जनकपुरधाम। ‘शि’ ले शिखरमा लैजाने मान्छे, ‘क्ष’ ले क्षमा गर्ने ब्यक्ति र ‘क’ ले कमजोरी दूर गर्ने व्यक्तिलाई समग्रमा ‘शिक्षक’ भनिन्छ ।
शिक्षक र विद्यार्थी एक अर्कासँग सम्बन्धित हुन्छन् । शिक्षक बिना विद्यार्थीको र विद्यार्थी बिना शिक्षकको अस्तित्व रहँदैन । शिक्षक र विद्यार्थी नै यो देशका असली आधार स्तम्भ हुन् । विद्यार्थीहरू घर हुन् भने शिक्षक उक्त घर निर्माण गर्ने मिस्त्री । तसर्थ शिक्षक र विद्यार्थी बिचमा नङ र मासुको जस्तो घनिष्ट सम्बन्ध हुन्छ ।



सही शिक्षा आमाबाबु र शिक्षकबाट सुरु हुन्छ । त्यसैले शिक्षाका समस्याको समाधान पनि केटाकेटीमा नभई तिनका बाबुआमा र शिक्षकहरूमा खोज्नुपर्छ । घरमा त बालबालिकाले आमा, बुबा, दादा, दिदी, नाना, पापा आ–आफ्नो भाषा तथा संस्कार अनुकूलका शब्द उच्चारण गर्न सिक्लान् तर वास्तविक जीवन निर्वाह तथा भविष्य निर्माणका व्यवहारिक कुराहरू विद्यालयबाटै सिक्ने गर्दछ्न् । तर, जब यी सबै कुरा सिकाउने गुरु नै यदि पथभ्रष्ट भईदियो भने एकपटक सोच्नुस् त हाम्रो समाजले कस्तो मोड लेला?
विद्यार्थीलाई सही मार्गदर्शन र मद्दतको खाँचो हुन्छ । तर मार्गदर्शक नै भ्रान्त, सङ्कीर्ण र मतान्ध भईदियो भने उसको शिष्य पनि त्यस्तै हुन्छन् नि? यस्तो अवस्थामै शिक्षा अझ ठूलो भ्रान्ति र कलहको कारण बन्न सक्छ कि?
केही दिनअघि धनुषामा एउटा यस्तै शर्मनाक घटना घटेको छ । तपाईंले यस घटनाकोबारेमा सुन्दा शिक्षक पनि अब यस्ता हुन्छन् त भन्ने अनेकन सवाल तपाईंको मनमस्तिष्कभित्र गुन्जिन सक्छन् ।
धनुषाको एक सामुदायिक विद्यालयमा कक्षाकोठा भित्रै एकजना शिक्षकले विद्यार्थीलाई अश्लिल भिडियो देखाएको घटना बाहिरिएको छ ।
जिल्लाको मिथिला विहारी नगरपालिका वडा नम्बर–४ स्थित कजरा रमौलमा रहेको एक विद्यालयमा गणित र विज्ञान पढाउने शिक्षकले विद्यार्थीलाई कक्षाकोठामै अश्लिल भिडियो देखाएको घटना बाहिरिएको हो ।
सो विद्यालयको कक्षा ८ मा अध्यापन गराउन पुगेका ५० वर्षीय शिक्षक विनोद यादवले विद्यार्थीलाई अश्लिल भिडियो देखाएका हुन् ।
यादव कक्षा १२ सम्म गणित र विज्ञान विषय पढाउँछन् । यो घटना १० दिन अगाडी नै सो विद्यालयमा भएको थियो । सो शिक्षकले अश्लिल भिडियो विद्यार्थीलाई देखाईरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
घटना बाहिरिए लगत्तै स्थानीयले शिक्षकलाई कारबाही गर्नु पर्ने माग गरिरहेका छन् । शिक्षकलाई बुधबार धनुषाधाम प्रहरीले पक्राउ समेत गरेको थियो । तर, राजनीतिक दवाबका कारण उनलाई छाडिएको स्थानीयको भनाइ छ ।
बिना कारबाही शिक्षक यादवलाई छोडिएपछि बिहीबार सो विद्यालयको अवस्था तनावग्रस्त बन्न पुग्यो । यद्यपि प्रहरीले अहिले त्यहाँको अवस्था साम्य पारेको छ ।
यता शिक्षक यादवबिरुद्ध कुनै प्रकारको उजुरी नआएकाले पक्राउ गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए ।




