लामो समयदेखि शिक्षकहरुले तलब नपाउँदा पठनपाठन नै ठप्प परेका छन् ।
बैशाख महिना देखि तलबभता नपाएपछि हरिपुर्वा नगरपालिका वडा नम्बर– ९ स्थित नेपाल राष्ट्रिय जनता आधारभूत विद्यालय बगेवाका शिक्षकहरु कार्तिक १६ गते देखि पठनपाठन बन्द गरेर धर्नामा बसेर आन्दोलन गर्न बाध्य भएको शिक्षकहरुले बताएका छन् । शिक्षकको दरबन्दी मिलान र सरुवा बढुवाको विषयमा राजनीतिक खिचातानी भएपछि आफूहरु तलबभता नपाएको विद्यालयका प्रधानाध्यापक लक्ष्मण कुमार यादवले जानकारी दिए ।
विगत ७ महिनादेखि शिक्षक मिलानको विषयमा विवाद हुँदा यहाँ कार्यरत शिक्षकहरु लामो समयदेखि तलबभता पाएका छैनन् । समस्या समाधानका लागि पटक–पटक नगरपालिकाका शिक्षा शाखा, शिक्षा विकास तथा समन्वय ईकाइ तथा जिल्ला प्रशासनमा हामिले जानकारी गराए पनि कुनै प्रकारका कारवाही नभएपछि आफुहरु पठनपाठन बन्द गरेर धर्नामा बस्न बाध्य भएको नेपाल राष्ट्रिय जनता आधारभूत विधालय बगेवाका प्रधानाध्यापक यादवले बताए ।
हरिपुर्वा नगरपालिकाका नगरप्रमुख विनोद कुमार साहले भने यस पालिकामा १६ वटा सामुदायिक विद्यालय रहेको छ । कार्यपालिका तथा शिक्षा समितिले शिक्षक दरबन्दी मिलानको निर्णय गरेपछि १५ वटा विद्यालयले नगरपालिकाको निर्णयलाई कार्यान्वय गरेको छ । यद्यपि हरिपुर्वा नगरपालिका वडा नं.९ मा रहेको नेपाल राष्ट्रिय जनता आधारभूत विद्यालय बगेवाका प्रधानाध्यापकले पालिकाको निर्णयलाई बेवास्ता गरेका कारण तलबभता रोक्का गरेको नगरप्रमुख साहले जिकिर गरे ।
यस विद्यालयमा राजनीतिक हुन थालेपछि तलब रोक्का गर्नुपरेको प्रमुख साहले दाबी गरेका छन् । नेपालको संविधान, २०७२ को मौलिक हक (धारा ३१) मा आधार भूत तहसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको छ । यद्यपि शिक्षा क्षेत्रमा भइरहेको राजनीतिक खिचातानीले गर्दा सरकारी सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर खस्किदै गएको छ ।
मौलिक हक अधिकारमा पर्ने शिक्षा क्षेत्र र विद्यालय स्थानीयतहमा व्याप्त राजनीतिक द्वन्द्वका कारण सामुदायिक विद्यालयको अवस्था खराब हुँदै गएको स्थानीयहरुको भनाइ छ । शिक्षकहरुले तलबभता नपाउँदा यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरु पढाईबाट बञ्चित हुनु परेको छ ।




