जनकपुरधाम- उपराष्ट्रपति नन्दबहादुर पुनले जनयुद्ध दिवसको नाममा सरकारले बिदा दिएर नेपाली राजनीतिमा जनयुद्धले पुर्याएको योगदानको सम्मान गरेको बताएका छन् ।
सोमबार जनयुद्ध दिवसको अवसरमा मधेशको गृह तथा सञ्चार मन्त्रालय अन्तर्गतको शहीद प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले सोमबार सार्वजनिक विदा दिनुले गणतन्त्र प्राप्तिका लागि बगेको रगत र पसिनाको सम्मान भएको धारणा व्यक्त गरे।
उनले भने, “आज संघीय सरकारले दिएको बिदाले नेपाली राजनीतिमा जनयुद्धले पुर्याएको योगदानको कदर गरेको छ। गणतन्त्र प्राप्तिका लागि बगेको रगत र पसिनाको सम्मान भएको छ। यसमा कसैले पनि पूर्वाग्रह राख्नु उचित हैन। संघीय सरकारले सार्वजनिक बिदा दिनुअघि नै मधेश, वागमती र कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएर जनयुद्ध दिवस मनाउने तयारी गरेको थियो ।”

उपराष्ट्रपति पुनले संविधानलाई परिष्कृत परिमार्जन तथा संशोधन गरेर समृद्ध बनाउन र पूणर् कार्यान्वयन गर्न अझै धेरै मेहनत गर्नुपर्ने पनि बताए ।
बृहत शान्ति सम्झौता भएको १६ वर्ष बितिसक्दा पनि शान्ति प्रक्रिया निष्कर्षमा पुग्न नसकेको गुनासो उपराष्ट्रपति पुनले व्यक्त गरे। उनले भने, ‘संघीयता, समानुपातिक तथा धर्मनिरपेक्षता जनयुद्धको उपलब्धी हो । तर शान्ति प्रकृया निष्कर्षमा पुग्न नसक्दा तथा वेपत्ता पारिएकाहरुको छानबिन प्रकृया अझै पनि टुंगोमा पुग्न सकेको छैन।’
‘शान्ति सम्झौताको मुख्य दुईवटा काम अझै बाँकी छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ताको छानबिन आयोगले गर्नुपर्ने काम सम्पन्न गर्न सकिएका छैनन्’, उपराष्ट्रपति पुनले भने, ‘शान्ति प्रक्रियाको यो काम टुंगोमा पुर्याउनका लागि म संघीय सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु । शान्ति सम्झौताको बाँकी कामलाई छिटो टुंगोमा पुर्याउनुस् ।’
कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयता विरोधी अभिव्यक्ति दिने दलका नेताहरुलाई संघीयता विरोधी अभिव्यक्ति नदिन चेतावनी दिएका थिए । उनले भने, “संघीयता कसैले भिख मागेर दिएको होइन । यसको प्राप्तिको लागि मधेसले ठूलो बलिदान दिएको छ । जबसम्म मधेस र मधेसी रहन्छन् संघीयतालाई कसैले मास्न सक्दैन ।”
मुख्यमन्त्री यादवले संघीय सरकारले प्रदेशहरुलाई अधिकार दिन नचाहेको गुनासो समेत गरेका थिए । संघीय सरकारले प्रहरी र निजामती कर्मचारी समायोजन तथा नागरिकता लगायत समस्याको समाधान गर्न नचाहेको उनको भनाइ थियो । “प्रहरी प्रशासनबिनाको सरकारले कसरी शान्ति सुरक्षा दिन सक्छ ? कर्मचारीबिनाको सरकारले कसरी कामकाज गर्छ ?” उनको प्रश्न थियो ।
मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले जनयुद्धको मर्म अनुसार मुलुक चल्न नसकेको भन्दै दुःख व्यक्त गरेका थिए । आफैं पनि १० वर्षे सशस्त्र विद्रोहमा होमिएका मण्डल हाल एमालेबाट प्रदेशका सभामुख बनेका छन् । ‘शानदार र बलिदानीपूणर् इतिहास बोकेको माओवादी केन्द्र अचेल जनयुद्धको बाटो बिराएको छ,’ उनले भने ।
मधेसी सहिद प्रतिष्ठानका अध्यक्ष गृह तथा सञ्चार मन्त्री शत्रुघ्न प्रसाद सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई प्रदेश प्रमुख हरिशंकर मिश्र, माओवादी केन्द्रका संसदीय दलका नेता भरत साह लगायत वक्ताहरुले पनि सम्बोधन गरेका थिए ।
उपराष्ट्रपति नन्दबहादुर पुनको सम्बोधनको पूर्णपाठ
गृह तथा सञ्चार मन्त्रालय, मधेसी सहिद प्रतिष्ठान, मधेस प्रदेशद्वारा मिति २०७९/११/०१ गते जनकपुरधाममा आयोजित ‘जनयुद्ध दिवस समारोह-२०७९’ कार्यक्रममा
सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन ‘पासाङ’ज्यूबाट व्यक्त हुने
सम्बोधन भाषण
आजको यो भव्य र सभ्य जनयुद्ध दिवस समारोह-२०७९ का अध्यक्ष तथा मधेस प्रदेशका माननीय गृह तथा सञ्चारमन्त्रीज्यू,
माननीय मधेस प्रदेश प्रमुखज्यू,
मधेस प्रदेशका माननीय मुख्यमन्त्रीज्यू, मधेस प्रदेशका माननीय सभामुखज्यू,
संघीय सरकारका पूर्वमन्त्रीज्यूहरु, मधेस प्रदेशका माननीय मन्त्रीज्यूहरु,
माननीय सांसदज्यू र जनप्रतिनिधिज्यूहरु, सरकारका उच्च पदस्थ कर्मचारीज्यूहरु,
आदरणीय सहिद परिवारजन,
कार्यक्रममा उपस्थित आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,
पत्रकार साथीहरु,
यहाँहरु सबैमा मेरो हार्दिक नस्कार तथा न्यानो अभिवादन !
आज फागुन १ गते । यो देशको राजनीतिक तथा सामाजिक परिवर्तन सहितको एउटा युग परिवर्तनका लागि नेपाली जनताले सचेततापूर्वक नयाँ ढंगको संघर्ष थालनी गरेको दिन हो । आजकै दिन २७ वर्षपहिले नयाँ राज्य व्यवस्था तथा गणतन्त्र प्राप्तिका लागि नेपाली जनताले जनयुद्ध सुरु गरेका थिए । जनयुद्ध र २०६२/६३ को ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलन लगायत त्यसअघि र पछि भएका क्रान्ति तथा आन्दोलनबाट देशमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशीतासहितको नयाँ राज्य व्यवस्था स्थापित भएको छ ।
यो राज्य व्यवस्था प्राप्तिका लागि भएको संघर्षमध्यको महत्वपूणर् आन्दोलन जनयुद्ध सुरु भएको दिनको सम्मानमा मधेस प्रदेश सरकार, गृह तथा सञ्चार मन्त्रालय, मधेसी सहिद प्रतिष्ठानद्वारा आयोजित ‘जनयृद्ध दिवस समारोह-२०७९’मा उपस्थित हुन पाउँदा ज्यादै गौरवको महसुस भएको छ । यस दिवसको अवसरमा म यहाँ उपस्थित सम्पूणर् महानुभाव र सम्पूणर् नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा जनयुद्ध, मधेस आन्दोलन लगायतका नेपाली क्रान्तिमा जीवन गुमाउनु हुने सम्पूणर् सहिदहरुप्रति भावपूणर् श्रद्धाञ्जली अर्पण गर्दछु । सहिद परिवारजनमा सम्मान व्यक्त गर्दछु । जनयुद्ध र सबै खाले क्रान्ति तथा आन्दोलनका घाइते अपाङ्गहरुमा उच्च सम्मान व्यक्त गर्दछु ।
जनयुद्ध दिवसमा आज देशैभर विविध कार्यक्रम भइरहेका छन् । संघीय सरकारले सार्वजनिक विदा दिइ नेपाली राजनीतिमा जनयुद्धले पुर्याएको उच्चतम योगदानको सम्मान गरेको छ । संघीय सरकारले सार्वजनिक विदा दिनुअघि नै मधेस, बागमती र कणर्ालीका प्रदेश सरकारहरुले सार्वजनिक विदा दिएर जनयुद्ध दिवस मनाउने तयारी गरिसकेका छन् । थुप्रै स्थानीय सरकारले पनि सार्वजनिक विदा दिएका छन् । यो दिवस मनाउन तथा जनयुद्धको योगदानलाई स्थापित गर्न भने मधेस सरकार नै अग्र भागमा छ । अघिल्लो वर्षदेखि सार्वजनिक विदा दिएर जनयुद्ध दिवस मनाउन सुरु गर्नु र यसवर्ष सहिद परिवारलाई सम्मानसहित भव्य समारोह आयोजना गर्नु मधेस सरकारको ऐतिहासिक कार्य हो । यो परिवर्तनकलाई आत्मसाथ गर्नुका साथै इतिहासप्रति गौरव र सम्मान गर्नु हो । जनभावनाको कदर गर्नु हो । र, यो एउटा वैचारिक प्रतिवद्धता पनि हो भन्ने मलाई लाग्छ । यो महत्वपूणर् कार्यका लागि मधेस प्रदेश सरकार र मधेस प्रदेशका जनताप्रति सम्मानसहित आभार व्यक्त गर्न चाहान्छु ।
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,
हामी सबैलाई थाहा छ -जातीय, क्षेत्रीय, लिङ्गीय र वर्गीय असमानताको अन्त्यसहित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्न, मानव मानवबीचको असमानताको अन्त्य, देशको आमूल परिवर्तन, पहिचान र अधिकार स्थापना गर्न तथा सार्वभौम राष्ट्र निर्माण गर्न र आन्तरिक राष्ट्रियता सुदृढीकरणसहितको समुन्नत र समृद्ध राष्ट्र निर्माणका लागि जनयुद्ध लगायत विभिन्न कालखण्डमा क्रान्ति तथा आन्दोलनहरु भए । २०५२ फागुन १ देखि दशवर्षसम्म सञ्चालित जनयुद्ध, २०६२/६३ को ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलन, जनजाति तथा थारु आन्दोलन पछिल्लो समयका क्रान्ति तथा आन्दोलन हुन् । यी क्रान्ति तथा आन्दोलनका सम्पूणर् उद्देश्यहरु पूरा भए की भएनन् ? यसको समीक्षाको पाटो अलग्गै छ । तर सत्यकुुरा यी क्रान्ति तथा आन्दोलनबाट नै देशमा गणतन्त्र आएको हो । संघीयता, धर्मनिरपेक्षताल, सामाजिक न्यायसहितको समानुपातिक समावेशीता आएको हो । सिंहदबारमा केन्द्रित अधिकार र सेवाहरु प्रदेशमा तथा स्थानीयस्तरमा पुगेको हो । हामीले आज मधेस प्रदेश भनिरहेका छौँ । मधेस सरकार भनिरहेका छौँ । मधेस प्रदेशको राजधानी जनकपुरधामबाट यस प्रदेशका जनतालाई सेवा प्रवाह गर्ने कोशिस गरिरहेका छौँ । राज्यका सबै निकायमा सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने कोसिस पनि गरिरहेका छाँै । म यी उपलब्धीप्रति गौरव गर्न सबैमा आग्रह गर्दछु ।
राज्य पुनर्संरचनाअनुसार बनेका ७ वटा प्रदेशमध्ये मधेस प्रदेशले पहिचानको आधारमा नामाकरण गर्न सफल भएको छ । यसका लागि म मधेस प्रदेशको संसद, सरकार, राजनीतिक दल, संघ संस्था तथा जनसमुदायलाई बधाई सहित धन्यवाद दिन भन्न चाहन्छु ।
नयाँ शासन व्यवस्था स्थापित भएको छ । हामीले जनताको जीवनमा सकारात्मक परिवर्तनको अनुभूत गराउन सकेनौं भने पक्कै पनि चुनौतीका चाङ लाग्ने छन् र यो परिवर्तनप्रति नै प्रश्न उठ्ने छ । यसकारण यो जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशसहितका सबै सरकारले यसमा गम्भीर ध्यान दिनुपर्दछ र यहाँका राजनीतिक दल, यसको नेतृत्व, कर्मचारी, सुरक्षा निकाय, विभिन्न संघसंस्था र समाजसेवी बुद्धिजीविबाट एकताबद्ध भएर जनकांक्षा पूरा गर्ने संकल्प गरिनुपर्दछ ।
दिदीबहिनी तथा दाजुभाइहरु,
हाम्रा उपलब्धीहरुलाई संविधानले संस्थागत गरिसकेको छ । हाम्रो संविधान एउटा सहमतिको दस्तावेज हो । यसलाई अग्रगामी भनेको छौँ । संविधानलाई परस्कृत, परिमार्जन तथा संशोधन गरेर समृद्ध बनाउन र पूणर् कार्यान्वयन गर्न भने हामीले अझ थुप्रै मेहनत र प्रयास गर्नुपर्नेछ । यो एक गतिशील दस्तावेज भएकाले यसलाई समय र सन्दर्भअनुसार अझै उत्कृष्ट बनाउन सकिन्छ । अर्कोतर्फ हामीले नेपालको शान्तिप्रक्रिया तथा सेना समायोजन लगायतका विषयहरुलाई मौलिक रुपमा अगाडि बढायौं । आज विश्वका द्वन्द्वग्रस्त थुप्रै मुलुकहरुले नेपालको शान्तिप्रक्रियाबाट शिक्षा लिइरहेका छन् । द्वन्द्वरत पक्षहरुले नेपाल भ्रमण पनि गरिरहेका छन् । यो हाम्रो लागि गौरव र खुसीको कुरा हो ।
तर, वृहत् शान्तिसंझौता भएको १६ वर्ष पुगिसक्दा पनि संझौतालाई पूणर् निष्कर्षमा पुर्याउन भने सकिरहेका छैनौँ । शान्ति संझौताको मुख्य गरी दुईवटा काम अझै बाँकी छन् । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानवीन आयोगमार्फत गर्नुपर्ने कामा सम्पन्न भएका छैनन् । शान्तिप्रक्रियाका यी कामलाई टुंगोमा पुर्याउने समय घर्किदै गएको छ । म जनयुद्ध दिवसको अवसरमा यी आयोग र सरकारको ध्यानाकर्षण गराउन चाहन्छु की -शान्ति संझौताको बाँकी कामलाई छिटो टुंगोमा पुर्याऔँ । वर्तमान संघीय सरकारले शान्तिप्रक्रियाको बाँकी कामलाई छिटो भन्दा छिटो टुंग्याउन गम्भीर भएर काम गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।
अन्त्यमा, मलाई यो महत्वपूर्ण कार्यक्रममा आमन्त्रण तथा न्यानो स्वागतका साथ मधेस प्रदेशका जनतासँग भेटघाट र भलाकुसारी गर्ने अवसर दिएकोमा मधेस प्रदेशका माननीय प्रमुखज्यू, माननीय मुख्यमन्त्रीज्यू, माननीय सभामुखज्यू, गृह तथा सञ्चारमन्त्रीज्यू र मधेस प्रदेश सरकारलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।
धन्यवाद ।




