
जनकपुरधाम- ‘मानो रोपेर मुरी उब्जाउने’ महिना रुपमा मानिने असार साउन धान रोपाइँ गर्ने चलन छ। यी महिनाहरु किसानहरुको लागि खुसीयाली महिनाको रूपमा रह्ने गर्छ। तर, यो वर्ष किसानलाई रोपाइँ गरेर खुसी साट्ने अवसर जुरेन। सबैभन्दा ठूलो समस्या समयमा वर्षा नहुनु र अर्को गाईवस्तुमा लम्की स्किन रोग देखिनु रहेको छ। कतै वर्षा र कतै मल कै अभाव रहेको छ। रोगले गोरु बिरामी हुँदा र मर्दा कति स्थानमा त खेत जोत्न पनि किसानले सकेका छैनन्।
यसरी देशकै कृषि क्षेत्रको रुपमा चिनिने मधेश प्रदेशभित्र धान दिवस अर्थात असार १५ सम्म मात्र ११ प्रतिशत धानको रोपाइँ भएको थियो भने अहिले साउनको दोस्रो सातासम्म यस प्रदेशमा जम्मा ५८ दशमलव ८१ प्रतिशत रोपाइँ भएको मधेस प्रदेशस्थित कृषि निर्देशनालयको तथ्याङ्कलले जनाएको छ।

समान्यतया रोपाइँ सम्पन्न भइसक्नुपर्ने समयमा आइपुग्दा समेत मधेसका आठ जिल्लामा समग्रमा लगभग ४१ प्रतिशत खेतमा रोपाइँ हुन नसकेको प्रदेश कृषि निर्देशनालयका निमित्त निर्देशक कमलदेव कुशवाहाले जानकारी दिए । यसरी धान रोपाइँ हुन नसक्दा यस वर्ष धान उत्पादनमा व्यापक ह्रास आउने सम्भावन रहेको उनले बताए ।
देशको कुल ग्राहस्थ उत्पादनमा धानको उल्लेखनीय भूमिका रहेको छ । मधेश प्रदेशमा सबैभन्दा बढी धान नै उत्पादन हुुँदै आएको थियो तर एक दशक यतादेखि उत्पादनमा कमी हुँदै आएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक अनुसार देशको कुल धान उत्पादनको २० देखि २५ प्रतिशत उत्पादन मात्रै यस प्रदेशमा हुने गरेको छ ।
प्रदेशका आठवटै जिल्लामा गरी कूल ५ लाख ७४ हजार ३ सय ६० हेक्टर खेतीयोग्य जमीन रहेकोमा ४ लाख ५ हजार ४५० हेक्टर क्षेत्रफल धान रोपाइँ योग्य जग्गा रहेको छ । तर अहिलेसम्म मात्र २ लाख ३८ हजार ४ सय ४६ हेक्टर क्षेत्रफल अर्थात ५८ दशमलव ८१ प्रतिशत धान रोपाई हुन सकेको प्रदेश कृषि निर्देशनालयका निमित्त निर्देशक कुशवाहाले जानकारी दिए।
यसपाली धनुषा सहित मधेस प्रदेशको जिल्लामा लामो समयदेखि वर्षा नै नभएको कारण सिँचाइको लागि निर्मित नहरहरुमा पानी नै आएको छैन । भूमिगत सिँचाइको वैकल्पिक व्यवस्था गरिएको क्षेत्रमा जसोतसो धान रोपाइँ भए पनि नहरबाट सिँचाइ हुने क्षेत्र साउनको दोस्रो साता बिते पनि सुक्खा छ ।
यस प्रदेशमा साना तथा ठूला सिँचाइका स्रोतहरु समेतलाई आधार मान्ने हो भने ३ लाख ५७ हजार ७ सय ९३ हेक्टर क्षेत्रफलमा मात्र सिँचाइको व्यवस्था रहेको कृषि निर्देशनालयले जनाएको छ।

खडेरीले यस वर्ष मधेस प्रदेश मै धान खेती प्रभावित भएको छ । अधिकांश खेत सिँचाइको अभावमा बाँझै छ भने रोपाइँ भइसकेको खेत पनि सुकेर चिरा पर्न थालेको छ। बोरिङमा विद्युतीय मोटर तथा दमकल जडान गरी रोपाइँ भएको खेतमा पनि पर्याप्त पानी नपुगेर बाली सप्रिन नसकेको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ४ का किसान दिपो यादवले दुखेसो गरे ।
‘पाँच बिगाहा धानखेती गर्ने तयारी थियो । दुई बिगाहामा मोटरले पानी लगाएर रोपाइँ त गरेँ तर खेतमा पानी जमिरहन सक्ने अवस्था छैन । बाँकी दुई बिगाहामा कहिलेसम्म रोपाइँ गर्ने हो भन्ने ठेगानै छैन,’ धनुषाको धनुषाधाम नगरपालिकाका किसान फुलगेन महतोले भने ।
प्रदेश कृषि निर्देशनालयको तथ्यांक अनुसार मधेस प्रदेशमै सबैभन्दा बढी रोपाइँ सप्तरीमा भएको छ । सप्तरीमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ भने धनुषामा जम्मा २७ प्रतिशत रोपाइँ भएको कृषि निर्देशनालयका निमित्त निर्देशक कुशवाहाले जानकारी दिए ।
त्यसैगरी मधेस प्रदेशमा दोस्रो बढी रोपाइँ बारा जिल्लामा भएको कुशवाहाले जनाउनुभयो। कुशवाहाका अनुसार बारामा ७५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने तेस्रो स्थानमा रहेको रौतहटमा ७० प्रतिशत । यस्तै महोत्तरीमा ६० प्रतिशत र पर्सामा ५५ प्रशित रोपाइँ सम्पन्न भएको छ । सर्लाही र सिरहामा ५० प्रतिशतको दरले धान रोपाइँ सम्पन्न भएको निर्देशनालयले जानकारी दियो ।
कृषि मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो समय सबैभन्दा बढी बोरिङ सप्तरी जिल्लामा जडान गरिएको छ । धनुषामा कमला र हर्दिनाथ सिँचाइ परियोजना पहिलेदेखि नै रहेका कारण स्यालो ट्युवेल तथा डीप बोरिङ खासै जडान गरिएन । जसले गर्दा धनुषामा प्रदेशमै सबैभन्दा कम रोपाइँ भएको छ ।
धान उत्पादनको दृष्टिकोणले मधेसको सबैभन्दा बढी धान फल्ने जिल्लाको रुपमा धनुषा चिनिन्छ । प्रदेश कृषि निर्देशनालयको रेकर्ड अनुसार सबैभन्दा बढी धनुषा र सबैभन्दा कम रौतहटमा धान उत्पादन हुने गरेको छ ।
निर्देशनालयले धनुषामा २ लाख ५१ हजार १ सय ८६ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरेको छ भने रौतहटमा १ लाख ३४ हजार ७ सय ६० मेट्रिक टन । बारामा २ लाख ४८ हजार ६ सय ६३ मेट्रिक टन, पर्सामा १ लाख ९१ हजार ९ सय २५ मेट्रिक टन, सप्तरीमा १ लाख ८३ हजार ८ सय ८८ मेट्रिक टन, सर्लाहीमा १ लाख ७३ हजार ६ सय १८ मेट्रिक टन, सिरहामा १ लाख ७२ हजार १ सय ७६ मेट्रिक टन र महोत्तरीमा १ लाख ३८ हजार ८ सय २९ मेट्रिक टन धान उत्पादन हुने अनुमान निर्देशनालयको छ।