सुजाता राई
विराटनगर /नेकपा एमाले मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार विनोद ढकाल पितृशोकका कारण केही दिन अभियानबाट टाढा रहेपछि पुनः घरदैलो कार्यक्रममा सक्रिय भएका छन्।
माघ २९ गते १०१ वर्षको उमेरमा बुबा विष्णुप्रसाद ढकालको निधन भएपछि उनी १३ दिनको काजकिरियामा बसेका थिए। सो कार्य सम्पन्न गरेलगत्तै मंगलबारदेखि सेतो पहिरनमा बिहान ७:३० बजेदेखि बेलुकी ५ बजेसम्म मतदातामाझ पुगेर चुनावी अभियानलाई तीव्रता दिएका हुन्।
समयको अभावका कारण प्रत्येक घरमा पुग्न नसकेको उल्लेख गर्दै उनले चोक–चोक र टोल–टोलमा भेटघाट तथा छलफल कार्यक्रममार्फत मतदातासँग अमूल्य मतको अपिल गरिरहेका छन्। परिस्थिति बुझिदिन मतदातासँग आग्रहसमेत गरे।
घरदैलोका क्रममा उनले विगतमा नेकपा एमालेले विजय हासिल गर्दा भएका विकास निर्माणका कार्यहरूको उदाहरण प्रस्तुत गरेका छन्। आफू निर्वाचित भए क्षेत्रबासी जनताको सुख–दुःखमा सधैं साथ रहने प्रतिबद्धता व्यक्त गर्दै बाटोघाटो, आधारभूत पूर्वाधार, रोजगारी, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने योजना सुनाएका छन् ।




