काठमाडौँ - समुन्नत नेपालको परिकल्पना र संविधानको रक्षा गर्दै आफ्नो नेतृत्वमा सरकार गठन गर्ने अठोटका साथ नेपाली काँग्रेसले आगामी निर्वाचनका लागि चुनावी सङ्कल्प पत्र सार्वजनिक गरेको छ ।
‘संविधानको रक्षा, स्थायित्व र समुन्नति सहितको आधार: नेपाली काँग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने मूल नारा सहित काँग्रेसले निरन्तरतामा नवीनता र समुन्नत नेपालको मार्गचित्र सहितका विषयवस्तु प्रस्तुत गरेको छ ।
काँग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशका लागि ल्याएको सङ्कल्प पत्रमा पाँच वर्षभित्र १२ लाख ५० हजार रोजगारी सिर्जना गर्ने र न्यूनतम वार्षिक सात प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्ने प्रतिबद्धता जनाएको छ ।
‘ओम्निबस’ आर्थिक सुधारको नयाँ चरण प्रारम्भ गर्दै अर्थतन्त्रमा स्वदेशी उत्पादनमूलक उद्योगको अंश पाँच दशमलव छ प्रतिशतबाट नौ प्रतिशत कायम गर्ने नीति लिइएको छ ।
काँग्रेसको प्रारम्भिक लक्ष्य तय गर्दै झन्डै ७५ वर्षअघि बिपी कोइरालाले कल्पना गर्नुभएको समुन्नत नेपालको अवधारणका आधारमा सङ्कल्प पत्र तयार गरिएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
पुँजी सङ्ग्रह र आर्थिक वृद्धि महत्त्वपूर्ण साधन हुन् तर विकासको साध्य भनेको नागरिकको स्वतन्त्रता, सक्षमता र सबलीकरण नै हो भन्दै काँग्रेसले समुन्नत नेपाल बिपी कोइरालाकै समतामूलक समाजको परिकल्पनाको विस्तारित व्याख्यालाई सङ्कल्प पत्रमा उल्लेख गरेको छ ।
क्षेत्रगत प्राथमिक एजेन्डाका रुपमा समग्र शिक्षा प्रणालीलाई आर्थिक–सामाजिक रूपान्तरण गरी सबै नागरिकलाई सक्षम, सबल र स्वाभिमानी बनाउने काँग्रेसको लक्ष्य छ ।
गुणस्तरीय शिक्षाको सुनिश्चितता नभएको, प्राविधिक शिक्षा सबैको पहुँचमा नपुगेको र सूचना प्रविधिको तीव्र तर बदलिँदो अवस्था र प्रयोगलाई मध्यनजर गर्दै २१औँ शताब्दीले आत्मसात् गरेको सिकाइ पद्धति अपनाएर वर्तमान शिक्षा प्रणालीमा आमूल परिवर्तन गर्ने काँग्रेसको प्रतिबद्धता छ ।
काँग्रेसले पाँच वर्षभित्र सिकाइको सङ्कटको मापन संस्थागत गर्ने, महिला (१५–२४ वर्ष) साक्षरता दर ९५ प्रतिशत पुर्याउने, इन्टरनेट सेवा पुगेका शैक्षिक संस्था ८० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ ।
कक्षा ११ मा भर्ना हुने दर कम्तीमा ५० प्रतिशत पुर्याउने, पाठ्यक्रममा प्राविधिक र व्यावसायिक सीप ४० प्रतिशत, पाठ्यक्रममा प्राविधिक र व्यावसायिक सीप ४० प्रतिशत बनाउने काँग्रेसले नीति अघि सारेको छ ।
विगतमा लिएको स्वास्थ्य नीतिका कारण नेपालले जनस्वास्थ्यका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको ठहर गर्दै काँग्रेसले गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको पहुँच स्थापित गर्न नेपालको संविधान र मुलुकको आवश्यकता अनुरूपको जनता केन्द्रित एकीकृत राष्ट्रिय स्वास्थ्य प्रणाली विकास गर्ने सङ्कल्प लिएको छ ।
वृद्धभत्ता ६५ वर्षमै
नेपाली कांग्रेसले ज्येष्ठ नागरिक भत्ता ६५ वर्षमै दिने घोषणा गरेको छ । शनिबार सार्वजनिक घोषणापत्रमा वृद्धभत्ता दिने उमेर क्रमश: ६५ वर्षमा झार्ने उल्लेख गरिएको छ ।
कांग्रेस नेतृत्वको वर्तमान सरकारले चालु आर्थिक वर्षको बजेटदेखि ६८ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिँदै आएको छ। तर कांग्रेसले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि सार्वजनिक गरेको घोषणापत्रमा ६८ वर्ष गेकालाई दिइने ज्येष्ठ नागरिक भत्ता क्रमश: ६५ वर्षमा झारिने उल्लेख गरिएको छ ।
कांग्रेसले ६५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको छ । त्यस्तै ७३ वर्ष पुगेकाहरुको उपचार निशुल्क गर्ने घोषणा पनि गरेको छ।
शिक्षा
– सिकाइको सङ्कटको मापन संस्थागत
– महिला (१५–२४ वर्ष) साक्षरता दर ९५ प्रतिशत
– इन्टरनेट सेवा पुगेका शैक्षिक संस्था ८० प्रतिशत
– कक्षा ११ मा भर्ना हुने दर कम्तीमा ५० प्रतिशत
– पाठ्यक्रममा प्राविधिक र व्यावसायिक सीप ४० प्रतिशत
स्वास्थ्य
यसैगरी, कांग्रेसले विगतमा लिएको स्वास्थ्य नीतिका कारण नेपालले जनस्वास्थ्यका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ । तर, जनशक्ति उत्पादन र पूर्वाधार निर्माणमा व्यापक वृद्धि भए पनि सहज पहुँच र गुणस्तरको क्षेत्रमा धेरै काम गर्नुपर्ने कांग्रेसको निर्वाचन घोषणापत्रमा उल्लेख छ ।
३–७३ : ३ वर्ष मुनि र ७३ वर्षमाथिका नागरिकलाई निःशुल्क उपचार
– नसर्ने रोगबाट हुने मृत्युदर एक तिहाइ
– औसत आयु ७३ वर्ष
– मातृ मृत्युदर ८० (प्रति १ लाख जीवित जन्म)
– स्वास्थ्य बीमित हुने सङ्ख्या १०० प्रतिशत
– बाल कुपोषण (पड्कोपना) २० प्रतिशत
उद्यम, रोजगारी र निजी क्षेत्र
दक्षिण एसियाली छिमेकीहरूको दाँजोमा हाम्रो औसत उत्पादकत्व वृद्धि दर न्युज रहेको छ । सुधारको अपेक्षा सर्वव्यापी भए पनि लगन नघटाई, उद्यम–आबद्ध जनशक्तिको क्षमता नबढाई र संस्थागत सहजतालाई शासकीय संस्कारकै अङ्ग नबनाई लगानी आकर्षित गर्न नसकिने निर्वाचन घोषणापत्रमा उल्लेख छ ।
– पाँच वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी
– न्यूनतम वार्षिक ७ प्रतिशत आर्थिक वृद्धि
– ‘ओम्निवस’ आर्थिक सुधारको नयाँ चरण
– अर्थतन्त्रमा स्वदेशी उत्पादनमूलक उद्योगको अंश ५६ प्रतिशतबाट ९ प्रतिशत
नेपाल श्रमशक्ति सर्वेक्षणले परिभाषित गरेको पछिल्लो आँकडा अनुसार नेपालमा करिब ७० लाखभन्दा बढी जनसङ्ख्या विभिन्न प्रकारका रोजगारी र स्वरोजगारमा आबद्ध छ ।
विज्ञान, प्रविधि सञ्चार र डिजिटलाइजेशन
नयाँ प्रविधिको विकासले अहिले विश्वमा समाज र बजारको सन्निकटता बढेको छ । प्रतिकूल भौगोलिक अवस्था भएको नेपालले आफ्नो उत्पादनहरूलाई बजारमा प्रतिस्पर्धी बनाउन नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने छ ।
– निर्यातमुखी डिजिटलाइजेशन लगायत सूचना सञ्चार क्षेत्रमा दुई लाख युवा संलग्न
– टेलिमेडिसिन केन्द्रको स्थापना र सातै प्रदेशमा सूचना ज्ञान पार्क स्थापना
– सबै स्थानीय तहलाई उच्च गतिको इन्टरनेट नेटवर्कको पहुँच
जलवायु परिवर्तन र वातावरण संरक्षण
विगत २०० वर्षअघि विधिवत् सुरु भएको औद्योगिक क्रान्तिसँगै निरन्तर बढेका आर्थिक गतिविधिका कारण जलवायु परिवर्तन भई वातावरणीय सन्तुलन र विविधता, भौगोलिक सुन्दरता र जीविकोपार्जनमा गम्भीर असरहरू देखिन थालेको छ । जलवायु परिवर्तन र वातावरण संरक्षणमा कांग्रेसले पाँच वर्षे लक्ष्य लिएको छ ।
– सन् २०४५ सम्म शून्य कार्बन (नेट जिरो) लक्ष्य अनुरूप हरित अर्थतन्त्र रोडम्याप प्रारम्भ
– विद्युतीय सवारी साधन र चुलोको प्रयोग ५० प्रतिशत
– वन ढाकेको क्षेत्रफल कूल ४७ प्रतिशत
– जलवायु परिवर्तन अनुसन्धान केन्द्र स्थापना
कृषि
नेपालको कूल गार्हस्थ्य उत्पादनमा उल्लेख्य योगदान गर्ने कृषि क्षेत्र बहुसङ्ख्यक नेपालीको रोजगारी, खाद्य तथा पोषण सुरक्षाका प्राथमिक आधार हो । नेपाली कांग्रेसले अङ्गीकार गरेका नीतिहरू (जस्तै, बिर्ता उन्मूलन, नेपाल कृषि अनुसन्धान परिषद्को स्थापना, दीर्घकालीन कृषि नीति र भू उपयोग नीतिको तर्जुमा) लगायतका कारण कृषकहरुके सिँचाई, मल बिउ तथा ऋण आदिमा पहुँच बढेको उल्लेख गरेको छ ।
– खाद्यान्न उत्पादकत्वमा वृद्धि
– तरकारी, फलफूल, माछा, मासु, दूध, मसला एवम् औद्योगिक बालीमा आत्मनिर्भर
– नगदे वाली र जडीबुटीको निर्यात दोब्बर
– खाद्य असुरक्षा सूचकाङ्कमा प्रगति
– भू उपयोग नीति अनुसार भूमिको वर्गीकरण
– कृषि मल कारखाना स्थापना
भौतिक पूर्वाधार
सबै नेपालीलाई एक आपसमा जोड्न, उपलब्ध सेवाहरूमा सहज पहुँच बढाउन, सहर र गाउँबीचको असमान विकास कम गर्न पूर्वाधारलाई उच्च प्राथमिकतामा राखिएको छ । नेपालमा दिगो, दरिलो र गुणस्तरीय पूर्वाधार विकार गरी स्वदेशी उत्पादन र सेवाको लागत घटाउन सकिन्छ ।
– आधा घण्टाभित्र पक्की सडक पुग्ने जनसङ्ख्या ७५ प्रतिशत
– सुरक्षित घरमा बसोबास गर्ने परिवारको सङ्ख्या ५५ प्रतिशत
– राष्ट्रिय गौरवका सबै निर्माणाधीन आयोजनालाई सम्पन्न
ऊर्जा र जलस्रोत
नेपालको ऊर्जा उत्पादनमा पूर्वाधार र प्रसारण लाइन निर्माणमा सुस्तता रहेकाले उपलब्ध जलस्रोतको अधिकतम सदुपयोग गर्न सकिएको छैन । हिउँदमा अझै विद्युत् र ठूलो रकममा खनिज तेलको आयात गर्नुपरेको छ ।
– विद्युतीय ऊर्जाको उत्पादन १००००मे.वा
– प्रति व्यक्ति विद्युतीय ऊर्जा खपत १२०० युनिट
– ४०० के.भी.को पूर्व–पश्चिम प्रसारण लाइन सम्पन्न
पर्यटन
आधुनिक पर्यटन वैदेशिक मुद्राको स्रोत, रोजगारी सृजना र आय आर्जनका दृष्टिकोणले सदा वृद्धि भइराखेका धेरै कम उद्योगहरू मध्यको एक हो ।
– पाँच वर्षमा वार्षिक २० लाख पर्यटक
– दैनिक पर्यटक खर्च १०० डलर
– कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको प्रत्यक्ष योगदान ५ प्रतिशत
कला, संस्कृति र खेलकुद
संस्कृति, कला, सङ्गीत, रङ्गमञ्च, चलचित्र, खेलकुद आदि क्षेत्रले नेपाली राष्ट्रिय भावना अभिवृद्धि गर्नुका साथै नेपाली मूल्य–मान्यताको जर्गेना गर्दछ भन्ने मान्यता नेपाली कांग्रेसको छ ।
– स्रष्टा–सर्जकहरूको वृत्ति–विकास
– प्रदेश स्तरीय सांस्कृतिक सङ्ग्रहालय एवम् आदिवासी–जनजातिहरूको भाषा, साहित्य, संस्कृतको संरक्षण र संवर्द्धन
– उदीयमान तथा व्यावसायिक खेलाडीहरूमा व्यापक लगानी
एकीकृत सामाजिक सुरक्षा : कोखदेखि शोकसम्म
नेपाली कांग्रेसले परिकल्पना गरेको समतामूलक र न्यायपूर्ण समाजमा नागरिकको जन्मदेखि मृत्युसम्म सामाजिक सुरक्षाका दृष्टिले राज्यका केही निश्चित आर्थिक तथा सामाजिक दायित्व हुन्छ ।
त्यसैले कांग्रेसले सस्तो लोकप्रियताका लागि सामाजिक सुरक्षाका खुद्रे वितरणमुखी कार्यक्रममा होइन, प्रत्येक नेपाली नागरिकले सम्मानित जीवनयापन गर्न सक्ने गरी एकीकृत सामाजिक सुरक्षा अवधारणमा विश्वास गर्ने निर्वाचन घोषणापत्रमा उल्लेख गरेको छ ।
हेर्नुहोस् पूर्णपाठ




