काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चार जना चिकित्सक पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले सांसद सुनिलकुमार शर्मासहित पाँच जना पक्राउ परेको जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा डा रामबाबु यादव, डा रञ्जित यादव, डा एलिना साह र डा अमित चौधरी रहेका छन् ।
उनीहरू विभिन्न अस्पताल तथा मेडिकल कलेजमा कार्यरत रहेका जनाइएको छ । अहिले पनि सिआइबीको अपरेशन जारी रहेको जनाइएको छ । यसअघि आज दिउँसो सिआइबीको टोलीले काठमाडौँको गल्फुटारबाट सांसद सुनिलकुमार शर्मालाई पक्राउ गरेको थियो । शर्मा पक्राउ परेको विषयमा सिआइबीले संसद् सचिवालयलाई दिउँसै जानकारी गराइसकेको छ ।
उनीहरू सबैमाथि शैक्षिक प्रमाणपत्र कीर्तेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




