महोत्तरी – चालु आर्थिक वर्ष २०७८/०८३ को चार महिना बितिसक्दा देशका २५ स्थानीय तहले अझैसम्म बजेट प्रस्तुत गर्न सकेका छैनन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मधेश प्रदेशका २४ र लुम्बिनी प्रदेशको एक स्थानीय तहले अहिलेसम्म बजेट पेश गर्न सकेका छैनन्।
अहिलेसम्म देशभरका ७५३ स्थानीय तहमध्ये ७२८ ले मात्र चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन्। संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको जेठ १५ गते सङ्घीय सरकारले, असार १ गते प्रदेश सरकारले र असार १० गते स्थानीय तहले बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ।
मधेश प्रदेशका कुल १३६ स्थानीय तहमध्ये ११२ स्थानीय तहले बजेट प्रस्तुत गरिसके पनि २४ स्थानीय तह अझै बाँकी रहेको मन्त्रालयले जनाएको छ। बाँकी रहेका स्थानीय तहमा सप्तरीको राजविराज नगरपालिका, अग्नीसाइर कृष्णासवरण गाउँपालिका, बलान बिहुन गाउँपालिका, कल्याणपुर नगरपालिका, सिराहाको धनगढीमाई नगरपालिका, सुखीपुर नगरपालिका, धनुषाको क्षीरेश्वर नगरपालिका, नगराइन नगरपालिका, औरही गाउँपालिका, कमला नगरपालिका, जनकनन्दिनी गाउँपालिका, धनुषाको धनौजी गाउँपालिका, महोत्तरीको सोनमा गाउँपालिका, मलङ्गवा नगरपालिका, सर्लाहीको हरिवन नगरपालिका, चन्द्रनगर गाउँपालिका, रामनगर गाउँपालिका, रौतहटको कटहरिया नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, यमुनामाइ गाउँपालिका, बाराको महागढीमाई नगरपालिका, विश्रामपुर गाउँपालिका र पर्साको पकाहा मैनपुर गाउँपालिका पर्दछन्।
त्यसैगरी, लुम्बिनी प्रदेशको शुद्धोधन गाउँपालिकाले पनि हालसम्म बजेट पेश गर्न सकेको छैन। मन्त्रालयले समयमै बजेट पेश नगर्ने स्थानीय तहप्रति कडा ध्यानाकर्षण गराएको छ।




