धनुषा- विगत तीन वर्ष देखि पटक पटक देशको एक मात्र रेल यातायात संचालनको मिति तय भएर फेल हुँदै आएको जयनगर-जनकपुर-कुर्था रेल भोली शनिवार देखि संचालन हुने निश्चित भएको छ।
बहुप्रतिक्षित जयनगर-जनकपुर-कुर्था रेल संचालन शनिबारदेखि चल्ने हुने भएपछि उदघाटनको लागि तयारी तीव्र पारिएको छ।



प्रधानमन्त्री शेर बहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा दिल्लीबाट अनलाईन मार्फत नेपाल रेल्वेको उद्घाटन गर्ने कार्यक्रम रहेको रेल्वेका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो ।
रेल्वे उद्घाटनको लागि भारतको जयनगर स्टेशन र जनकपुरधाम रेल्वे स्टेशनलाई अहिले सजाउने कार्य तीव्र पारिएको छ । दिल्लीबाटै भर्चुअल रुपमा स्वीच अन गरी दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उदघाटन गर्ने भएपछि रेल्वे उद्घाटनको प्रत्यक्ष प्रसारण हेर्नको लागि विभिन्न आवश्यक प्रविधिहरु जडान कार्य तीव्र पारिएको छ । साथै जयनगर स्टेशनबाट उद्घाटन हेर्नको लागि दर्शकहरुको लागि टेन्ट लगाएर सजाउने कार्य समेत भइरहेको छ।
उद्घाटनका लागि जनकपुरधाम रेल्वे स्टेशन र जयनगर रेल्वे स्टेशनमा एलसीडीहरु जडान गरिएको छ भने जनकपुर रेल्वे स्टेशनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव सहित सहभागी हुनु हुने कार्यक्रम रहेको महाप्रबन्ध झाले जानकारी दिनुभयो ।

महाप्रबन्धक झाका अनुसार शनिबार दिउँसो साढे १२ बजे दुवै देशका प्रधानमन्त्रीले झण्डा हल्लाएर उद्घाटन गर्नुहुन्छ। उदघाटनको बेला जयनगर रेल्वे स्टेशनमा नेपाल र भारतका विद्यार्थीले दुवै देशको झण्डा सहित उभिनेछन् । प्रधानमन्त्री द्वयले झण्डा हल्लाएपछि रेल गुड्ने छ । विद्यार्थीहरुले पनि झण्डा हल्लाउने छन् । जयनगरबाट जनकपुरको लागि रेल छुट्छ । यो रेल प्रत्येक स्टेशनमा रोकिने छ। शनिवार रेलमा यात्रु निःशुल्क चढ्न पाउने छन् ।
महाप्रबन्धक झाले भन्नुभयो, ‘जनकपुरको पहिलाको रेल्वे स्टेसनबाट चढेर मन्त्री यादव सहित जनकपुरधामको कुर्था स्टेशन पुग्ने कार्यक्रम निर्धारण गरिएको छ। फेरि कुर्थाबाट फर्किने बेला मन्त्री यादव जनकपुरमा ओर्लिने र त्यहाँ केहीबेरको कार्यक्रम पश्चात रेल जयनगर फर्किने छ।’

शनिवारको उद्घाटन पश्चात जनकपुर-जयनगर रेल नियमित संचालन हुने महाप्रबन्ध झाले बताउनुभयो ।
यता रेल संचालन हुने पक्का भएपछि जनकपुरधामको व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा फड्को मार्ने विश्वास गरिएको छ।
रेलको औपचारिक उद्घाटन नहुँदा जनकपुर जयनगर रेल फागुन महिनाभर दिनमा एकपटक यात्रु बिना जनकपुरबाट जयनगर ‘ड्रायरन’ गर्ने गरेको थियो भने रेल संचालन निश्चित नभएपछि चैत २ गतेदेखि एक दिन बिराएर यात्रुबिना जनकपुरधामको कुर्थादेखि जयनगरसम्म रेल चल्दै आएको छ।
रेल्वे अध्यादेश निष्क्रिय भएपछि उद्घाटन मिति तय हुन सकिरहेको थिएन। केही दिनअघि मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश पुनः जारी गर्नुभएपछि रेल संचालनको लागि बाटो खुलेको हो।
जयनगरदेखि कुर्थासम्म करिब ३५ किलोमिटर छ। ०७७ असोज २ गते भारतीय कोंकण रेलवे कम्पनीसँग ८४ करोड ६५ लाख रूपैयाँमा खरिद गरिएको थियो।
रेलमा दुई सेट इन्जिन सहित १० वटा बोगी छन् । दुवै बोगीले करिब १५ सय यात्रु बोक्ने क्षमताका छन्।
जनकपुर-कुर्था-जयनगरको यात्रा गर्दा यातायात व्यवस्था कार्यालयले नै निर्धारण गरेको भाडा दर अनुसार समान्य सिटमा प्रतियात्रु ९० रूपैयाँ र एसी सिटमा तीन सय रूपैयाँ भाडा निर्धारण गरिएको छ।
रेल चढ्न पाल्ना गर्नु पर्ने नियम
रेलमा यात्रा गर्दा र नेपाली भूमिबाट भारत प्रवेश गर्नको लागि कम्तीमा नेपाली नागरिकको पहिचान खुल्ने एक परिचय पत्र बोक्नुपर्ने नियम लागू गरिएको हो ।
जयनगर जनकपुर रेलमा यात्रा गर्दा भारतसम्म जानको लागि नेपाली नागरिकले आफ्नो परिचय खुल्ने कुनै कागजात अनिवार्य रुपमा राख्नु पर्ने महाप्रबन्धक झाले जानकारी दिनुभयो । नागरीकता प्रमाणपत्र वा पासपोर्ट वा मतदाता परिचय पत्र जस्ता नेपाली नागरीक भएको परिचय पत्र अनिवार्य बोक्नु पर्ने झाले जनाउनुभयो ।
उहाँले सुरक्षा र खुल्ला बोर्डरलाई मध्यनजर गर्दै नेपाली नागरिकले रेलको माध्यमबाट यात्रा गर्दा पासपोर्ट वा नेपाली नागरिकताको प्रमाणपत्र अनिवार्य रुपमा राख्न भनिएको जनाउनुभयो ।
भारतको रेल सुरक्षा निकायले पासपोर्ट वा नागरिकता साथमा नभएको खण्डमा कम्तीमा भोटरकार्ड राख्न भनेको छ । आकस्मिक प्रवेशको लागि भारतमा रहेको नेपालको महावाणिज्यदुतावासद्धारा जारी गरिएको फोटो सहितको सिफारिस पत्र, प्रमाणपत्र बोक्न आग्रह गरिएको हो ।
त्यसैगरी १० देखि १८ बर्षसम्मको बालबालिकाको हकमा फोटो सहितको स्कूले आईडी कार्ड हुनुपर्ने बताइएको छ ।
१० बर्षभन्दा कम उमेर समूहका बालबालिकाको हकमा आमाबुवा साथ भए कुनै पनि प्रकारको पहिचानपत्र नचाहिने जनाइएको छ ।





