महोत्तरी - मधेश खेलकुद परिषदको प्रथम वार्षिकोत्सव महोत्तरीमा पनि मनाइएको छ।बिहीबार जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको जिल्ला खेलकुद विकास समितिले मधेश प्रदेश सरकार अन्तर्गतको मधेश खेलकुद परिषदको प्रथम वार्षिकोत्सवको अवसरमा कार्यालय सरसफाईसँगै दिप प्रज्वलन गरेको छ ।
जिल्ला खेलकुद विकास समिति महोत्तरीका प्रमुख सुभाष लाल कर्णले परिषद स्थापना भएको एक वर्ष पुगेको अवसरमा परिषदले स्वास्थ्यका लागि खेलकुद भन्ने नारा तय गरेको जानकारी दिनुहुदै सोही नाराका साथ कार्यालय सरसफाईका साथै बिहीबार साँझ कार्यालयमा दिप प्रज्वलन गरिएको बताउनुभयो ।
परिषदले मधेश प्रदेशका युवा तथा खेलाडिहरुलाई खेलसंग जोड्ने प्रयास र पहल गरिरहेको जनाइएको छ । परिषदले मधेश प्रदेशका खेलाडिहरुको वर्गिकरण, तलब, सेवा, सुविधा, खेलकुद सामग्री उपलब्ध गराउनुलगायतका खेलसंग जुडेका कार्यहरु गर्दै आएको जिल्ला खेलकुद विकास समिति महोत्तरीका प्रमुख कर्णले बताउनुभयो ।
खेलकुदले समाजलाई स्वस्थ र सभ्य बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस क्षेत्रमा थप लगानी आवश्यक रहेको छ । महोत्तरीमा पटक पटक खेल मैदानको अभावमा खेलाडीहरुलाई प्रशिक्षणमा वाधा पुगिरहेको आवाज उठदै आएकोले प्रदेश सरकार खेलकुद क्षेत्रमा अझै पर्याप्त रूपमा गम्भीर हुन जरुरी रहेको देखिएको छ ।




