काठमाडौं- नेपाल आयल निगमले भारतबाट पेट्रोलको मूल्य घटेर तथा डिजेलको बढेर आएको जनाएको छ। निगमका अनुसार शनिबार साँझ आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य लिटरमा ३४ पैसाले घटेको छ भने डिजेलको मूल्य २ रुपैयाँ बढेर आएको छ ।
अब सोही मूल्यका आधारमा निगमले उपभोक्ता मूल्य घट्ने वा बढ्नेबारे निर्णय गर्नेछ । भारतीय आयल कर्पोरेसन आइओसीबाट प्राप्त नयाँ मूल्यपछि निगम १५ दिनमा ५० करोड रुपैयाँ नाफामा पुगेको छ ।
आईओसीबाट प्राप्त भएको नयाँ मूल्यपछि सञ्चालक समिति बैठक बसेर नेपालमा नयाँ मूल्य निर्धारण गर्नेबारे निर्णय गर्ने निगमको तयारी छ ।
निगम सञ्चालक समिति बैठक आइतबार बस्दैछ । पछिल्लो पटक निगमले इन्धनको मूल्य समायोजन गरेपछि पेट्रोलको मूल्य प्रतिलिटर १६७.५० पैसा, डिजेल र मटीतेलको १४७ रुपैयाँ ५० पैसा तोकिएको छ ।
यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ १३६ रुपैयाँ प्रतिलिटर तोकिएको छ ।
पेट्रोलियम पदार्थमा आज आइतबारदेखि स्वचालित मूल्य लागू हुँदैछ ।
नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गर्ने तयारी गरेको हो । अब भारतबाट घटबढ भएर आउनेवित्तिकै नेपालमा पनि मूल्य तलमाथि हुनेछ ।
‘अब भारतबाट मूल्य घटेर आए मूल्य स्वत: घट्छ भने बढेर आएमा बढ्नेछ,’ एक कर्मचारीले भने।
निगमले अहिले हरेक १५ दिनमा एक अर्ब १० करोड रुपैया नाफा कमाउँदै आएको छ । स्वचालित मूल्य प्रणालीमा पनि निगमले ३ प्रतिशतसम्म नाफा राख्न पाउनेछ। स्वचालित मूल्य प्रणाली लागू हुँदा पनि उपभोक्ताले भने सस्तो मूल्यमा पेट्रोलियम पदार्थ पाउनेछैनन् ।
भारतबाट आएको मूल्यमा निगमले ढुवानी, प्रशासनिक खर्च, पूर्वाधारका लागि निश्चित प्रतिशत रकम र ३ प्रतिशतसम्म नाफा जोड्नेछ ।
पेट्रोलियम पदार्थको स्वचालित मूल्यको लागि यसअघि २०७९ सालमै कार्यविधि बनिसकेको छ ।




