धर्मेन्द्र झा
डा. विमल केवल एक लेखक र अनुसन्धानकर्मी मात्र थिएनन्, उनी उच्चकोटिका शिक्षाविद् र प्राध्यापक पनि थिए। दशकौंसम्म त्रिभुवन विश्वविद्यालय अन्तर्गत विभिन्न क्याम्पसमा प्राध्यापन गर्दै उनले हजारौं विद्यार्थीलाई ज्ञान र नैतिकताको मार्ग देखाए।
मानल जे झञ्झा झकोर बडा जोर अछि



आशाकेर दीपक जरओने चलू मीत हे।
पसरल अछि चारुदिसि गुजगुज अन्हरिया तँ
एक गीत किरणकेर गओने चलू मीत हे।।
जीवन-सङ्घर्ष र दर्शनसँग सम्बन्धित माथिको कालजयी रचनाका रचनाकार हुन्, डा. राजेन्द्रप्रसाद विमल। आफ्नो जीवनका अन्तिम दिनसम्म यो गीतका पङ्क्तिमा वर्णित भावको सार्थकता प्रमाणित गर्दै अनेकौं हुरीबतास, आँधी अर्थात् समस्या र चुनौतीसँग उनी सङ्घर्ष गरिरहे, जुधिरहे र अरूलाई पनि सङ्घर्ष गर्न उत्प्रेरित गरिरहे। अनवरत सङ्घर्षको दियो प्रज्वलनको सन्देश प्रवाहित गर्ने उनै डा. विमल अब भौतिक रूपमा हामी बीच छैनन्। ७९ वर्षको उमेरमा यही साउन २५ गते राति उनले महाप्रस्थान गरे।
अब उनी महाप्रस्थानको यात्राबाट भौतिक रूपमा फर्कन सम्भव छैन, तर प्रश्न उठ्छ- के डा. विमल जस्ता साधकको मृत्यु सम्भव छ ? मृत्युको झञ्झावातले उनले बालेको दियोको उज्यालो निभ्न सक्छ ?
उत्तर हुन सक्छ- विमल जस्ताका लागि मृत्यु सम्भव छैन। भौतिक रूपमा मृत्यु सम्भव होला, तर आत्मिक-मानसिक रूपमा विमलहरू कहिल्यै मर्दैनन्। विमल आफ्ना कालजयी कृतिमा बाँचिरहेका छन्/बाँचिरहने छन्। उनले कोरेका शब्दहरू, पढाएका विद्यार्थी, सम्प्रेषित गरेका भाव र विचार अनि आफूले भाषिक सद्भाव मार्फत फैलाएको राष्ट्रिय भावनामा विमल अमर रहनेछन्।
उनलाई बुझेर सच्चा श्रद्धाञ्जली अर्पण गर्न र उनले प्रवाहित गरेका भावलाई आत्मसात् गर्न सक्नुपर्छ। यस अर्थमा उनका कृतिको गहन अध्ययन र अनुसन्धान आवश्यक छ। उनले मैथिली र नेपाली साहित्यलाई जोड्न शुरु गरेको भाषिक सद्भावको यात्रालाई निरन्तरता दिनु अपरिहार्य छ। उनका अधुरा सपनालाई पूरा गर्नु र उनको चिन्तनलाई नयाँ पुस्तासम्म पुर्याउनु जरुरी छ। यति गर्न सके उनीप्रतिको वास्तविक सम्मान र श्रद्धाञ्जली अर्पण गरेको ठहरिनेछ।
उनका ज्येष्ठ सुपुत्र डा. आभाष लाभ भन्छन्, ‘अब यो विराट दायित्व समाजले पूरा गर्नुपर्छ।’
उनले थपे, ‘हामी अब बुझ्दैछौं, परिवारको दायरा त निकै सानो हुने रहेछ। पिताजीको परिवार त निकै विशाल थियो। हामी घरका मानिसभन्दा उहाँप्रतिको समाजको बुझाइ निकै फराकिलो रहेछ।’
उनी भन्छन्, ‘उहाँको प्रस्थानबाट हामी निश्चय दुःखी छौं, तर हामी मात्र दुःखी छैनौं, उहाँलाई चिन्ने थुप्रैले हामीसँग भावना साटेका छन्। हामीलाई धैर्यधारण गर्न बल पुगेको छ।’
हो, कसै–कसैको मृत्युले उत्सवको सिर्जना गर्छ। चिन्नेजान्नेले मृत्युको साक्षी बन्न पाएकोमा गौरवबोध गर्छन्। जन्मले नसकेको इतिहास मृत्युले निर्माण गर्छ।
त्रिभुवन विश्वविद्यालयका मैथिली विषयका प्राध्यापक श्यामसुन्दर शशि भन्छन्, ‘हामी त्यस्तै इतिहासको साक्षी बनेका छौं। साक्षी त हामी उनका जीवनका पनि हौं, जुन जीवन सबैका लागि ‘आचार्य’ साबित भयो। कुनै समस्या सिर्जना हुँदा समाधान दिने विमल अब हामी बीच छैनन् अर्थात् वास्तवमै आचार्यत्व बोध गर्ने अब कम्तीमा जनकपुरको भूमिमा कोही पनि छैनन्।’
उनी थप्छन्, ‘हामी गौरव गर्छौं, उनै आचार्यको भौतिक जीवनको हामी साक्षी बन्न सक्यौं।’
श्यामसुन्दरका मात्र होइन, उनी जस्ता अनेकका गुरु-आचार्य थिए विमल। थुप्रैलाई पढाए। थुप्रैलाई जीवनको उज्यालो देखाए। थुप्रैलाई साहित्य पढ्न र लेख्न मात्र प्रोत्साहित गरेनन्, बरु लेख्न पनि सिकाए र साहित्यकार पनि बनाए।
साहित्यको आकाशमा डा. विमल एउटा यस्तो नक्षत्र थिए, जसले अरूको प्रकाशमा चम्किने प्रयास कहिल्यै गरेन, बरु आफ्नै ज्ञान र साधनाको बलमा नयाँ ज्योतिपुञ्ज बनायो र त्यही ऊर्जाले निरन्तर समाजलाई उज्यालो दिइरह्यो। उनको निधनले नेपाली तथा मैथिली साहित्यको क्षेत्रमा एउटा ठूलो भित्तो ढलेको महसुस भएको छ, तर उनले छाडेर गएको वैचारिक, साहित्यिक र नैतिक विरासतले आगामी कैयौं पुस्तासम्म नेपाली समाजलाई बाटो देखाउने निश्चित छ।
कुनै पनि समाज वा राष्ट्रको वास्तविक परिचय उसका भौतिक संरचनाले मात्र दिंदैनन्, त्यस राष्ट्रको चेतना, संस्कृति र बौद्धिक उचाइको मापन त्यहाँको ‘अक्षर-शब्द साधक’हरूका आधारमा पनि हुने गर्दछ। अक्षर–शब्दको निष्ठापूर्वक आराधना गर्ने तिनै सीमित विराट व्यक्तित्वमध्ये एक थिए डा. विमल, जसले राष्ट्र र राष्ट्रियताको नयाँ परिचय स्थापित गरेका थिए।
नेपाली र मैथिली साहित्यका प्रत्येकजसो विधाका सर्जक, दिग्गज समालोचक, कवि, कथाकार, निबन्धकार डा. विमलको भौतिक उपस्थिति आज हामी बीच नरहे पनि उनले सिर्जना गरेको बौद्धिक र साहित्यिक मन्दिर सदैव आलोकित भइरहनेछ। दियो निभ्ने छैन। उनले सामाजिक परिवर्तनको पक्षमा प्रज्वलित गरेको चेतनाको आगोको ‘धुवाँ’ सदैव अनुभूत गरिनेछ।
उनले विविध भावमा फुलेका फूल कहिल्यै टिपेनन्। उनले सदैव चाहना राखे- फूलको सौन्दर्य सबैले अनुभूत गर्न पाउनुपर्छ। त्यसको सुगन्धमाथि सबैको अधिकार छ। उनले चन्द्रमालाई आफ्नो काखमा मात्र राखेनन्, बरु काँडा पन्छाएर फूललाई फक्रिने अवसर पनि निर्माण गरे।
उनी भन्थे, ‘कुनै पनि व्यक्तिमा अनन्त सम्भावना हुन्छ, त्यसलाई चिनेर प्रस्फुटित हुने अवसर प्रदान गरिनुपर्छ।’
प्राज्ञ रमेशरञ्जन झा भन्छन्, ‘उनले अनेकौं साहित्यकारको निर्माण गरे। केही वर्षअघिसम्म जनकपुरको भूमिमा हुने कार्यशाला शैलीको कविगोष्ठीको प्रयोग उनले प्रतिभा प्रस्फुटनकै दृष्टिले गरेका थिए। अनेकौं कवि र साहित्यकार जन्मिए। थुप्रैमा मातृभाषाप्रतिको प्रेम र आदरभाव वृद्धिका दृष्टिले पनि यी कार्यशालाहरू महत्त्वपूर्ण साबित भए।’
रञ्जन थप्छन्, ‘डा. विमलको प्रस्थानले नेपाली साहित्य, मैथिली भाषा-संस्कृति र समग्र प्राज्ञिक जगत्मा एउटा यस्तो खाडलको निर्माण गरेको छ, जो निकट भविष्यमा सहजै पुरिन सम्भव देखिंदैन।’
डा. विमललाई चिन्नेजान्नेका अनुसार उनी सानै उमेरदेखि अध्ययन र चिन्तनमा गहिरो रुचि राख्थे। उनलाई सानैदेखि स्थानीय लोकसंस्कृति, मैथिली भाषाको मिठास र नेपाली साहित्यको व्यापकताले प्रभावित पारेको थियो। समयसँगै शब्दहरूसँगको उनको नाता प्रगाढ बन्दैगयो।
थुप्रै पढेका थिए रे उनले। कति ? औपचारिक रूपमा नेपाली, हिन्दी र मैथिलीमा स्नातकोत्तर डा. विमल बनारस विश्वविद्यालयबाट भाषाविज्ञानमा विद्यावारिधि थिए। पछिल्लो समयमा बुद्ध दर्शन समेतका विद्यार्थी थिए विमल। तर औपचारिकताभन्दा अनौपचारिकतामा अत्यन्त विशाल देखिन्थे, बुझिन्थे विमल; जब उनी संस्कृत, अङ्ग्रेजी, हिन्दी र उर्दूमा धाराप्रवाह बोल्थे र रचना गर्थे। उनले नपढेका शायद कुनै पुस्तक नै बाँकी थिएनन्।
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीका अनुसार विमलको ज्ञानको कहिल्यै मापन नै गर्न सकिएन। उनी त महाज्ञानी थिए। चौधरी भन्छन्, ‘हामी आश्चर्यचकित हुन्थ्यौं- यिनले कति जानेका, के-के जानेका, कति पढेका ! हामीलाई लाग्थ्यो डा. विमलले नजानेको शायदै कुनै कुरा होला।’
उनी थप्छन्, ‘अब उनको अवसानले सिर्जना गरेको ज्ञानको रिक्तता त लामो समयसम्म बोध भइरहनेछ।’
चौधरीको राज्यसँग भने गुनासो छ, ‘तर यो महाज्ञानीको ज्ञानको सम्मान र मूल्याङ्कन भने राज्यले कहिल्यै गरेन।’
उनका रचनाको अध्ययन-विश्लेषण र उनीसँगको वार्ताका सन्दर्भहरूको मूल्याङ्कन गर्दा भन्न सकिन्छ- उनीभित्र विद्रोहको दावानल दन्किरहेको थियो। उनमा क्रान्तिको चेत थियो। नवसमाज निर्माणको हुटहुटी थियो। उनी हदैसम्म सङ्घर्षशील व्यक्ति थिए। मनको आक्रोशलाई उनले कहिल्यै मुखको भावसम्म आउन दिएनन्।
केटाकेटीमा ‘भोला’ भनिने विमल प्रारम्भका दिनमा चकचके थिए रे ! पछि शायद यही ‘भोला’ र चकचकेपना उनका लागि ऊर्जा बन्यो। क्रान्तिचेतको माध्यम बन्यो र विद्वत्ताको विमल बन्यो- अभिनव, नूतन, कोमल विमल। घरपरिवार र समाजमा व्याप्त वातावरणले नै होला शायद, उनलाई सानैदेखि जिज्ञासु र लगनशील बनायो। भोलालाई महादेव बनायो- महाज्ञानी।
मिथिलाको सांस्कृतिक वैभव तथा समाजका विविध आयामलाई नजिकबाट नियाल्दै विमलले मैथिली भाषाको लोकजीवन, लोकगीत र पौराणिक गाथाहरू आत्मसात् गरे। यिनैले उनको कल्पनाशक्तिलाई उडान भर्ने ऊर्जा दिए भने शास्त्रीय अध्ययनले उनलाई गम्भीर चिन्तनतर्फ मोड्यो।
डा. विमल केवल एक लेखक र अनुसन्धानकर्मी मात्र थिएनन्, उनी उच्चकोटिका शिक्षाविद् र प्राध्यापक पनि थिए। दशकौंसम्म त्रिभुवन विश्वविद्यालय अन्तर्गत विभिन्न क्याम्पसमा प्राध्यापन गर्दै उनले हजारौं विद्यार्थीलाई ज्ञान र नैतिकताको मार्ग देखाए।
यसै सन्दर्भमा यो पङ्क्तिकारले भौतिक रूपमा ४० वर्ष पहिले रा.रा.ब. क्याम्पस जनकपुरमा अध्ययन गर्दा नेपाली विषयको एक प्राध्यापकका रूपमा उनलाई पहिलो पटक भेटेको थियो। त्यसबेला शायद ३९-४० वर्ष उमेरका मात्र थिए उनी। तर कस्तो विशाल ज्ञान ! लाग्थ्यो- यिनले नपढेको केही पनि छैन।
प्राध्यापन कक्षमा डा. विमलको उपस्थिति अलौकिक हुन्थ्यो। उनको पढाउने शैली, शब्दको छनोट, विषयवस्तुको गम्भीर विश्लेषण र सरल प्रस्तुतिले विद्यार्थीलाई मन्त्रमुग्ध बनाउँथ्यो। म पनि अपवाद हुने कुरा थिएन। मैले जानेबुझेसम्म एउटा प्राध्यापकका रूपमा उनले कहिल्यै ज्ञानलाई व्यापार बनाएनन्। उनका लागि शिक्षण एउटा साधना थियो, जीवनको परम लक्ष्य थियो।
डा. विमल नेपाली तथा मैथिली साहित्यका अति गम्भीर र वस्तुनिष्ठ समालोचक मानिन्छन्। उनको समालोचना सिद्धान्तमा मात्र सीमित छैन; त्यसमा रचनाको अन्तर्यलाई छाम्न सक्ने तिखो अन्तर्दृष्टि र निष्पक्ष विश्लेषण पक्ष सबल छ। पूर्वीय काव्यशास्त्र र पाश्चात्य समालोचना सिद्धान्तको तुलनात्मक अध्ययन गरी नेपाली तथा मैथिली साहित्यलाई नयाँ दिशा प्रदान गर्नु उनको महत्त्वपूर्ण योगदान हो।
माथि पनि चर्चा गरियो- उनका रचनामा समाज बोल्दछ। विद्रोह छ। तर अभिव्यक्तिमा लालित्य झल्किन्छ। क्रान्ति छ, तर स्वर कोमल छ। आक्रोश छ, तर सौम्यता र सभ्यता गुमेको छैन। उनले आफ्ना रचना मार्फत इन्द्र र जनकको शासनशैलीमाथि प्रहार गरेका छन्। तिखो व्यङ्ग्य गरेका छन्। समाजको वर्तमानबारे चिन्तित बन्दै सत्ताप्रति आक्रोश पोखेका छन्।
उनले दाइजो प्रथामाथि प्रहार गरेका छन्। दाइजोका कारण सीताको भूमिमा सीताको अवसानबारे राज्यसँग प्रश्न गरेका छन्। स्वदेशमा रोजगारीको अभावमा विदेश पलायन हुन बाध्य परिवारको पीडा व्यक्त गर्दै राज्यलाई दायित्वबोध गराएका छन्। अनि यस अवस्थामा परिवर्तनको पक्षमा शङ्खनादको शैलीमा मार्टिन लुथर किङको कविता/गीतलाई मैथिलीमा अनुवाद गरेर आफूहरू आफ्नो अभियानमा एक दिन पक्कै पनि सफल हुने विश्वास व्यक्त गरेका छन्। त्यो विश्वास समाज र राष्ट्रको नवनिर्माणको थियो, हो र रहनेछ। यस अर्थमा उनी क्रान्तिपुरुष थिए भन्दा असङ्गत ठहर्दैन।
उनका रचनामा समाजको यथार्थ, मानवीय संवेदना, सांस्कृतिक गर्व र दार्शनिक चेतनाको सुन्दर सङ्गम पाइन्छ। यति मात्र होइन, विमलले आफ्ना रचनाका माध्यमबाट ग्रामीण जीवन, किसान र श्रमिकको पीडा, सीमान्तकृत वर्गका दुःख-कष्ट र तिनका आशा-आकाङ्क्षालाई स्वर प्रदान गरेका छन्। सामाजिक विकृतिमाथि तिखो व्यङ्ग्य गर्दै मानवीय करुणा उजागर गर्नुलाई उनको रचनाशिल्पको मुख्य विशेषता मान्न सकिन्छ। समग्रमा भन्ने हो भने डा. विमलका रचना वैचारिक परिपक्वता र लयात्मक गद्यका उत्कृष्ट उदाहरण हुन्। उनका प्रायःजसो रचनामा राष्ट्रभक्ति, मानवप्रेम र सांस्कृतिक चेतना गुञ्जिरहेको पाउन सकिन्छ।
मैथिली मातृभाषी विमल नेपाली विषयका प्राध्यापक थिए। उनले यी भाषा बीचमा सन्तुलन कायम गर्दै दुवै भाषासँग न्याय गर्ने प्रयत्न गरे। नेपाली भाषाप्रति उनको अगाध प्रेम र मैथिली भाषाप्रतिको समर्पण उनको जीवनको सुन्दर पक्ष थियो। नेपाल बहुभाषिक र बहुसांस्कृतिक देश हो। यहाँ विभिन्न भूगोल, भाषा र समुदाय बीच सद्भाव कायम राख्नु राष्ट्रिय एकताको मूल आधार हो भन्ने कुरा उनले बुझेका थिए। यही बुझाइका आधारमा उनले भाषिक सद्भाव मार्फत सिङ्गो नेपाली राष्ट्रियताको मजबुत पुल निर्माण गर्ने काम अन्तिम समयसम्म गरिरहे। राष्ट्रिय एकताका अभियन्ता डा. विमल भेटहरूमा आफ्ना अनुयायी/प्रशंसकहरूलाई प्रोत्साहित गर्दै भन्ने गर्थे, ‘भाषा र साहित्यले मानिसलाई जोड्नुपर्छ, तोड्नुहुँदैन। राष्ट्रलाई एकताको मालामा उन्नुपर्छ।’
मानिस विद्वान् हुन सक्छ, तर विद्वत्तासँगै सरलता र विनयशीलता हुनु दुर्लभ मानिन्छ। डा. विमललाई जसले भेट्यो, उसमाथि उनको सादगी र आत्मीयताको अमिट छाप पर्यो। उनमा कुनै आडम्बर थिएन। नयाँ र उदीयमान साहित्यकारहरूलाई प्रोत्साहन गर्नु, तिनका काँचो सिर्जनालाई स्नेहपूर्वक परिष्कार गरिदिनु र मार्गदर्शन गर्नु उनको दैनिकी जस्तै थियो।
नयाँ पुस्ताका लेखकका लागि उनी सधैं एउटा अभिभावक र प्रेरणाको स्रोतका रूपमा स्थापित थिए। भौतिक रूपमा उनी अब हामीमाझ छैनन्, तर भावनात्मक रूपमा उनी सधैं नै हामी जस्ताको स्मृतिमा रहिरहनेछन्।
हार्दिक श्रद्धासुमन !
झा पत्रकार महासंघ र राससका पूर्वअध्यक्ष हुन् ।
-अनलाइन खबर




