
धनुषा- जनकपुरधाम सहित मिथिलाञ्चल क्षेत्रमा आज शुक्रवार भगवान् विष्णुको बिशेष पूजा अर्चना गरी अनन्त चतुर्दशी पर्ब मनाइँदैछ ।
मैथिली समुदायमा असोज महिनाको शुक्ल चतुर्दशी तिथिमा अनन्त चतुर्दशी पर्ब मनाउने परम्परा रहेकोछ ।
यो पूजा प्रत्येक घरमा नभएर टोल छिमेकमा केही घरमा हुने र त्यहीँ पुगेर सबैले सामूहिक रूपमा पूजा गर्ने चलन छ ।
पण्डीत लालबाबु झाले घरमा जति सदस्य छन्, त्यतिवटा भगबान विष्णुको १४ नामको १४ वटा गाँठ दिएर धागोले बनाईएको अनन्त डोरा(धागो) र प्रसादी बोकेर पूजा हुने पुजा स्थलमा जाने छिमेकी, आफन्तहरू मिलेर सामूहिक रूपमा पूजा गरेर अनन्त डोरा बाँध्ने परम्परा रहेको बताउनुभयो ।
किंवदन्तीका अनुसार सत्य युगमा अमृतको खोजी गर्नका लागि समुद्र मन्थन गरिएको थियो । मन्थन गर्ने क्रममा अमृत सहित १४ रत्न फेला परेको दिनदेखि अनन्त पूजा गर्ने र हातको पाखुरामा अनन्त डोरा बाँध्ने चलन रहेको पण्डीत झाले बनाउनुभयो ।
१४ वटा रत्नको प्रतीकका रूपमा १४ वटा धागोले बनाइएको अनन्त महिलाले देब्रे र पुरुषले दाहिने हातको पाखुरामा वर्षभरि रक्षाका लागि लगाउने चलन रहेको पण्डितहरु बताउछन् ।
त्यस्तै धार्मीक शास्त्रका अनुसार जब पाण्डवहरूले जुवामा आफ्ना सारा सम्पत्ति र राजपाट हारेर वनमा कष्ट भोग्दै थिए, त्यति बेला भगवान् श्रीकृष्णले आज्ञा गरेकाले धर्मराज युधिष्ठिरले आफ्ना भाइहरू तथा द्रौपदीका साथ पूणर् विधि विधानले यो व्रत लिएर, विधिपूर्वक अनन्तसूत्र धारण गरेका थिए । अनन्त चतुर्दशीको त्यसै व्रतको प्रभावले पाण्डवहरू समस्त सङ्कटहरूबाट मुक्त भए । यस दिन अनन्तका रूपमा भगवान् बिष्णुको पूजा गरिन्छ । रुवा, रेशमी धागो वा कुशले बनाएको चौधवटा गाँठो भएको अनन्त डोरा निर्माण गरी पुरुषले दाहिने तथा नारीहरू देब्रे हातको पाखुरामा अनन्त डोरा धारण गर्ने चलन छ । कपास वा रेशमको धागो कुमकुमको रङ्गद्वारा रंगाउने गरिन्छ ।
अनन्त भनेको कहिल्यै अन्त्य नहुने हो अर्थात् भगवान विष्णु । भगवान् विष्णुको कहिल्यै अन्त्य हुँदैन ।