
जनकपुरधाम - धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर ६ मा पुरातात्त्विक महत्वको ऐतिहासिक अवशेष फेला परेको छ।
पुरातत्व विभागको टोलीद्वारा भइरहेको उत्खननबाट लिच्छवी कालको अन्त्यतिरको मठेश्वर महादेव मन्दिरको संरचना फेला परेको हो। सबैला नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा बजेट विनियोजन गरी पहल गरेपछि उक्त स्थलमा पुरातत्व विभागले औपचारिक उत्खनन कार्य सुरु गरेको हो।
प्रारम्भिक उत्खननमा एउटा मुख्य मन्दिरको संरचना भेटिएको थियो। यस आर्थिक वर्ष २०८१/०८२ मा पुनः बजेट विनियोजन गरी उत्खनन कार्य अघि बढाइएपछि मुख्य मन्दिरको छेउमा अर्को मन्दिरको संरचना समेत फेला परेको पुरातत्व विभागले जनाएको छ।
पुरातात्त्विक प्रमुख अधिकृत प्रकाश दर्नालका अनुसार भेटिएको मन्दिर शिखर शैलीमा निर्मित हो र यसले लिच्छवीकालीन विशेषता झल्काउँछ। ढुङ्गामा कुँदिएका आकृतिहरु तथा मूर्तिहरुले बुद्धकालीन शिल्पकलासम्मको सुरुआत देखिने बताइएको छ।

मन्दिरको चारै कुनामा संरचना भएको अनुमान गरिएको छ। यस मन्दिरको निर्माण सम्भवतः ९औँ शताब्दीमा लिच्छवी कालको अन्तिम चरणमा भएको हो प्रमुख दर्नालले जानकारी दिए।
अहिलेसम्मको उत्खननमा विभिन्न किसिमका ढुङ्गामा कोरिएका मूर्तिहरु, इँटा, गजुरका टुक्रा, चिलम लगायतका ऐतिहासिक सामग्री फेला परेका छन्। मुख्य मन्दिरको उचाइ अनुमानतः ५० देखि ६० फिटसम्म हुने अनुमान गरिएको छ भने पछिल्लो पटक फेला परेको मन्दिरको उचाइ १५ देखि २० फिटसम्म हुन सक्ने अनुमान गरिएको छ। अहिलेसम्म २५ वटा ढुङ्गा उत्खनन गरिएको छ भने थप उत्खनन कार्य मंसिर महिनाबाट सुरु गर्ने योजना रहेको ईन्जिनियर सुरेन्द्र पजियारले बताए।

सबैला नगरपालिकाका नगर प्रमुख कारीराम यादवका अनुसार उत्खनन कार्य पूरा भएपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर आगामी वर्षको बजेटमा मन्दिर निर्माणका लागि रकम विनियोजन गरिनेछ। यस स्थललाई धार्मिक तथा ऐतिहासिक पर्यटनको केन्द्रको रूपमा विकास गरिनेछ प्रमुख यादवले बताए। उनका अनुसार मन्दिरको संरक्षण र विकासबाट सबैला नगरपालिकाले धार्मिक पर्यटकलाई आकर्षण गर्ने ठूलो सम्भावना रहेको छ। यसले क्षेत्रको सामाजिक, सांस्कृतिक र आर्थिक विकासमा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
उत्खनन कार्य अझै बाँकी रहेकोले थप ऐतिहासिक र पुरातात्त्विक तथ्य बाहिर आउने विश्वास गरिएको छ। स्थानीयबासी र इतिहास प्रेमीहरूमा यसले उत्साह थपेको छ। सबैलाको यो धार्मिक स्थलले निकट भविष्यमा धार्मिक पर्यटनको नयाँ गन्तव्यको रूपमा पहिचान बनाउनेमा सबै आशावादी छन्।