गोपाल झा,महोत्तरी – मिथिलाञ्चलमा नवविवाहित महिलाका लागि विशेष महत्व बोकेको मधुश्रावणी पर्व सोमबारदेखि विधिवत् रूपमा सुरु भएको छ। श्रद्धा, आस्था, प्रेम र सांस्कृतिक परम्पराको प्रतीक मानिने यो पर्व साउन कृष्ण पक्षको पञ्चमीदेखि साउन शुक्ल तृतीयासम्म १३ दिनसम्म मनाइन्छ। विशेषगरी मैथिली समुदायका नवविवाहित महिलाले आफ्नो पहिलो वैवाहिक वर्षमा यो पर्व अनिवार्य रूपमा मनाउने परम्परा रहिआएको छ।
मधुश्रावणी पर्वलाई केवल धार्मिक अनुष्ठानका रूपमा मात्र नभई दाम्पत्य जीवनलाई सुदृढ बनाउने सांस्कृतिक अभ्यासका रूपमा पनि लिइन्छ। पर्वभरि नवविवाहित महिलाले व्रत बसेर भगवान् शिव, गौरी तथा विषहरा (नागदेवता) को पूजा–आराधना गर्नुका साथै मैथिली लोकपरम्पराअनुसार विभिन्न धार्मिक कथा सुन्ने र लोकगीत गाउने चलन छ।



ससुरालीबाट आउने पूजासामग्री
मधुश्रावणी पर्वका लागि आवश्यक पर्ने पूजा सामग्री, नयाँ रातो–हरियो वस्त्र, सिन्दूर, फलफूल, चामल, दाल, माटोबाट बनाइएको नाग–नागिनीको प्रतिमा तथा अन्य सामग्री नवविवाहिताको ससुरालीबाट माइती पठाउने परम्परा छ। व्रत अवधिभर ती सामग्रीकै प्रयोगबाट पूजा गर्ने र भोजन गर्ने चलन रहिआएको छ।
मिथिला संस्कृतिको गौरव
प्राचीनकालदेखि नै समृद्ध संस्कृति बोकेको मिथिला क्षेत्रमा यो पर्व विशेष महत्वका साथ मनाइन्छ। धार्मिक ग्रन्थ महाभारत र वाल्मीकि रामायण मा समेत मिथिलाको सांस्कृतिक महत्त्व उल्लेख गरिएको पाइन्छ। त्यसैले जनकभूमिसँग जोडिएको यस क्षेत्रमा मधुश्रावणी पर्वलाई धार्मिक, सांस्कृतिक र सामाजिक पहिचानको अभिन्न अङ्गका रूपमा हेरिन्छ।
मैथिली समाजमा विवाह जीवनको सबैभन्दा महत्वपूर्ण संस्कार मानिन्छ। विवाहपछि पहिलो वर्ष मनाइने मधुश्रावणी पर्वलाई नवविवाहित महिलाको धैर्य, जिम्मेवारी र दाम्पत्य जीवनप्रतिको समर्पणको प्रतीक मानिन्छ। यसले पति–पत्नीबीचको विश्वास, प्रेम र आत्मीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास छ।
लोकगीत, फूल संकलन र सामूहिक पूजा
पर्वका १३ दिनसम्म नवविवाहित महिलाहरू समूह बनाएर गाउँ–टोल, मठ–मन्दिर तथा बगैँचामा गई पूजाका लागि आवश्यक फूल र पात संकलन गर्छन्। प्रत्येक साँझ लोकगीत गाउँदै फूल टिप्ने र भोलिपल्ट त्यही फूलबाट विषहरा देवताको पूजा गर्ने परम्परा रहेको छ।
पूजाका क्रममा महिलाहरूले पूर्ण दुलहीको श्रृंगार धारण गर्छन्। बिहान गोसाइँ गीत, पावैन गीत तथा साँझ कोहबर र सन्धौती गीत गाउँदै धार्मिक वातावरण सिर्जना गरिन्छ। यस अवधिभर पूजा स्थलमा अखण्ड दीप प्रज्वलित राख्ने चलन पनि रहेको छ।
पण्डिताइनबाट सुनाइने कथा
मधुश्रावणी पर्वको अर्को विशेषता महिला पुजारी (पण्डिताइन) द्वारा कथा वाचन गर्नु हो। व्रती महिलालाई विषहरा, बिहुला–मनसा, मङ्गला गौरी, पृथ्वी जन्म, समुद्र मन्थन, सतीलगायतका धार्मिक कथाहरू सुनाइन्छन्। यसलाई धार्मिक शिक्षासँगै दाम्पत्य जीवनका आदर्श र नैतिक मूल्य सिकाउने माध्यमका रूपमा पनि लिइन्छ।
टेमी दाग्ने परम्परा
मधुश्रावणी पर्वको अन्तिम दिन सबैभन्दा चर्चित परम्परा ‘टेमी दाग्ने’ हो। बलिरहेको दीपको बातीबाट बेहुलीको घुँडामाथि पानको पात राखेर हल्का डाम्ने चलनलाई स्थानीय भाषामा ‘दगनिया पावैन’ भनिन्छ। यसलाई नवविवाहित महिलाको धैर्य, सहनशीलता र दाम्पत्य जीवनप्रतिको समर्पणको प्रतीकका रूपमा लिने गरिन्छ।
लोकविश्वासअनुसार डामिएको स्थानमा फोका उठे पति–पत्नीबीचको प्रेम अझ प्रगाढ हुने मान्यता छ। यद्यपि पछिल्लो समय यस परम्परालाई लिएर महिला अधिकारका दृष्टिकोणबाट विभिन्न बहस हुँदै आएका छन्। कतिपयले यसलाई महिलामाथिको शारीरिक पीडासँग जोडेर आलोचना गर्ने गरेका छन् भने परम्पराका पक्षधरहरूले यसलाई हिंसा नभई सांस्कृतिक संस्कारको एक अंश भएको तर्क गर्छन्।
संरक्षणको आवश्यकता
मैथिली साहित्यकार तथा संस्कृतिविद्हरूका अनुसार मधुश्रावणी केवल पति–पत्नीबीचको प्रेमको पर्व मात्र होइन, प्रकृति, समाज र परम्पराबीचको सहअस्तित्वको प्रतीक पनि हो। आधुनिक परिवेशमा परम्परालाई समयानुकूल परिमार्जन गर्दै यसको मौलिकता जोगाउनु आवश्यक रहेको उनीहरूको धारणा छ।
उनीहरूका अनुसार मधुश्रावणी पर्व मिथिला सभ्यता, लोकसंस्कृति र सामाजिक मूल्यको जीवन्त अभिव्यक्ति भएकाले यसको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई सही रूपमा बुझ्दै भावी पुस्तासम्म संरक्षण गर्नु आजको आवश्यकता हो।





