महोत्तरी। गौशाला स्थित सिटिजन बैंकमा एक सेवाग्राही कुटिएका छन् । मंगलवार आफना भतिजोको लागि खाता खोलाउन पुगेका गौशाला नगरपालिका १२ का संजय महतोमाथि बैंकका सुरक्षागार्डले हातपात गरेका हुन् ।
प्रत्यक्षदर्शी गौशाला १२ का राजकुमार महतोले जनाए अनुसार संजयले खाता खाेल्ने सम्बन्धी जानकारी लिनको लागि बैंकको कर्मचारीसँग सोधपुछ गर्न पुगेको बेला सुरक्षागार्डले बिना अनुमती किन भित्र पसेको भन्दै हातपात गरेका थिए ।
पिडित संजयले भने, ‘आफुसँग खाता खोलाउनका लागि चाहिने सवै कागजात भएपनि वच्चाको खाता खोलाउनका लागि पटक पटक धाउँदा पनि बैंककाे काम हुन नसकेको छैन । सोही क्रममा आज पनि काम गराउनका लागि लामो समयदेखि बच्चालाई लिएर लाईनमा बसे तर अरुको काम भइ रहे पनि आफनो काम नै नबने पछि किन काम हुँदैन भनेर सोध्न जाँदा गार्डले ममाथि हातपात गरेकाे हो ।’
कर्मचारीको आदेशअनुसार आफुले संजयलाई हटाउन गएको समयमा विवाद भएको बैंकमा कार्यरत सुरक्षागार्ड रामचन्द्र सिंह कुशवाहाले बताए । उनले भने, ‘ग्राहकलाई प्रवेश निषेध गरिएको स्थानमा छिरेपछि आफुले शुरुमा सम्झाएको हुँ । तर कुरा नमानेपनि उनलाई त्यहाँबाट निकाल्नका लागि उनलाई समात्न जाँदा विवाद भएको हो । त्यसपछि दुईतर्फी घम्साघम्सी भएको हो ।’
घटना सामान्य रुपमा रहेकोले आपसी सहमतिअनुसार नै विवाद समाधान भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । तत्कालै दुईपक्षलाई वोलाएर समस्याको समाधान भएको प्रहरीले जनाएको छ ।




