जनकपुरधाम- जनयुद्धका शहीद परिवारले मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालय घेराउ गरेका छन् । मधेस शहीद प्रतिष्ठानले दिने घोषणा गरेको एक लाख रुपैयाँ नदिएको भन्दै उनीहरुले मन्त्रालय घेराउ गरेका हुन् ।
विभिन्न जिल्लाबाट आएका जनयुद्धका शहीद परिवारले मन्त्रालय घेराउ गर्नु अघि मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउन माग गरेका थिए ।



मधेस सरकारले गत वर्ष नै जनयुद्धमा शहीद भएका परिवारलाई किस्तावन्दीमा ३ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो ।
प्रतिष्ठानले तीनवर्षसम्म एक/एकलाख रुपैयाँ उपलब्ध गराउने कार्यक्रम अन्तर्गत यसपटक शहीद परिवारले पैसा पाएका छैनन्।
सरकारले गत फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको शहीदको नाम र ठेगानाको आधारमा रकम दिने भनेको छ । तर, शहीद परिवारले गतवर्ष जस्तै प्रमाण पत्रको आधार पाउनु पर्ने माग गरेका छन् ।
शहीद घोषणामा कतिपयको नाम र ठेगाना गलत भएकाले प्रतिष्ठानले सच्याएर मात्र दिने र सोकाम सरकारको भएको शहीद परिवारका सदस्य राजु महतोको भनाइ छ ।
असार मसान्तभित्र राहत रकम नपाए छुट्याइएको बजेट फ्रिज हुने र नपाउने चिन्ता शहीद परिवारलाई छ ।





