काठमाडौं – कांग्रेसमा १५ औँ महाधिवेशनको मितिलाई लिएर संस्थापनपक्ष र संस्थापन इतरपक्षबीच टकराव भइरहेका बेला मिलनबिन्दुको खोजी भएको छ । यसका लागि संस्थापन इतरपक्षबाट एक स्टेप पछाडि फर्किने प्रस्ताव संस्थापनपक्षसम्म पुर्याइएको छ ।
संस्थापनपक्ष फागुन २१ गतेको प्रतिनिधिसभा चुनावभन्दा अगाडि महाधिवेशन गर्नै नहुने अडानमा र इतरपक्ष मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने अडानमा रहेपछि कांग्रेसमा टकरावको स्थिति छ ।



यही टकराव बढ्दै जाँदा पार्टी विभाजनसम्म हुनसक्ने कांग्रेसकै नेताहरूले बताउने गरेका छन् । कांग्रेस संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालाले कान्तिपुर दैनिकलाई दिएको अन्तर्वार्तामा महाधिवेशन नहुने हो भने पार्टी विभाजनको जोखिम रहेको संकेत गरेका छन् ।
उक्त अन्तर्वार्तामा उनले भनेका छन्, ‘म पार्टी विभाजन हुनबाट रोक्ने बाटोमा जानेछु । साथीहरूलाई सम्झाउने मेरो कोसिस हुनेछ । त्यो रोक्ने भनेको नियमित महाधिवेशनको तालिका ल्याएर नै हो । अर्को विकल्प छैन ।’
कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा नेताहरू आआफ्नो अडानबाट पछाडि नहट्ने हिसाबले बोलिरहेका छन् । यही विषय चर्किँदै जाँदा महामन्त्री गगन थापा कात्तिक १३ गतेको बैठकमा समेत गएनन् । उनी बैठकअघि पार्टी कार्यालय सानेपामै थिए । तर, कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँगको छलफलमा महाधिवेशनको विषयमा कुरा नमिलेपछि बैठकमै गएनन् ।
पार्टीमा दूरी बढ्दै गएपछि कात्तिक १४ गते इतरसमूहका नेता शेखर कोइरालाले विशालनगरस्थित सम्पर्क कार्यालयमा इतरपक्षका पदाधिकारीसँग छलफल गरे । कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे सहभागी भएको सो विशालनगर छलफलले मध्यमार्गी प्रस्ताव लिनुपर्ने निष्कर्ष निकालेको छ ।
सोही छलफलपछि आगामी पुस १६ गते पार्टीको मेलमिलाप दिवसको अवसर पारेर महाधिवेशन उद्घाटन गर्ने गरी कार्यतालिका ल्याउनुपर्ने इतरपक्षले मध्यमार्गी प्रस्ताव अगाडि सारेको छ । उपसभापति गुरुङले भने, ‘कसैले पनि अडान नछाड्ने हो भने त हुँदैन नि । त्यसैले हामीले मंसिर मशान्तभित्रै महाधिवेशन गर्नुपर्छ भन्ने अडान छोड्ने, उहाँहरू (संस्थापन) ले पनि चुनावपछि मात्र महाधिवेशन भन्ने अडान छोड्नुपर्ने गरी पुसको प्रस्ताव गरेका हौँ ।’
विशालनगर छलफलपछि महामन्त्रीद्वय थापा र शर्मा यो मध्यमार्गी प्रस्ताव लिएर कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग छलफलका लागि गएका थिए । इतरपक्षको यो प्रस्तावपछि नै कात्तिक १४ गतेको पार्टीको जारी बैठक दुई दिनका लागि स्थगित गरिएको छ । उपसभापति गुरुङले भने, ‘सल्लाहमै बैठक दुई दिन स्थगित गरिएको हो । योबीचमा आपसी र दुईपक्षबीच छलफलहरू हुन्छन् ।’ बैठक कात्तिक १६ गतेसम्मका लागि स्थगित भएको छ ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आपसी छलफलका लागि बैठक स्थगित गरिएको बताए । प्रवक्ता महतले भने, ‘महाधिवेनश जस्तो विषय सबै विधि र प्रक्रियामा पूरा गर्नुपर्छ । यसमा सबैलाई समेट्नुपर्छ । फागुन २१ को चुनावमा सहभागी हुनुपर्ने भएकाले त्यसैमा केन्द्रित हुनुपर्ने अवस्था छ ।’ महतले इतरपक्षको पुस १६ मा महाधिवेशन उद्घाटन गर्ने प्रस्तावबारे कुनै पनि धारणा नरहेको उल्लेख गरे ।
नेपाली कांग्रेसको विधानअनुसार आगामी मंसिरमा वर्तमान कार्यसमितिको ४ वर्षे कार्यकाल सकिँदै छ । त्यसैले मंसिरमा महाधिवेशन नगर्ने हो भने विधानमै रहेको एक वर्ष पदावधि थप्न सकिने विशेष व्यवस्थाअनुसार म्याद थप्नुपर्ने हुन्छ । संस्थापनपक्ष यही व्यवस्थाअनुसार म्याद थप्नुपर्ने अडानमा छ । केन्द्रीय समितिमा प्रचण्ड बहुमत रहेको संस्थापनपक्षले नियमिति महाधिवेशन नगरी कार्यकाय लम्ब्याउने तयारी गरेको हो ।
भदौ २३ र २४ गतेको GenZ आन्दोलनअघि सभापति देउवा मंसिरमा महाधिवेशन नगरी म्याद थप्ने रणनीतिमा थिए । त्यसैले महाधिवेशनको कुनै तयारी भएको थिएन । संस्थापन इतरपक्ष पनि यसमा सहमत नै थियो । तर भदौ अन्तिम साताको GenZ आन्दोलनले अवस्था फेरिएको छ । इतरपक्ष फागुन २१ को चुनावमा अहिलेकै नेतृत्व र विचार बोकेर जान नसकिने बताइरहेको छ ।
भदौ २३ र २४ गते भएको GenZ आन्दोलनपछि कांग्रेसमा नेतृत्व हस्तान्तरणको बहष चर्कियो । महामन्त्री गगन थापा लगायतका नेताहरूले मंसिरमा नै नियमित महाधिवेशनको बहस थाले ।
थापाले नै अगुवाइ गरेर विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरेका थिए । ती हस्ताक्षर कार्यवाह सभापति खड्कालाई बुझाइएको छ । कांग्रेसको विधानअनुसार विशेष महाधिवेशनका लागि ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्छ ।
असाेज २८ गते सुरु भएको केन्द्रीय कार्यसमिति बैठकबाटै सभापति शेरबहादुर देउवाले स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवहाक सभापतिको जिम्मेवारी दिए । खड्कालाई कार्यवहाकको जिम्मेवारी दिएर देउवा दम्पती सिंगापुर उडेका छन् ।
विशेष भेला बोलाइयो
यता, विशेष महाधिवेशनका पक्षधरहरूले पनि आइतबारलाई नै भेला बोलाएका छन् । विशेष महाधिवेशनको माग गरी हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूसँग सल्लाह गर्नका लागि भन्दै भेला बोलाइएको यसको अगुवाइ गरेका नेता गुरुराज घिमिरे बताउँछन् ।
हस्ताक्षर बुझाएको लामो समयसम्म पनि केन्द्रीय कार्यसमिति बैठकको एजेन्डा नबनेपछि दबाब दिन र कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउने उनीहरूको तयारी छ । असोज २९ गते कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाइए पनि त्यो अहिलेसम्म केन्द्रीय कार्यसमिति बैठकको एजेन्डा बनेको छैन ।
संस्थापनपक्षका नेताहरूले म्याद सकिएका महाधिवेशन प्रतिनिधिको हस्ताक्षर वैध नुहने तर्क गरेका छन् । विमलेन्द्र निधि, किशोरसिंह राठौरलगायतका नेताहरूले यस्तो तर्क गरिरहेका छन् ।
नेता घिमिरेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘१५ औं महाधिवेशन मंसिरभित्र गरौँ,नत्र विशेष महाधिवेशनले पर्खिरहेको छ,जसरी पनि हुन्छ है ! हाम्रो अभूतपूर्व तयारी छ । पार्टीका साथीहरूको शतप्रतिशत भावना यही हो । ’
राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले केन्द्रीय कार्यसमिति बैठक परस्पर विरोधी धारणाहरू आइरहेकाले संवादबाट सहमति गर्ने दृष्टिकोणले केन्द्रीय समिति बैठक सारिएको हुनसक्ने बताउँछन् । आइतबारसम्ममा कुनै सहमति भएर अगाडि बढ्ने सम्भावना रहेको उनको बुझाइ छ ।
उनी फागुन २१ को निर्वाचन अघि नै महाधिवेशन गर्नु उपयुक्त हुने बताउँछन् । नेपालभ्युजसँग कुरा गर्दै उनले निर्वाचन अगाडि नै महाधिवेशन गरेर नयाँ नीति र नयाँ नेतृत्वका आधारमा निर्वाचनमा जानु सबैभन्दा उपयुक्त हुने बताए ।
‘यसमा महामन्त्रीद्वय थापा र शर्माले विचार र अभियानको नेतृत्व गरिरहनु भएको छ । तर कार्यवहाक सभापति र संस्थापनपक्ष त्यसको विपक्षमा भएका कारणले बैठक पनि बस्न सकेन र बसेको बैठकले पनि उपयुक्त निर्णय गर्न सकेन,’ उनले भने, ‘यो प्राविधिकभन्दा पनि नेताहरूको नियतको कुरा देखियो । यदि पार्टीका नेता कार्यकर्ता तयार भए मंसिरमै पनि महाधिवेशन गर्न सम्भव छ ।’




