जनकपुरधाम- बहुप्रतिक्षित जनकपुर जयनगर रेल्वेकाे आज शनिवार भारतको नयाँ दिल्ली स्थित हैदराबाद भवनबाट नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा अनलाइन उदघाटन गर्ने कार्यक्रम तय भएको छ ।
उदघाटन पश्चात भोलिदेखि जनकपुर जयनगर रेल यात्रुसहित नियमित सञ्चालनमा आउने छ। शुक्रबार भारत भ्रमणमा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधाधनमन्त्री नरेन्द्र मोदीले १२ बजेर २० मिनेटमा संयुक्त रुपमा भर्चुअल मार्फत बटन थिच्दै झण्डा हल्लाएर रेलको उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
रेल उदघाटनको लागि जयनगर स्टेशन र जनकपुरधाम स्टेशनलाई सजाइएको छ । दुबै स्टेशनमा भर्चुअल विधिबाट हुने उदघाटन हेर्न एलसिडी टिभी लगाइएको छ भने टेन्ट पण्डाल सहित अन्य सरसजावट गरिएको छ ।
उदघाटनका लागि सम्पूर्ण तयारी पूरा भएको नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले बताए ।
झाका अनुसार उदघाटनको बेला जयनगर रेल्वे स्टेशनमा नेपाल र भारतका विद्यार्थीले दुवै देशको झण्डा सहित उभिनेछन् । प्रधानमन्त्री द्वयले झण्डा हल्लाएपछि रेल गुड्ने छ । विद्यार्थीहरुले पनि झण्डा हल्लाउने छन् र जयनगरबाट जनकपुरको लागि रेल गुड्नेछ । रेल प्रत्येक स्टेशनमा केही समयकाे लागि राेकिदै जनकपुर सम्म आईपुग्ने छ।
महाप्रबन्धक झाले जनकपुर रेल्वे स्टेशनमा एक विशेष कार्यक्रम राखिएको बताए ।
यश कार्यक्रमलाई केन्द्रित गर्दै संघीय सरकारकी भौतीक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादव समेत जनकपुर आइपुगेकी छन् । जनकपुर रेल्वे स्टेशनमा रेल आई पुगेपछि मन्त्री यादव त्यसमा चढेर कुर्था स्टेशनसम्म पुग्ने छिन् ।
कुर्थाबाट फर्किने बेला फेरि जनकपुर स्टेशनमा मन्त्री यादव ओर्लिने र त्यहाँ केहीबेरको कार्यक्रमपश्चात रेल जयनगर फर्किने बताए ।
भोलि उदघाटनको अवसरमा यात्रुले निःशुल्क रेल चढ्न पाउने छन् ।
उदघाटन पश्चात जनकपुरधामको कुर्थास्टेशन देखि भारत विहारको जयनगरसम्म नेपाल रेलले यात्रुलाई सेवा प्रदान गर्ने छ।
शनिवार देखि सुरु हुन लागेको कुर्था–जयनगर सम्मको कुल ३४ दशमलव ५ किलोमिटरको यात्राका लागि समान्य सिटका लागि रु ९० र वातावरण अनुकुलित (एसि) सिट र सुविधा तर्फ ४ सय ५० रुपैया टिकट कायम गरिएको छ ।
जनकपुरधामबाट भने जयनगरका लागि समान्य टिकट रु ७० र एसिमा ३ सय ७० कायम गरिएको छ ।
लामो समय पश्चात रेल्वे चल्ने भएपछि स्थानीयबासी खुसी भएका छन् ।




