वताए । उनले बालबालिकाले पुस्तक पाएपछि पुस्तकमै भएको फारम अभिभावकले सहि गरेर पठाउनु पर्ने व्यवस्था राखिएकोमा यसले अभिभावकलाई समेत बालबालिकाको पठन पाठनमा थप जिम्मेवार बनाउने वताए ।
तराई मधेश गणित विषयको अध्ययन र अध्यापनको लागि नाम चलेको क्षेत्र भएको र यसै क्षेत्रबाट गणित विषयमा अव्वल रहेका शिक्षकहरुले अझै देशका विभिन्न स्थानमा गएर विद्यार्थीहरुलाई शिक्षित गरिरहेकोमा विगत केहि समय यता गणित विषयमा अव्वल रहेको यहाका विद्यार्थी गणित विषयमा कमजोर देखिन थालेका छन । विषय प्रतिको अभिरुची कम हुन थालेको र दक्षता समते घटेकोमा यस परियोजनाले तल्लो कक्षा देखि नै विषय प्रति अभिरुची बढाउने आशा गरिएको छ ।
बालबालिकाहरुको गणित विषयमा लिईने विभिन्न परिक्षामा क्रमांक घटदो क्रममा देखिएपछि शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय तथा जापान अन्तराष्ट्रिय सहयोग नियोग(जाईका) ले सम्झौता गरि प्रोजेक्ट फर ईम्प्रुभिंग द क्वालिटी ईन नेपाल (इम्प्रुभिंग म्याथेम्याटिक्स एजुकेशन ईन नेपाल)(आईमेन) परियोजना संचालन गरेर दक्षता अभिवृद्धीमा लागेको हो । परियोजना देशैभरीका जम्मा चार स्थानमा संचालनमा रहेकोमा सो मध्ये महोत्तरीको पिपरा गाउपालिकाका विद्यालयहरुलाई यस परियोजनामा समेटिएको छ ।