रोल्पा - १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी अभियोगमा वडा सदस्य पक्राउ परेका छन् । पक्राउ पर्ने त्रिवेणी गाउँपालिका–६ जुगारका ३५ वर्षीय मोहन केसी गत स्थानीय निर्वाचनमा वडा सदस्य चुनिएका थिए ।
माडीकी किशोरीलाई ललाइफकाइ करणी गरेको आरोपमा गत जेठ ३० मा केसीलाई पक्राउ गरिएको रोल्पा प्रहरीका डीएसपी विनोद घिमिरेले बताए । केसीविरुद्ध रोल्पा अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनले जनाए ।
प्रहरीका अनुसार २ वर्षयता जिल्लामा १२ जनाभन्दा बढीमाथि करणी मुद्दा दर्ता भएका छन् । अभियोग लाग्नेमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका नेता, युवा, किशोर र वृद्ध छन् । अघिल्लो वर्ष करणी मुद्दा मिलापत्र गराएको आरोपमा लुंग्री गाउँपालिकाका केही जनप्रतिनिधिलाई पक्राउ गरिएको थियो ।




