जनकपुरधाम- धनुषा सहित सम्पूणर् मिथिला क्षेत्रमा नव विवाहिता महिलाले मनाउने पर्व ‘मधुश्रावणी पर्व’ आज देखि सुरु भएको छ ।
साउन शुक्ल पञ्चमी तिथिका दिनदेखि सुरु हुने मधुश्रावणी पर्व नव विवाहिताहरुले १३ दिनसम्म पतिको दीर्घायूको कामना गर्दै मनाउने गर्दछन् ।



मुख्य रुपमा मैथिल समुदायका ब्राह्मण, कायस्थ र स्वणर्कार जातीका नव विवाहिता महिलाहरुले धार्मिक एवं सांस्कृतिक रुपमा यो पर्व हर्षोल्लासका साथ मनाउने गर्दछन् ।

पण्डित इन्द्रकान्त झाका अनुसार आजदेखि सुरु भएको मधुश्रावणीको १३ दिनसम्म चल्ने यस पर्वमा नव विवाहिता महिलाहरु भगवान शिव र विषहरा (नाग देव) को पूजा गर्ने गर्छन् ।
नव विवाहिताहरुले आफ्नो श्रीमानको दीर्घायूको कामना गर्दै सुखी जीवन यापनको लागि पूजा गर्ने गर्छन् । पञ्चमी तिथिबाट सुरु भएको यो पर्वमा आज माटो एवं गाईको गोबरको कलात्मक ढङ्गले नाग, नागिनको मूर्ति बनाएर विधिपूर्वक पूजा-अर्चना गरी शुभारम्भ गरिन्छ ।
पण्डित झाका अनुसार साउन शुक्ल पञ्चमी तिथिका दिनदेखि मधुश्रावणी सुरु भई १३ दिनपछि कृष्ण पक्षको पञ्चमी तिथिका दिन सम्पन्न हुने गर्दछ । यो १३ दिनको अवधिमा पहिलो पञ्चमीलाई मैनापञ्चमी र अन्तिम पञ्चमीलाई मधुश्रावणी भन्ने गरिन्छ ।
यस पर्वमा नव विवाहिताहरुको आ-आफ्नो ससुराली पक्षबाट नयाँ बस्त्र लगायतका खानेकुराका साथै पूजाका लागि आवश्यक पर्ने सामग्री पठाउने पौराणिक परम्परा रहेको छ । मन्दिप झा भन्छन्, ‘यस अवधिमा ससुरालीबाट आएका अन्न नै ग्रहण गर्नुपर्ने र नियम निष्ठाका साथ बस्नुपर्ने परम्परा छ ।’
यस पर्वको विभिन्न कथाको सम्बन्धमा जानकारी राख्ने महिलाले प्रत्येक दिन कम्तीमा एउटा कथा सुनाउने चलन छ । टोलभरीका महिला एक स्थानमा जम्मा भई ध्यानपूर्वक कथा श्रवण गर्ने र पूजाको अन्त्यमा धार्मिक एवं पर्वसँग जोडिएका गीत गाउने चलन छ ।

पहिलो दिन नाग-नागिन देवी देउताको पूजा गरी शुभारम्भ गरेपछि दोस्रो दिन महादेवको मानस पुत्री बिहुलाको कथा, बिसहराको कथा, मङगला गौंरीको कथा र तेस्रो दिन पृथ्वीको जन्म र समुद्र मन्थन कथाका बारेमा जानकारी गराइन्छ ।
त्यसपछि, क्रमिक रुपमा सतीको कथा, पतिब्रताको कथा, महादेवको परिवारको कथा, गङ्गाकी कथा, गौंरी अर्थात् पार्वतीकी जन्म, तपस्या, र विवाह, गौंरीकी माता मैनाकी मोहभङ्गको सम्बन्धमा नव विवाहितालाई जानकारी गराइन्छ ।
त्यस्तै, कात्तिक र गणेशको जन्म, सन्ध्याको विवाह र लिलीको जन्म, विवाह, पतिब्रता सुकन्याकी कथा, बाल वसन्त, गोसाउनीको कथा, राजा किरकको कथा र गणेशद्वारा सोहागको मन्थन र वितरणको सम्बन्धमा जानकारी गराइन्छ ।
मधुश्रावणी पर्वको अन्तिम दिन नव विवाहिता महिलालाई भोज खुवाउने परम्परा छ । उक्त भोजभतेर नव विवाहिताको ससुरालीको पक्षबाट गर्ने चलन छ ।

समापनका दिन नव विवाहिताको घुंडामा बलिरहेकोे दियोले पोल्ने चलन छ । श्रीमानले आखा छोप्छन् अनि घर परिवारका अन्य महिलाहरु दुबै घुंडामा पानको पात राखी दियोले पोल्ने गर्छन् ।
भनिन्छ नव ववाहिताको घुंडामा जति ठुलो फोंका उठ्छ,उसको भाग्य त्यतिकै राम्रो हुन्छ । उसको श्रीमान त्यतिकै दीर्घायु हुन्छन्। यद्यपि यो उपक्रम कष्टशाध्य छ तर नवविवाहिताहरु वडो उत्साहका साथ यस विधिमा सहभागी हुन्छन् । डाम्ने वेला परिवारका अन्य महिलाहरु मधुर गीत गाएर दुःख घटाउने प्रयाश गर्छन्
कमल नयनपर पानक पटदय
नागर जखन हे झाँपय ।
बद्ध करी हाथ कमल कर वाती,
देखि सगर तन कापय ।
आजु सुहागिनी सहमलि बैसलि
मुख किए पडलि उदासे ।
बड अजगुत थिक मधुश्रावणी विधि
परम कठिन ईहो रिते ।।
अर्थात मधुश्रावणी पर्वको यो विधि अत्यन्त कठिन छ । अचम्म लाग्दो छ । यस वर्ष मधुश्रावणी पर्व मनाउने सुरुवात गरेकी क्षीरेश्वरनाथ नगपालिका ५ महेन्द्रनगरकी खुश्वु साह टेमी दाम्ने विधिसंग अलि भयभीत छिन् । उनले भनिन्, ‘कस्तो होलो के होला भनेर अहिल डराएकी छु तर एक किसिमको कौतुहलता पनि छ मनमा, अलिकति कष्ट सहेर जीवनमा सुख हुन्छ भने किन न गर्ने भन्ने विश्वास पनि छ? ’
केही महिला अधिकारकर्मीहरुलाई यस सांस्कृतिक विधानलाई महिला हिंसासंग जोडेर व्याख्या गरे पनि संस्कृतिविद डा.रेवतीरमण लाल भने यस विधिलाई मिथिला संस्कृतिको उत्कर्ष मान्नु हुन्छ- ‘यो महिला हिंसा होईन , गृहस्थी जीवनमा प्रवेश गरेकी महिलाको सजिलो परीक्षा हो । परिवारको जिम्मेवारी वहन गर्ने क्रममा जुनसुकै समस्याको पनि सामना गर्न सक्छु भन्ने आत्म विश्वास जागृत गर्न यस पर्वको आयोजन गरिएको हो’ कणर्ले भने ।
मिथिलाञ्चलका ब्राह्मन र कायस्थ समुदायका महिलाहरुले मात्र मनाउने यस पर्व अहिले अन्य समुदायका नव विवाहिताहरुले मनाउन थालेका छन् ।
यस्तो छ विधि
श्रावणकृष्ण पञ्चमीदेखि श्रावण शुक्ल तृतीयासम्म मधुश्रावणी पर्व मनाउँने गरीन्छ । मधुश्रावणीको प्रारम्भसंगै व्रति महिलाहरु नजिकको वाग वगैचाबाट सन्ध्या फूल बुट्यान संकलन गर्ने अनि त्यसैबाट विहान वेलुका पूजा गर्छन् ।
यस अवधिमा जनकपुरको रामजानकी विवाह मण्डप,राममन्दिर अगाडीको फूलवारी,याज्ञवल्क्य संस्कृत विद्यालय परिसर सहितका फूलवारीहरुमा महिलाहरुको चहल पहल बढेको देखिन्छ ।
यस पर्वको सबभन्दा आकर्षक पक्ष भने ’फूललोढव’ अर्थात फूल संकलन गर्नु नै हो । सोह्र श्रृंगारमा सजिएकी नव विवाहिताहरु आ-आफ्ना साथी सहेलीसंग नित्य अपरान्ह फूल संकलन गर्न जान्छन् । मधुर गीत गाउँदै घरबाट निस्किने मैथिलानीहरुको यो टोली नजिकको वाग वगैचा वा फूलवारीमा पुगी विभिन्न जातिका फूल,पात र वुट्यान संकलन गर्छन् ।

संकलित फूल-पातलाई आकर्षक ढंगले डालामा सजाउँछन् । यस क्रममा मधुर लोकगीतको अटूट निरझरनी प्रवाहित भई रहन्छ ।
मिथिला संस्कृतिको जानकार पूनम चौधरीको अनुसार नवविवाहित जोडीलाई विषहर(सर्प)को जन्म, विहुलाको कथा, मंगला गौरीको कथा, पृथ्वीको जन्म, समुद्र मंथन, सतीको कथा, महादेव परिवारको कथा, गौरी जन्म, गौरी तपस्या, गौरी विवाह, वाल वसन्त, गणेश जन्मआदिका कथा श्रवण गराईन्छ । कथाहरुको माध्यमले नव विवाहित जोडीलाई घर- गृहस्थीको विषयमा जानकारी गराईन्छ । विधकरी (पूजा विधि सिकाउाने महिला)ले नवजोडीलाई यौन शिक्षा समेत दिन्छन् ।




