जनकपुरधाम। आज दिउँसो तराईका केही स्थानमा हावाहुरी आउने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार दिउँसो तराई मधेशमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
‘मधेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरी आउने सम्भावना देखिएको हो’, मौसमविद् श्रेष्ठले भने। यस्तै अज बिहान कोशी र बागमती प्रदेशका एक–दुई ठाउँमा वर्षा भइरहेको छ । यस्तै कोशी प्रदेशको पनि पूर्वी भूभागका एक–दुई स्थानमा अहिले वर्षा भइरहेको मौसमविद् श्रेष्ठले जानकारी दिए। मौसम महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार आज राति भने पानी पर्ने सम्भावना देखिएको छैन। राति कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य स्थानमा मौसम आंशिक बदली मात्र हुनेछ।
हावाहुरी र चट्यांगसहितको वर्षा हुने सम्भवाना रहेको स्थानमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।




