महाेत्तरी- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तन र संविधानको रक्षा गर्नु राष्ट्रिय राजनितिको मुख्य कार्यभार भएको बताएका छन् ।
बलिदानिपूर्ण संघर्षबाट प्राप्त भएको परिवर्तनलाई भड्काउने चलखेल भएको बताउँदै गृहमन्त्री श्रेष्ठले नेपाली जनताको समृद्धिका लागि संघीय गणतन्त्र जरुरी भएको बताए ।
मधेस प्रदेशको सुरक्षा चुनौतीको विषयमा छलफल गर्न महोत्तरी आएका गृहमन्त्री श्रेष्ठले धार्मिक स्वतन्त्रतमा समेत खलल पुर्याउने काम भइरहेको धारणा राख्दै बहुजाति, बहुभाषी, बहुधर्म तथा विविधताबीचको अनेकतामा गम्भीर समस्या आएकाे विषयमा सरकारको ध्यानाकर्षण भइरहेको बताए ।
‘धार्मिक मुद्दाहरूमा कहिल्यै द्वन्द्व नभएको मुलुकमा द्वन्द्व निम्त्याउने केही संकेत देखिएका छन्,’ उनले भने, ‘त्यसैले एकता, सौहार्द्रता र सहिष्णुतालाई जोगाउने महत्वपूर्ण मुद्दा बनिरहेको छ ।’

सामाजिक एकता कायम गरेर त्यसकाे जगमा राष्ट्रिय एकता बलियो बनाए मात्र मौलिक मूल्य र संस्कृतिको जगेर्ना हुन सक्ने बताउँदै गृहमन्त्री श्रेष्ठले सबै जना गम्भीर हुन पनि अनुरोध गरे ।
समाजिक सद्भाव र सहिष्णुतालाई कमजोर बनाउने दिशातर्फ नलाग्न र विविधताबीचको अनेकतामा गम्भीर बन्न उनले आग्रह गरे।
कमजोर राष्ट्रियताको जगमा सुशासन र सामाजिक न्याय स्थापना गर्न समस्या बन्न सक्नेतर्फ सचेत गराउँदै गृहमन्त्री श्रेष्ठले यसका लागि सरकार कानुनको पालना गर्न र गराउन दृढ रहेको जिकिर गरे ।
उहाँले यस अघि देशका चारै सुरक्षा अङ्गका प्रमुखहरूको सहभागितामा वर्तमान अवस्थाको विषयमा बृहत् समीक्षा, विश्लेषण गर्दै यसबाट आउने चुनौती तथा समाधानको विषयमा बृहत् छलफल भएको बताए ।
महेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री कृष्ण प्रसाद यादवले शान्ति तथा समृद्धिको बाटोमा मुलुकलाई लानका लागि संविधानले उल्लेख गरेको अधिकारहरू प्रदेशलाई हस्तान्तरण गर्नमा ढिलाइ गर्न नहुने बताए। उनले गृह मन्त्रालयवाट सुशासन स्थापनाका निमित्त धेरै प्रयास भएको भन्दै प्रशंसा गरेका थिए ।
मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री मोहम्मद समीमले प्रहरी तथा निजामती ऐनलाई तत्काल पारित गर्नका लागि आग्रह गर्दै प्रदेशलाई बलियो नबनाएसम्म सघीयताको कुनै अर्थ नहुने बताए ।
मधेश प्रदेशका शिक्षा तथा समाज कल्याणमन्त्री महेश प्रसाद यादवले राष्ट्र सेवक कर्मचारीले आफ्नो कर्तव्य र अधिकार इमानदारीपूर्वक पुरा गरेको खण्डमा धेरै समस्याको समाधान हुने बताए।
गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले धार्मिक सद्भाव र एकता नेपालीहरूको विशिष्टता भएकाले यसमा कही कतैबाट खलल गर्ने काम हुनु गलत रहेको बताए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका पदाधिकारीहरू, पत्रकार, नागरिक समाज, उद्योगी व्यवसायीहरूको सहभागिता रहनु भएको प्रदेश स्तरीय समीक्षामा विभिन्न धर्मका धर्मगुरुहरूले अहिले देखिएको समस्या र समाधानको विषयमा ध्यानाकर्षण गर्नु भएको थियो । प्रदेश स्तरीय सुरक्षा बैठक तथा बृहत् समीक्षामा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त कुँवर, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका ओमप्रकाश जोशीको सहभागिता रहेको थियो ।




