काठमाडौं- वायुसेवा सञ्चालक संघले बुधबारदेखि हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ।
मंगलबार पत्रकार सम्मलेन गर्दै संघले नियमित तथा आपतकालीन उडान बन्द गर्ने घोषणा गरेको हो। संघले हवाई क्षेत्रमा रहेका समस्याको दीर्घकालनीन समाधानसहित पाँच बुँदे माग राखेको छ। माग पूरा नभएसम्म उडान रोक्ने संघले जनाएको छ।
विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत कायम गर्नुपर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनुपर्ने संघको माग छ।
यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नियमानुसार विमान सेवा कम्पनीहरुले निर्माण गरी हवाई सेवाका लागि प्रयोग गरिरहेका स्थान तथा संरचनाहरुलाई यथावत् राखी प्रयोगका लागि निरन्तरता प्रदान गर्न पनि संघले माग गरेको छ।





