जनकपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस ‘ड्रग्स’ काे चपेटामा पर्दै गएको बताएका छन् । मधेस प्रदेश प्रहरीको नयाँ प्रशासनिक भवनको शुक्रबार उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
किसानका लागि राहतको प्याकेज र प्रहरी समायोजनको बारेमा सम्बोधन गर्नका लागि मुख्यमन्त्री सिंहले गरेको आग्रहको साँटो प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले आफूले पाएको जानकारी अनुसार मधेसका युवाहरू ड्रग्सको कुलतको सिकार भइरहेको रिपोर्ट पाउने गरेको बताए । उनका अनुसार खासगरी मधेस भारतसँगको खुल्ला सिमाना छ, जसकारण युवाहरू सजिलै ड्रग्स ल्याएर त्यसको सिकार भइरहेका छन् ।
उनले ड्रग्ससँगै मधेसमा चोरीपैठारी पनि उत्तिकै भइरहेको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले भने, ‘तर यी सबै घटनामा मधेसमा निर्दोष व्यक्तिहरूलाई फसाउने गरिएको पाइएको छ, कारोबारी उम्किने गरेका छन् । जुन सुशासन होइन । यी सबै गतिविधिलाई प्रहरीले निस्तेज पार्नुपर्छ ।’
बोर्डरबाट नाजायज फाइदा लिनेहरूलाई तत्काल तह लगाउन प्रधानमन्त्री ओलीले प्रहरीलाई निर्देशन समेत दिए ।
प्रहरी समायोजन र मधेसका सुक्खाग्रस्त क्षेत्रबारे मुख्यमन्त्री सिंहले गरेको आग्रहलाई भने प्रधानमन्त्रीले बेवास्ता गरे । प्रधानमन्त्रीले आफ्नाे सम्बाेधनमा मुख्यमन्त्रीले उठान गरेकाे विषयमा केही बाेलेनन् । प्रधानमन्त्रीले कुनै चासो नदेखाएपछि प्रदेशमा केही राहत नमिल्ने आकलन समेत गरिएकाे छ ।
२३ करोड ५४ लाख ८८ हजार ९११ रुपैयाँको लागतमा मधेस प्रदेश प्रहरी कार्यालयको नयाँ प्रशासनिक भवनको निर्माण गरिएको छ ।




