जनकपुरधाम - धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका–५ बनिनियाका हरिराम यादवलाई आफ्नै श्रीमतीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । उनले आठ महिनाकी गर्भवती श्रीमती अञ्जली यादवको हत्या गरेको स्वीकार गरेका छन् ।
२५ वर्षीया अञ्जलीको शव गत फागुन १७ गते घरकै पूजा कोठामा गाडिएको अवस्थामा फेला परेको थियो । घटनापछि हरिराम फरार थिए । उनलाई धनुषाको जनकनन्दनी गाउँपालिका–४ स्थित खजुरी रेलवे स्टेशनबाट बिहीबार बिहान पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।
प्रहरीका अनुसार लागूऔषध दुव्र्यसनी हरिरामले नशाको असरमा घरायसी विवादका क्रममा अञ्जलीमाथि कुटपिट गरेका थिए । अनुसन्धान अधिकारीका अनुसार हरिरामले प्रहरीलाई दिएको बयानमा रातको समयमा विवाद हुँदा पेटमा प्रहार गरेको, त्यसपछि अञ्जलीको मृत्यु भएको र शव गाडेको बताएका छन् ।
हरिरामले हत्या भएको राति आफ्नी १० महिनाकी छोरीलाई पनि हत्यष गरेको हुन सक्ने प्रहरीको आशंका छ । उनले छोरीलाई नालामा फालेको भन्ने फरकफरक बयान दिएका छन् । प्रहरीले खोजी जारी राखेको भए पनि हालसम्म बालिकाको अवस्था पत्ता लाग्न सकेको छैन ।
‘एकपटक उनले छोरीलाई नालामा फालेको भने, अर्कोपटक सँगै लगेको बताए,’ अनुसन्धान अधिकारीले भने, ‘तर फरकफरक बयानका कारण घटना अझै शंकास्पद छ ।’
गत फागुन १७ गते स्थानीयबासीले घरमा केही दिनदेखि कोही नदेखिएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घरको ताला फोडेर खोजी गर्दा पूजा कोठामा भर्खरै सिमेन्टले ढलान गरिएको देखिएको थियो । उत्खनन गर्दा सडेगलेको अवस्थामा अञ्जलीको शव भेटिएको थियो ।
उनीमाथि प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखेको छ । एसपी नरहरी रेग्मीका अनुसार, हरिरामलाई नियन्त्रणमा लिए पनि १० महिनाकी छोरीको अवस्थाबारे अझै कुनै निष्कर्षमा पुग्न सकिएको छैन ।




