भैरहवा- सिद्धार्थनगर नगरपालिका ले नगरपालिका भित्र कार्यक्षेत्र भई संचालनमा रहेका सहकारी संस्था बाट ऋण लिएर १ वर्ष भन्दा धेरै समय देखि सावाँ व्याज नतिर्ने सदस्यहरु लाई १५ दिन भित्र ऋणको सावाँ व्याज भुक्तानी गर्न अन्यथा प्रचलित कानून बमोजिमको कारवाही गर्ने भनि शुक्रवार सुचना जारी गरेको छ।
सहकारी संस्थाबाट ऋण लिएका सदस्यहरुले लामो समय सम्म ऋणको सावाँ व्याज भुक्तानी नगर्दा बचत फिर्ता तथा लगानीमा असर परेको देखिएको ले ऋण असुलीको लागि सहजीकरण गर्न १ वर्ष भन्दा बढी भाखा नाघेका खराब ऋणिहरुको नाममा वैशाख ९ गते ३५ दिने सूचना प्रकाशित गरिएकोमा हाल सम्म त्यस्ता खराब सूचिमा रहेका ऋणिहरुले सावाँ व्याज वापतको रकम भुक्तानी नगरेको हुनाले पुनः १५ दिनको सूचना प्रकाशित गरिएको सिद्धार्थनगर नगरपालिका ले जनाएको छ।
ऋणिहरुले संस्थाबाट लिएको ऋण तोकिएको शर्त बमोजिम भुक्तानी नगरेमा सहकारी ऐन, २०७४ बमोजिम संस्थाले धितो राखेको सम्पत्ति लिलाम गर्न सक्ने, धितोको मुल्य घट्न गई सुरक्षण नपुगेमा थप जायजेथाबाट साँवा, व्याज, हर्जाना असुल गर्न सक्ने र कर्जा अपचलन गर्ने वा भाखा नघाउने व्यक्तिको नाम कालोसूचि प्रकाशित गर्न सकिने व्यवस्था रहेकोले प्रचलित कानूनको बर्खिलाप नहुने गरी जुन सम्झौता वा शर्त बमोजिम ऋण सुविधा लिएको हो सोही बमोजिम सावाँ व्याज र हर्जाना लागेको भए सो समेत निर्धारित समयमा भुक्तानी गरिदिनुहुन र उपर्युक्त बमोजिम नभएको पाईएमा प्रचलित कानून बमोजिमको कारवाही अगाडी बढाईने सिद्धार्थनगर नगरपालिका का सहकारी शाखा प्रमुख कमलकान्त खनाल ले जनाएका छन् ।




