
-मिश्रा देवी कार्की
हामी मानव यो जगतमा सबै प्राणीमध्ये सर्वश्रेष्ठ मानव प्राणी हौं। मानव जीवनसँगै सृष्टि क्रममा जन्म र मृत्युको बीचमा हामीले गर्ने विभिन्न कर्मकाण्ड एवं रीतिरिवाजहरू छन्। तिनी परम्परा अनुसार आ आफ्नो रीतिरिवाजमा रहेर उमेर पुगेका नारी र पुरुष कर्मकाण्ड पुरा गर्दै विवाह बन्धनमा बाँधिन्छन्। विवाह जीवनको एक महोत्सव पनि हो। जहाँ अपरिचित व्यक्तिलाई अथाह प्रेममा विश्वास गरिन्छ। यही महोत्सवको माध्यमबाट संसारको निरन्तरता अगाडि बढी रहेको छ।
तर केही दिन अघि मैले दाईजो न पुगेको कारण सर्लाहीमा आफ्नै श्रीमान द्वारा मारिएकी एक नारीको खबर सामाजिक संजालमा विभिन्न न्यूजले छापेको पढें । त्यो समाचार पढदा मलाई के अनुभव भयो भने मानिसले किन मानवीयता भूलेर खाली नाफामा आफुलाई जिन्दगी चलाउन खोजी रहेका छन्? यदी नाफाको जिन्दगी चलाउने सोच थिएन भने किन आफ्नै अर्धाङ्गिनी मार्न सक्छ? त्यो श्रीमान् पति परमेश्वर भनाउँदाले!!!
पश्चिममा देशहरूमा उनीहरूको सभ्यता अनुसार विवाह एक सम्झौता हो भन्ने गरिन्छ तर हाम्रो देशमा विवाह एउटा संस्कार हो। संस्कार र सम्झौता भन्ने शब्द नै फरक हुन। यहाँ निर तराईमा यस्ता घटना पटक पटक घटी रहेको सुन्दा र देख्दा अझै पनि त्यस्ता परिवारले विवाहलाई मोलमोलाईको सम्झौता गरेको र त्यो अनुसार आफुले दाईजो नपाए पछि श्रीमतीको बाच्न पाउने अधिकारलाई नै समाप्त पारी दिन सब भन्दा पहिलो प्रहार श्रीमानले गर्छन्।
अहिले सर्लाहीमा भएको घटनामा संलग्न पहिलो व्यक्ति श्रीमान, ससुरा र देवर भएको पुष्टि भै उनीहरू तीनै जनालाई सार्वजनिक गरेको तस्विर सहित समाचार आई रहेको छ। उनीहरू तीन जनाले एक जना बीस वर्षकी कलिलो उमेरमा जीवनको थुप्रै सपना देखेर बसेकी आफ्नै परिवारकी सदस्यलाई सम्झौता अनुसार सम्पत्ति ल्याउन नसकेको भनेर मारी दिए। के सम्झौता नै हो त विवाह?
नारी र पुरुष एक रथका दुई पाङ्ग्रा हुन भनिन्छ। एउटा विना अर्को शून्य हुन्छ भन्ने चलन पनि छ र वास्तविकता सत्य पनि हो। नारी र पुरुषको भौतिक मिलनबाट वंशनुगत सन्तान प्राप्त हुन्छ। त्यस संगै सुख र अध्यात्मिक खुशी पनि प्राप्त हुन्छ। त्यसैले पनि विवाह सम्झौता होइन संस्कार हो।
कुनै पनि परिवारले आफ्नो परम्परागत धर्म संस्कार अनुसार विवाह गर्नु भन्दा अगाडि आफुलाई राम्रो संग बुझेर कस्तो परिवारको छोरी मेरो छोरालाई विवाह गरेर बुहारी ल्याउँदा मेरो हैसियत बराबरको दाईजो आउँछ अथवा मैले छोरी दिंदा अर्को केटा पक्षले गरेको माग जुन दाईजो भनिन्छ नि त्यो दिन सक्ने आर्थिक क्षमता छ की छैन त्यो बुझ्न र विचार गर्न एकदमै जरुरी छ।
सुचना प्रविधिको विकास संगै कानुनले दाइजोको बारेमा लेखे पनि, समाजले दाईजो बहिष्कार गर्नुपर्छ भने पनि एउटा कुण्ठित मानसिकता बोकेको मान्छेको सोचलाई परिवर्तन गर्न र गराउन नसक्दा आज सम्म पशुलाई जस्तै मोलमोलाई गर्दै आफ्नो रगत अरुलाई बेच्नु पर्छ अनि भने जति भएन भने यसरी मारिएर खाल्डोमा कुहिएर सबै मांसपेशी छुट्टिएर खाली मानव कंकाल मात्र बाँकी रहेको आफ्नो रगतलाई खाल्डो बाट निकालेर निरयही भएर कालो प्लास्टिकले बेरेर कीन जन्म दिने बाबाले बोक्नु पर्छ त? "डोलीमा गएकी निसा यादव कालो बोरामा बाँधिएर आइन" भन्ने जुन समाचार पढें म एकदमै भावुक भएं । के यही नै हो त सन्तानको लागि गर्नु पर्ने जिम्मेवारी आमा बाबुले!?
विवाह नारी र पुरुष बीच बलियो सम्बन्धको गाँठो स्थापित गराइ पारिवारिक जीवनमा प्रवेश गराउने एक सामाजिक मूल्य मान्यतामा आधारित एक प्रक्रिया हो ।विवाहको परिणामस्वरुप नारी पुरुषमा धेरै दायित्व सृजना हुन्छ । यस्तो गहन दायित्व बहन गर्न नारी तथा पुरुष आर्थिक, मानसिक तथा भावनात्मक रुपमा पूर्ण विकसित भएको अवस्थामा मात्र सक्षम हुन्छन् । मानव जीवनको विकासक्रमलाई हेर्दा शारीरिक, मानसिक तथा सामाजिक विकास पूर्ण हुन जरुरी छ।
पितृसतातमक सामाजिक संरचनामा महिलालाई हेर्ने दृष्टिकोण र धारणा फरक भएकै कारण महिला हिंसा बढी हुने गर्छन्। यस्ता दरदरनाक र मानवअधिकार नै नभएको भन्ने चुनौती पूर्ण हिंसात्मक गतिविधिमा संलग्न मानिसहरूले हाम्रो समाजमा अझै पनि महिलालाई पुरुष भन्दा तल्लो स्तरको केही निर्णय गर्न नसक्ने र व्यक्तिगत जीवनसँग सम्बन्धित न्याय माग्ने निर्णयहरू गर्ने क्षमता बाट समेत पाखा लगाई रहेको देख्दा चाहिँ लाग्छ अझै यहाँ मानसिक संवेदनशील भन्ने कुरा विषय नै बनाएर अध्ययन गराउनु पर्नेछ। यही बेलामा प्रदेश सरकार र स्थानीय तहको सरकारलाई सबैले ध्यानाकर्षण गराउन सक्नुपर्छ।
नारी पनि मानव हुन् सृष्टि कर्ता आमा हुन्। त्यसैले पनि सके सम्मान गर परिवारमा खुशी देउ सक्दैनौँ त यसरी न मार मानवलाई मानव भएर धर्तीमा बाँच्नु उसको नैसर्गिक अधिकार हो। मानव अधिकारको सिद्धान्त अनुसार उसले आफ्ना सबै अधिकारहरूको उपभोग गर्दै पुरुष झै समान रुपमा बाच्न पाउनुपर्छ।
कुनै जात वा सम्प्रदायको धर्म संस्कृतिले पनि नारीलाई विभेद गरेको छैन। वेद पुराण उपनिषदहरूमा पढदा पनि उच्च सम्मानका साथ नारीको महत्व भएको हुँदा आजको जस्तै युगमा पनि उनै नारी यसरी मारिएर कुहिएर सबै मांसपेशी छुट्टिएर कंकाल रहँदा सम्म समाजले थाहा नपाउनु, माइतीमा छोरी हराई भनेर घरबाट सुचना दिएर तड्पाई दिनु र अपराधीहरू निर्धक्क भई एकठाउँमा बस्नु भनेको विभेद पूर्ण राज्य व्यवस्था र लैंगिक विभेद संगै कुण्ठित मानसिकता नै हो भन्ने मलाई लागेको छ।
विवाह तपाईँको कुलको इज्जत र वंश निरन्तरताको लागि हो, पशु जस्तो मोलमोलाईको सम्झौतामा गर्ने विवाह होइन। सम्झौतामा मेल नखाँदा नै कयौं निसा आज कालो प्लास्टिकमा बेरीएर बाबुले ल्याई रहेका छन्। सम्झौतामा विवाह नगरौं दाइजोको नाममा कसैले मर्नु हुदैन यसकोे विरोध गरौं।
यो पनि पढ्नु होस् ।
डोलीमा गएकी निसा यादव कालो बोरामा बाधिएर आए