बिरगंज- बिरगंजमा ई–रिक्सा पल्टिएर भएको दुर्घटनामा परेर १८ महिने शिशुको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१० पानीट्यांकी बस्ने राजिव कुमार मालीको १८ महिने छोरा रिशव मालीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार मंगलबार दिउँसो ३ बजे वीरगञ्ज महानगरपालिका–१० टाउनहल नजिकै सडकखण्डमा ना.१ ह ३७४० नम्बरको ई–रिक्सा घुम्तिमा अनियन्त्रित भई पल्टिएको थियो ।
ई–रिक्सामा सवार राजिव र उनको १८ महिने छोरा रिशव मालीको टाउको तथा नाकमा चोट लागेको थियो । प्रहरी चौकी आदर्शनगरबाट खटिएको प्रहरी टोलीले घाइते दुवैजनालाई उपचारको लागि एडभान्स अस्पतालमा लगेको थियो ।
उपचारका क्रममा घाइते मध्ये रिशवको नाकबाट रगत बग्न बन्द नभएपछि थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा लगिएको थियो ।
उनको नेशनल मेडिकल कलेजमै उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
प्रहरीले वीरगञ्ज–१० आदर्शनगर बस्ने ३५ वर्षीय राम सुन्दर दास तत्मालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।




