भैरहवा- प्रधानमन्त्री पुष्पकमल दाहालले रामग्राम स्तुप क्षेत्र विकासको गुरुयोजना कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री दाहालले आज पश्चिम नवलपरासीको रामग्राम स्तुपमा आएर स्तुप क्षेत्रको पुनःस्थापना, संरक्षण र विकासका लागि दुरदर्शी काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।




रामग्राम स्तुप यस क्षेत्रको विकासका लागि निकै महत्त्वपूर्ण भएको बताउँदै रामग्रामको विकाससँगै यस क्षेत्रको पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
प्रचण्डले भने ‘अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको, बुद्धका सिद्धान्त, विचार र दर्शनहरु कहिल्यै पुराना नहुने ,मानवजाति रहेसम्म बुद्धका शिक्षाको औचित्य आवश्यकता र महत्व झन् दिन प्रतिदिन बढ्दै गएको र आजको विश्वमा शान्तिको महत्व अझ बढ्न गएको छ ।’
बुद्धको अस्तुधातु रहेको नवलपरासी पश्चिमस्थित रामग्रामको विकासका निम्ति भएका कार्यक्रम मार्फत हुने प्रतिवद्धताले उक्त क्षेत्रको महत्व झन् बढेर गएको प्रचण्डले बताए ।
उनले राष्ट्र संघका महासचिवलाई नेपालमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्न निमन्त्रण र उहाँको आगमनले नेपालको शान्तिको कामना र जलवायु परिवर्तनको असरबाट नेपाल र नेपाली जनताको रक्षाका निम्ति एउटा नयाँ प्रतिवद्धता प्रस्तुत भएको थप भनाई राखे ।
देशमा जलवायु परिवर्तनका कारण नागरिकले खेपेका बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपको बारेमा विश्वको ध्यान खिच्न आफू सफल भएका र कोप–२८ सम्म पुग्दा संसारले नेपालका हिमाल र पहाडको संरक्षणका लागि अगाडि आउनुपर्छ भन्ने अर्को प्रतिवद्धता व्यक्त भएको र उक्त कुराले नयाँ जलवायु परिवर्तनमा नेपालले खेपेका समस्या समाधानका लागि नयाँ वातावरण तयार भएको कार्यक्रम मा थप भनाई राखे ।

शान्तिका अग्रदूत गौतमबुद्धको अस्तुधातु रहेको ऐतिहासिक तथा धार्मिकस्थल रामग्राम स्तुपमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री दाहाल नवलपरासी आएका हुन् । लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका र द प्रोमिस ल्यान्ड नामक संस्थासँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो ।
सो अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले रामग्राम स्तुप क्षेत्रको महत्त्वको चर्चा गरेका थिए ।





