महोत्तरी - जिल्ला प्रहरी कार्यालय महोत्तरीको आयोजनामा तथा जिल्ला प्रशासन कार्यालय महोत्तरीको समन्वयमा गौशाला नगरपालिका–१२ स्थित कान्तिबजारमा आइतबार सार्वजनिक/नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गाउँघरमा बढ्दै गएको चोरी तथा आपराधिक घटनाको प्रमुख कारण लागू औषधको दुरुपयोग रहेको बताउनुभयो । लागू औषधको कुलतमा फसेका युवाबाट चोरी, असामाजिक गतिविधि तथा अपराधका घटना बढिरहेको उल्लेख गर्दै उहाँले यसको नियन्त्रणका लागि प्रहरी–प्रशासनसँगै समाज, परिवार र नागरिक स्वयं सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रमुख जिल्ला अधिकारी यादवले सार्वजनिक सुनुवाइमा उठाइएका शान्ति–सुरक्षा, नागरिकता, स्वास्थ्य संस्था, वडास्तरीय विकास र सेवा प्रवाहसम्बन्धी गुनासा तथा सुझावलाई गम्भीरतापूर्वक लिइने बताउनुभयो । ती विषयमा सम्बन्धित निकायसँग समन्वय गरी समाधान गरिने प्रतिबद्धता जनाउँदै उहाँले नागरिकता, सर्जमिन मुचुल्का लगायत प्रशासनिक सेवालाई सहज, सरल र पारदर्शी बनाइने जानकारी दिनुभयो । स्वास्थ्य संस्थामा औषधिको अभावसम्बन्धी समस्या पनि स्थानीय तहसँगको समन्वयमा समाधान गरिने उहाँको भनाइ थियो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माले शान्ति–सुरक्षा कायम गर्न प्रहरीको मात्र नभई नागरिकको पनि महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
नागरिक सुनुवाइ कार्यक्रमले नागरिकका गुनासा, सुझाव र पृष्ठपोषण संकलन गरी सुशासन प्रवर्द्धनमा सहयोग पुग्ने उहाँले बताउनुभयो । उहाँले प्रहरीले कानुनसम्मत र निष्पक्ष ढंगले सेवा प्रवाह गरिरहेको उल्लेख गर्दै प्रहरी–नागरिक सम्बन्ध सुदृढ बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो । साथै सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालना गर्न आग्रह गर्नुभयो ।
वडा नं. १२ का अध्यक्ष कुशेश्वर सिंह कुशवाहाले कान्तिबजार क्षेत्रमा सडक अव्यवस्थित हुँदा आवतजावतमा समस्या भइरहेको बताउनुभयो । सडक क्षेत्रमा राखिएका निर्माण सामग्री तथा अन्य अवरोध हटाई ४० फिट सडक क्षेत्र खाली गराउन सूचना जारी गरिने जानकारी उहाँले दिनुभयो ।
यसैगरी वडा नं. ११ का अध्यक्ष तथा गौशाला नगरपालिकाका प्रवक्ता रामपृत महतोले नगरपालिकासँग सम्बन्धित गुनासालाई कार्यान्वयन गरिने बताउनुभयो । कान्तिबजारस्थित पशु शाखामा आवश्यक प्राविधिक जनशक्ति उपलब्ध गराई कार्यालय व्यवस्थापनलाई प्रभावकारी बनाइने उहाँको भनाइ थियो ।कार्यक्रममा सहभागी स्थानीयवासीले सामाजिक सञ्जालमार्फत पूर्वसूचना दिनुपर्ने, नागरिकता प्राप्तिमा देखिएका समस्या, बिचौलियाको पहिचान गरी सरकारी कार्यालयमा निषेध गर्नुपर्ने, प्रहरी जनशक्ति थप गर्नुपर्ने तथा जंगली जनावरबाट बाली नष्ट भएको विषयमा ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास, इलाका प्रहरी कार्यालय गौशाला, वडा नं. ११ र १२ का जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।




