नेपाल सरकारका भौतिक पूर्वाधार तथा यतायात मन्त्री रेणु यादवले मधेशी जनताको संघर्ष तथा मधेशी पुत्रको बलिदानीको बलमा मधेश प्रदेशको स्थापना भएको बताएकी छिन् ।
उनले वर्षौ देखिको मधेशी जनताको पहिचान प्रदेश सरकारले स्थापना गरेको दाबी गरिन् । जनता समाजवादी पार्टीको युवा संगठन समाजवादी युवा संघले मधेश आन्दोलनका प्रथम शहीद रमेश महतो लगायतका शहीदहरुको बलिदानी दिवसको अवसर पारेर समाजवादी युवा संघ रौतहटले सदरमुकाम गौरमा आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले मधेशी जनतासंग घृणा गर्नेलाई मधेश प्रदेश नामकरणबाट ठूलो धक्का पुगेको टिप्पणी गरिन् । जनता समाजवादी पार्टी नेपालकी नेतृ यादवले जनमत पार्टीका प्रमुख डाक्टर सीके राउतमाथि आक्रोश पोख्दै आगोसंग खेलवाड नगर्न चेतावनी समेत दिइन् ।
https://www.facebook.com/104607344773010/videos/319453830095956
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको खुट्टा टेकेर मतियार भइ मधेशमा आफ्नो पहिचान बनाउन लागेको भन्दै मन्त्री यादवले जसपासंग नभिड्न सचेत गराइन् । उनले भनिन्,‘ सीके राउत मधेश विरोधी केपी शर्मा ओलीका दूत हुन , जसले मधेशी जनतालाई भ्रममा पार्ने काम गरिरहेको छ । ’जनता समाजवादी पार्टीलाई लक्षित गरी जनमत पार्टीका कार्यकर्ताहरुले गर्दै आएको कार्यक्रम आगामी चुनावी एजेण्डा मात्रै रहेको बताउंदै उनले आगोसंग खेलवाड गर्ने प्रयास गरे नस्तानामुद भएर जाने चेतावनी दिइन । मधेश स्वतन्त्र देश हो भन्ने नारा लगाउने डाक्टर राउत पूर्व प्रधानमन्त्री ओलीको खुट्टा कमाउन पुगेको टिप्पणी गर्दै डाक्टर राउतको बहकाउमा नपर्न समेत आग्रह गरिन् ।
रौतहटमा अलपत्र अवस्थामा रहेको विभिन्न पुल निर्माणको कार्य छिट्टै सम्पन्न हुने जानकारी समेत उनले गराइन् । कार्यक्रममा मधेश प्रदेश सरकारका कृषि ,भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले किसानको मुद्दाको समाधान गर्न मधेश प्रदेश सरकार गम्भीर रहेको बताए । किसानको मुद्दा उठाएर जनमत पार्टीका नेतृत्वकर्ताले किसानलाई ठग्ने कार्य गरिरहेको टिप्पणी गरे । उनले डाक्टर राउत खसबादी पार्टीद्वारा परिचालित बहुरुपियाको रुपमा रहेकोले त्यसको कुरामा नलाग्न सबैलाई आग्रह गरे ।
शहादत दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका नेता एवं मधेश प्रदेशका प्रदेश सांसद राम किशोर यादव , केन्द्रीय सदस्य रेवन्त झा गौर नगरपालिकाका उपमेयर किरण ठाकुर लगायतका नेताहरुले आ आफ्नो धारणा विचार राखेका थिए भने कार्यक्रममा शहिद परिवारलाई सम्मान गरिएको थियो ।
https://youtu.be/P6TqK_lDknQ




