महोत्तरी – महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रमोदकुमार महतोले बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना खारेज गरिएको भन्ने विषयमा सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ।
शिरीष न्युजसँग कुराकानी गर्नुहुँदै सांसद महतोले उक्त आयोजना खारेज गरिएको भन्ने कुरा निराधार रहेको स्पष्ट पार्नुभयो। उहाँले केही पक्षले जनतामा भ्रम सिर्जना गर्ने उद्देश्यले यस्ता हल्ला फैलाएको उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो, “बर्दिवास मेडिकल कलेज जस्तो बहुप्रतिक्षित आयोजना खारेज हुने भन्ने विषय सत्य होइन। सरकार स्वास्थ्य क्षेत्रको सुदृढीकरणतर्फ अग्रसर रहेको छ र यस आयोजनालाई अझ व्यवस्थित तथा स्तरोन्नति गर्ने तयारी भइरहेको छ।”



सांसद महतोका अनुसार बालेन शाह नेतृत्वको सरकारले स्वास्थ्य पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै बर्दिवास मेडिकल कलेजलाई गुणस्तरीय र सुविधा सम्पन्न संस्थाका रूपमा विकास गर्ने दिशामा आवश्यक प्रक्रिया अगाडि बढाएको छ।यसैबीच सोमबार दिउँसो पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दिवास चौकमा स्थानीयवासीले उक्त आयोजना खारेज गरिएको भन्ने समाचारप्रति असन्तुष्टि जनाउँदै करिब आधा घण्टा चक्का जाम गरी विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनका कारण सो मार्ग हुँदै सञ्चालन हुने यातायात सेवा केही समयका लागि अवरुद्ध भएको थियो।
बालेन शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले बर्दिवास, बुटवल र सुर्खेतमा प्रस्तावित मेडिकल पूर्वाधार निर्माण विकास आयोजना खारेज गर्ने निर्णय गरिएको भन्ने समाचार सार्वजनिक भएपछि स्थानीय तहमा विरोधका कार्यक्रम भएका हुन्।
सांसद महतोले स्थानीयवासीलाई आधिकारिक जानकारीबिना भ्रममा नपर्न आग्रह गर्दै विकास निर्माणका यस्ता महत्वपूर्ण आयोजना कुनै पनि अवस्थामा रोक्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै उहाँले सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको र आयोजना कार्यान्वयनका लागि पहल जारी रहेको जानकारी दिनुभयो।





